`धर्मगुरुज्युको बहु-आयमिक ब्याक्तित्व र सौन्दर्यात्मक दृष्टिकोण:´ - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

`धर्मगुरुज्युको बहु-आयमिक ब्याक्तित्व र सौन्दर्यात्मक दृष्टिकोण:´

  • बिक्रम फागो वनेम

पूजनीय किरात धर्मगुरु आत्मानद लिङ्देन सेईङज्यू यस पटक आफ्नो उमेरको ६८ औं वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । उमेरको हिसावले साढे छ दशक भन्दा लामो समय सामुहिक जञ्जालभित्रै बित्यो । पर्शनल लाईफ अर्थात आफ्नो निजी जीवनशैलीको उपभोग गर्न पाउँनु भएनन् । आफ्नो भन्ने निजी स्वामित्व ग्रहण गर्ने र त्यसको उपभोग गर्ने अनुभूतको अवसरहरु कहिल्यै नि जुर्न सकेन । लोकले देख्दा पारिवारिक बन्धनभित्र देखिए पनि, वहाँको जीवनशैली र भूमिकाले त्यो निजित्वबोध गराउँदैन । मेरो र तेरो भन्ने निजी स्वार्थबाट सधैं दूर रहनु भयो । केवल भौतिक शरीर मात्र वहाँको निजित्व रहयो । मतलव गृह आश्रममा विहानदेखि साँझ बेलुकीसम्म दैनिक जीवनमा गरिने नित्य कर्महरुदेखि बाहेक निजित्व र आफ्नो भन्ने स्वामित्व रहेन ।

परन्तुः विचार र चिन्तनको हकमा भने कहिले पनि वहाँले आफू निजी प्राणी हो भन्ने आत्माबोध गराउँनु भएन । अध्यात्मवादी साधकका रूपमा आफूलाई वालापंनदेखि नै लोकका अगाडि उभ्याउँनु भएको हो । जतिखेर वहाँ १३ वर्षमा टेक्दै हुनुहुन्थ्यो । जुन त्यो उमेरमा आत्मा–परमात्मा देख्ने जान्ने र त्रिकाल समयको भविष्यवेत्ता भएपछि नै, जसको प्रभावले वहाँलाई शनैःशनैः वालागुरुज्यूको उपमाले सम्बोधित हुन थाल्नु भएको हो । समयले निकै कोल्टे फेरेसी मात्र यो लोकले नि पहिचान गर्दै अनुभूत गरेसी वहाँ धर्मगुरुको रूपमा पूजनीय हुन पुग्नु भएको हो ।

महागुरु फाल्गुनन्दले दिव्य उपदेशहरु दिनुभए जस्तै वहाँको कर्म भोगाई, गराई र चिन्तनको कारण वहाँलाई महागुरुको दोस्रो अवतारित लिलाको रूपमा सम्बोधन गरिएको हो । र, धर्मगुरुज्यूको रूपमा हार्दिकतापूर्वक माङलाङ ताक्मा (२०२७) गरियो । त्यसो त महागुरु फाल्गुनन्दज्यू समाधिस्थ (१९४२–२००५) हुनु भएको दिन वर्षले झण्डै साढे पाँच वर्षपछि वहाँको जन्मावतरण भएको हो । महागुरुज्यूकै पदचाप र मार्गदर्शनलाई अक्षरस फलो गर्ने र पालना गर्न यो लोकमा पर्दापण भएको हो भन्ने वहाँको धर्मोपदेशले सत्यता उजागर गर्छ ।

त्रिकोणात्मक दृष्टिकोणबाट हेरिनुपर्दा

पूज्य गुरुज्यूलाई धार्मिक, सामाजिक र सांस्कृतिक तीनैवटा एंगलबाट हेरिपर्दा, मार्गदशक सिद्धान्तमा यी तीनवटै रुप रंगहरुमा वहाँको जीवनचार्य कर्म अपरिहार्य जस्तै देखिन गएको छ/हो । पहिले धार्मिक चेतनाहरुको बीउबिजनहरु छर्दै चेतनाको कठ्घरामा उभ्याउँने प्रयास गर्नु भएको छ । किनकी धार्मिक चेतनाले मात्र परिवार, समाज हुँदै देश सु–संस्कृत रुपमा व्यवस्थित र सभ्यतामुलक कायम हुन्छ भन्ने आत्माबोध गराउँन खोज्नु भएको छ/हो । जुन यो क्रिया हिजोदेखि नै धार्मिक प्रणेता एवं दार्शनिक व्यक्तित्वहरुले कर्मदान गर्दै आइरहेकै हो । यसबाट गुरुज्यू पनि अछुतो हुनुहुन्न । वहाँको पनि पहिलो प्राथमिकता भनेकै पहिलो आफ्नो किरात समुदायलाई धार्मिक चेतना दिनु थियो ।

त्यसपछि समग्र सिंगो लोक कल्याणकारी मानव जातिको हितार्थ सामाजिक उठान गर्नु नै हो । अपितुः त्यो भन्दा अघि चाहीँ हामेरुँको समुदायलाई दिनु भएको पहिलो पाठशाला भनेकै धार्मिक गुरुकूल शिक्षा नै हो । वहीँ महागुरुज्यूको मार्गदर्शनको निरन्तता हो । महागुरुले पहिले यहीँ धार्मिकता भित्र पाउँन सकिने बाह्रय पत्रहरु र आन्तरिक भित्री गुदीहरुको रस्वादान थाहा पाउँने चेतनाको नीति अख्तियार गर्नु भएको हो । तथापी, गुरुमन्त्रको यो कुटनीतिक शास्त्रको नीतिशतकलाई हामेरुँको समुदायलाई (अपवाद बाहेक) पाच्य भएको छैन् । जसको कारण न बाह्रय कुटनीतिक बुझे । न त आन्तरिक नै बुझ्न सके । आफू पनि नबुझ्ने र अरुलाई पनि बुझ्न नदिने जमातहरुको श्रृङखलावद्व भीडहरु उस्तै बढ्न थालेको छ ।

यसले महागुरु फाल्गुनन्द र वर्तमान गुरु आत्मानन्दज्यूको मार्गदर्शनलाई बाँझो हाल्न र मिथ्या भ्रमहरुको अफवाह फैलाउँनमा उनेरुँ ज्यादै उद्वत देखिएका छन् । द्वय गुरुज्यूहरुको मार्गदर्शक सिद्धान्तलाई आलोचनात्मक चेतले नहेरी, नबुझि खाली एक्साईटेड नेगेटिभस् थिंकले मात्र खाली हेरिरहने दृष्टिकोणले गर्दा यसको रुप र सार के हो ? भन्ने भ्याउ अझै नि थाहा पाउँन सकेका छैनन् । बाह्रय भावभंगी हेरेर मात्र कटु–आलोचना गर्नुलाई सकारात्मक प्रतिक्रियाको शिक्षाको रूपमा ग्रहण गर्न सकिन्न । रुप र सारमा देखिने अविलम्ब कार्यनीतिहरुलाई कति त प्रतिकात्मक विम्बको रूपमा पनि बुझ्नु पर्छ नै । महागुरुज्यूको दिग्ददशकलाई पूर्ण रुपमा नबुझी, नघोत्लिकनै खाली त्रिशुल, कमण्डलु र खरानी धसेकेको मात्रै देखेर आलोचना गर्नु र टिकाटिप्पणी गर्नु भनेको त्यो सतही बक्र दृष्टी मात्र हो । यो हिजोको निरङकुश शासकहरुको अघि देखाइएको सुरको लय र ताल न हो । पक्कै यो सुरको ताल र लयमा हामेरुँको समुदायमा हुनु, नहुनु सक्छ नै । जसको ओजिर्नल बहस वा संवादमा यथार्थ के हो ? यसको चिरफार र समाधान गर्नुको कुनै विकल्पै छैन् । तर, दुर्भाग्य यी द्वयगुरुज्यूले खाली याक्थुङ/लिम्बु जातिलाई विभक्त ग¥यो । दुई समूहमा जाति भाँड्यो । र धर्म–कर्मको नाममा हिन्दुकरणमा रुपान्तरण ग¥यो भन्ने आरोप–प्रत्यारोपको सामनाहरु पनि उत्तिकै खेप्दै आउँनु भएको छ÷हो ।

मूलतः यो पनि साझा बहसको रूपमा एकठाँम बसेर यसको निकास निकाल्नुलाई उत्पादकमुलक नै हुने हो । किनकी एउटै समुदायबीच खाली अन्तर–विरोध र शत्रुगत वैमनस्यता रहिरहनु भनेको त्यो जातिको लागि ज्यादै दुर्भाग्यपूर्ण हो । र जसको अस्तित्व संकटमा पर्दै जानु पनि हो । भोलि देखिने संकटको आज देखिनै त्यसको सावधान मोचन गर्ने जागरुता भने देखाउँनै पर्छ । महागुरुले लथिक् खप्पेओ तकिन् चाः थुङसिक अर्थात एउटै भाँडामा भात खुवाउँछु भन्नुको मललब सबैलाई एक रुपताभित्र बाँध्ने बनाउँछु भन्नु खोज्नु भएको हो । यसको आशयता भनेको आलोचकहरुले भने जस्तो हिन्दुकरण गर्ने भन्ने होइनन् । सत्यहाङमा बन्ने अनि खरानी मात्र धसी हिड्ने र कमण्डलु बोकेर फाल्गुनन्द जस्तो भेषमात्र बदल्ने भन्ने पनि रत्तिभर होइनन् । भलैः सत्यहाङमा बन्दा हिन्दुवादी हुने र देखिने भन्ने तर्कको कुनै गुञ्जाईस नै छैन् । कति धार्मिक अनुष्ठानहरुमा प्रयोग गरिने विधि विधानहरुको संस्कारले हिन्दु धर्मको नक्कल गरे जस्तो देखिएला नै ।

त्यसले आफ्नो मौलिकता मा¥यो र दोस्रो बाहुन, क्षेत्री जातिहरुको धर्म संस्कारको अनुसरण ग¥यो भन्ने कटु–आरोपहरु लाग्दै आई नै रहेछन् । उसो त हामेरुँको मौलिक परंम्परागत विधि संस्कारहरुमा पनि हिन्दुवादी शैलीका विधि र गन्धहरु नदेखिने र नभएका भने रत्ति छैनन् । जस्तो की, किरात धार्मिक अनुयायीहरुले आफ्नो अग्रज पापाः माम्माज्यूहरु परलोक हुनु हँुदां, केश मुण्डन गर्ने र लगौंटी धोतीहरु लगाएर कोरामा बस्ने चलन छैन् । अर्थात त्यस्तो टाउको खौरिने र धोती पहिरिने परम्परा नभएको मान्यता राख्छ । भने, खाँटी मौलिक परंम्परागत जीवन–शैलीलाई आफ्नो कर्म–संस्कार मान्नु हुने हामेरुँमध्येनै कोही कसैले कपाल खौरिने र सेतो लगौंटी/धोती लगाएर कोरामा बस्नेहरु नि कति छौं । जो त्यो कर्म विधि, संस्कारहरु बाहुन, क्षेत्री जातिहरुको हिन्दु धर्म भित्र पनि पर्छन् ।

संसारको कुनैपनि अस्तित्वमा उभिएको जातिहरुमा कोही कसैको दोस्रो जातिहरुसँग केही न केही त उनीहरुसँगको जीवनशैली र कर्म विधि, संस्कारहरु मिल्न जान्छन् नै । जसलाई हामीले त्यो नक्कल–झक्कलहरुको कपि पेष्ट हो भन्दै खण्डन गर्दै भ्रम छर्नु मुनासिफ होईनन् । त्यो आफै भित्र भएको बौद्धिकताको चीरहरण गर्नु र आलोचनात्मकचेत गुमाए जस्तै हो । धर्म–कर्मले मान्छेहरुको हृदयलाई जोड्ने हो । भत्काउँने र तोड्ने होईन । दरिद्र मानसिकता बोक्नेहरुले धर्म ग्रहण गर्छन् र आस्था राख्छन् । हो तिनै दरिद्रहरुले अर्को मान्छेहरुको हृदय र आस्थाहरु भत्काउँने र तोड्नमा जहिले वल गर्छन् । धर्मको मूलसारनै हिंसारहीत समाजको रुपान्तरण गरौं । मान्छेहरुबीच एक अर्कामा हार्दिकता साटौं । सहिष्णु बनौं र मानवता बाडौं भन्ने न हो । धर्मभीरु पाखेहरुले मात्र धर्म बेच्छन् । र आफूहरुलाई पनि मानवताको बजारहरुमा लिलाम गर्न पछि पर्दैनन् ।

जो धर्मको नाममा गेरुबस्त्र धारणगरी मान्छेहरुकै व्यापार गर्ने त्यस्ता नरभक्षी पिंसाचहरु यो लोकमा कति छन् कति । आन्तः त्यस्तो कसाही र जल्लाद मन पालेका नरभक्षी शिकारी ब्याधाहरुसँग निष्कलंक धर्मलाई कलंक र घृणासँग जोडिनु कदाचित हुँदैंन । आ– आफ्नो बुझाई र त्यसलाई आत्मासाथ गर्ने हो । की कसरी मान्ने र प्रयोग गर्ने भन्ने न हो । उसो त किरात धार्मिक अनुयायीहरुमा (अपवाद बाहेक) यस्ता विसंगत लाग्ने विचलनहरु कति छन् कति । जो महागुरुज्यू र वर्तमान धर्मगुरुज्यूको मार्गदर्शक दर्शनभित्र यो मानवता विरोधी सिद्धान्त कवै पर्दैनन् । बरु भन्नुपर्दा, मुलभूत रुपमै किरात धर्म सम्बद्ध संघ/संस्थाहरुमा कामकाजी गर्ने कार्यकर्ताहरु (अपवाद एकाध–दोकाध बाहेक) नै काफी देखिन्दो छन् । जो धर्मको नाममा पथभ्रष्ट बनेका/भएका काफी छ्न् । तिनैचेन् गुरुज्यूको चेलाहरु भएको हुँकार पेश गर्दै दाबी प्रस्तुत गर्नेहरु पनि कति हो कति छन् ।

अतः महागुरुज्यूले शिलशिलेवार जोड्दै ल्याउँनु भएको यो धार्मिक जनचेतनालाई अझ् जागरुक बनाउँन र थप उर्जाशिल बनाउँन पूज्य धर्मगुरुज्यूको अथाह देन छ । यसैले हामेरुँको समुदायमा सामाजिक/सांस्कृतिक रुपान्तरणको कायपलटहरु देखिन्दो छन् । जो अनुभूत गर्नेहरुको त बाक्लै भिड थपिन्दो छन् । कति गुरुज्यूको कट्टर आलोचकहरु पनि शनैःशनैः अनुयायीहरु बन्ने काफी छन् । भने, प्रतिक्षारत बन्न आतुर हुनेहरुको पनि लाईनको लर्को उस्तै छ । फलतः घृणाबाटै प्रेमको बीज अंकुरण हुने हो । यथार्थमा भन्नुपर्दा, घृणा भित्रै आलो यादगारहरु बसिभूत हुन्छन् । कतिले घृणाले दुखाउँछ/बिझाउँछ पनि । भने, कतिले उर्जा र प्रेरणा पनि दिलाउँछ । जसले बाँच्न र प्रेम बाँड्न नि सिकाउँने गर्छ । आखिर अन्ततः त्यो नै अन्तर–आत्माभित्र हुने तर नदेखिने परात्मा साम्यो/धर्म नै त हो । धर्म–कर्म गर्नु, आस्था राख्नु र अनुयायी बन्नु पनि अरुमाथि प्रेम बाँड्न सक्ने दुत बन्नु जस्तै न हो । मात्र धर्मभीरु पाखण्डीको रुपधारणचेन् कदाचित गर्नु भएनन् ।

पूज्यगुरुज्युको आशीर्वचन र मार्गदर्शन पथ पनि यहीँ त हो । यसैलाई आत्मासाथ गर्ने हो भने हामेरुँको समुदायले हाँकेको, ताकेको र चिताएको गन्तव्यमा पुग्न उति गाह्रो छैन् । यहीँ किरात धर्म दर्शनको मियो भित्र हामेरुँ सबै बाँधिने हो भने, नाटकीय ढंगले कायापलट हुन त कतिबेर नि लाग्ने छैन् । तसर्थ, हामेरुँको अभिचलित–विचलित समुदायलाई जसै जोड्नु र एकतामा समाहित गराउँन सक्ने बलशाली सूत्रधार नै विशेषः धर्मगुरुज्यू हो । यसमा धर्मानुयायी प्रमुखहरुको पनि उस्तै संयोजनकारी भूमिका हुनु अपरिहार्यता छ । गुरु भनेको साँघु/पुल जस्तै हो । डुंगा खियाउँने माँझी जस्तै नै हुन् । जो चेत–अचेत हुने र ज्ञात–अज्ञात भएका सबैलाई ज्ञान चेतनाहरुको शिक्षा–दिक्षाहरु दिएर सधैं सही गन्तव्यमा पुग्नेगरी तारी रहने र पु¥याइ दिइरहने हो । त्यो भारी अपेक्षित राखौं की, धर्मगुरुज्यूको गुरुमन्त्र विशेषः सूत्रले एकतामा बल प्रदान गर्नेछ भन्नेमा विश्वस्त हुन सकिनेछ ।

धार्मिकताः जनजागरण अभियान र सन्देश

पूजनीय धर्मगुरुज्यूको विशेषः पहिचान भनेकै धार्मिकता अध्यात्मवादी साधक तथा चिन्तक हुन् । जसको कारण पनि वहाँमा महागुरुज्यूको अपूरो–अधुरो कार्यहरुलाई सिद्व गर्नुपर्ने अभिभारा दायित्व उसै नि छँदैंछ । जुन त्यो दायित्वभारको सघन उपचार भनेकै जनचेतनामूलक किरात धार्मिक जनजागरण अभियानहरु चलाउँनु थियो । गुरुज्यू एउटा कुशल संगठनकर्ता पनि हुन् । संगठनहरुको विस्तारले मात्र जनचेतनामूलक कार्यक्रम योजनाहरु उजागर गर्न सकिन्छ भन्ने सोंच र कार्य योजनाले गर्दा, गुरुज्यूले संगठन निर्माण संरचनालाई पहिलो प्राथमिकतामा राख्नु भयो । र लिम्बुवानको पान्थर, फेदेनमा किरात धर्म तथा साहित्य उत्थान संघ नामक धार्मिक संस्था आधिकारिक दर्ता (२०३६) गरियो । जुन समय पञ्चायती निरङकुश राज्य शासन थियो । त्यस्तो एउटै भाषा, एउटै धर्म, एउटै लिपि र बाहुनवादी जातिको एकलौटी अधिपत्य शासन व्यवस्था भएको कालरात्रीमा पनि किरात धर्मको नाममा संस्था दर्ता गर्ने र त्यो मार्फत संगठन विस्तार गर्ने आँट गर्नु भनेको, उसबेला चानचुने विषयको कुरो नै थिएन । त्यो साहस र आँट गर्ने दमचेन् उसताका गुरुज्युले गर्नु भएकै हो ।

जसरी महागुरुज्यूले जहाँनिया राणाकालीन शासकीय राजमा पनि आफ्नो मौलिक भाषा, लिपि र धर्मको जोगेर्ना गर्दै प्रचार–प्रसार गर्नु भयो । र, जीवन्तता प्रदान गर्नु भो । त्यस्तो निरङ्कुश दमनकारी शासकहरु भएको मुलुकमा आफ्नो जातीय समुदायको अस्तित्वको लागि विशेषः हक, अधिकार र भाषा, लिपि, धर्म–कर्महरुको प्रचार–प्रसार गर्नु भनेको उसबेला आफ्नो गर्धनलाई तरबार माथि राख्नु सो सरह थियो ।

हो, यस्तो विषम परिस्थितिमा पनि महागुरुज्यूले जस्तै बोक्नु भएको कठोर बोझ्को भारीहरु, वर्तमान गुरुज्यूले पनि उस्तैगरी बोक्दै ल्याउँनु भयो । अहिले किरात धर्म दर्शनको अस्तित्व यहाँसम्म विस्तार र समृद्धशाली बन्न पुगेको छ । जसको श्रेयको हकदार गुरुज्यूलाई नै जान्छ । किरात धर्मको यति धेरै व्यापकता छाउँनु र लोकमा चर्चा–परिचर्चाहरु हुनु भनेको संगठनहरुको विस्तार हुने क्रमले नै हो । धर्म दर्शनलाई संगठन विस्तार मार्फत एकता निर्माणको जग बसाउने अभियान चलाउँनु हुने संगठनकर्ता नै पहिलो गुरुज्यू हो । संसारमा धर्म दर्शनको नाममा कहीँ कतै पनि संगठनहरु निर्माण र विस्तारहरु भएका छैनन् । धर्म धारण गर्ने र आस्था राख्ने अस्तित्वबोधक भएकोले, वास्तवमा यसको संगठन विस्तार गर्नु आफैमा आवश्यक छैन् ।

तर, त्यो बेलाको कठोर समय र परिस्थितिले संगठन निर्माण र विस्तार गर्नमा बाध्यात्मक बल प्रदान ग¥यो । र, किरात धर्मको नाममा ऐतिहासिक संगठन संरचनाको निर्माण भयो । अहिले त हामेरुँ देशमा धर्मको नाममा संगठन निर्माण गर्नेहरुको बाहुल्यता बढ्दो छ । जो यो किरात धर्मकै सिको हो अर्थात पदचाप हो भन्दा फरक नै पर्दैन । जस्तो की अहिले हिन्दुवादीहरुले अनेकन नाममा संगठनहरु खोलेका छन् । जसको एउटा विस्तारित रुप हो शिवसेना भन्ने छ । जोचाहीँ अति हिन्दुवादीहरुको शसस्त्रधारी युवाहरुको दस्ता हो । जसले चाहीँ धर्मको नाममा अतिक्रमण गर्नेहरुलाई सफाया दिने उद्घोष गर्छ । त्यसो त यो हिन्दु सापेक्षवादी भएकोले संघीय गणतन्त्र र धर्म निरपेक्षताको घोर विरोधीहरु हुन् । भने उनेरुँको मिशन भनेकै पुनः राजालाई स्थापित गर्ने र हिन्दु अधिराज्य घोषणा गर्ने नै अभियान हो ।

यो भन्दा फरक कृश्चियन धर्मानुयायीहरुको पनि संगठनहरु छन् । तर, उनेरुँको चाहीँ चर्च निर्माणसँगै मण्डलीहरुको विस्तार गर्ने गर्छन् । बौद्ध र मुश्लिमहरुको पनि प्राय यस्तै–यस्तै नै हुने गर्छन् । त्यो भन्दा बृहत फरक चाहीँ किरात धर्मकै हो । जोचाहीँ महागुरुज्यूको पालादेखि नै स–विस्तार अभियान चलाउँने सूत्रपात भयो । जसलाई निरन्तरता दिन भने गुरुज्यूले राज्यबाट आधिकारिकता लिने–दिने कार्य गर्नु भयो । अहिले पूर्ण रुपमा अस्तित्वमा देखिएको यहीँ नै हो । उसबेलादेखि आजतकसम्म संगठन विस्तारहरु नहुँदों हो त, किरात धर्मको अस्तित्व र हामेरुँको समुदायको चेतनास्तर यहाँसम्म श्रीवृद्वी रत्तिभर हुन्नथ्यो । किरात धर्मको यति व्यापकता हुनु र समृद्धशाली बन्नुमा गुरुज्यू कुशल संगठनकर्ताको परिकल्पनाकार भएकै कारणले यो पूर्ण सम्भव हुन गएको हो । यसमा कुनै दुईमत नै छैन् ।

फलतः गुरुज्यूको नेतृत्वले किरात धार्मिक जागरणले हामेरुँको सिंगो समुदायमा त्यसको लोभलाग्दो प्रभाव परेकोछ । हामेरुँको धार्मिक विधि संस्कारहरुमा पहिले जस्तो फजुल खर्च–बर्च गर्ने, छोरीचेलीहरुको सोतरित ग्रहण गर्ने, बिवाह भोजहरुमा पशुहरुको वलिदान गर्ने जस्ता विकृत रुपहरु उति देखिन छाडेका छन् । माङगेना गर्दा होस् वा नयाँ दम्पति जोडिको लगन गर्दा होस्, एकजोडी भालेपोथी कुखुराहरुले ज्यान गुमाउँनु पथ्र्यो । यहाँ विचरण गर्नुपर्ने विषय चाहीँ के रहयो भने, एउटाको माङगेना/शीर उठाउँनी गर्दै गर्दा, अर्को निहत्था प्राणी भाले पोथी कुखुराको शीरछेद्न गरेर, उसको माङगेन्ना/शीर कसरी उठ्न सक्छ ? अनि एकजोडी नयाँ दम्पतिको लगन गर्दै गर्दा पनि उहीँजोडि कुखुरा भालेपोथीले नै ज्यान आहुत्ती दिनु पर्छ । भने, तिनैजोडि प्राणीको हत्या गरेर, अर्को जोडिको दाम्पत्य जीवन सफल होस् भन्ने कामना चाहीँ कसरी दिन सकिने हो ?

आन्तः हामीले यो मानवताको कठ्घरामा उभिएर सोंच्नु पर्दैन र ? के यो कर्म–विधि धार्मिक÷सामाजिक रुपले कति सहिष्णु छ ? यसको खुलेआम दिलसे आत्मा–समिक्षा औं मूल्यांकन गरी हेरौं न ? के यो सही लाग्छ त ? पक्कै पनि मानवीय समवेदना घोप्ट्याउँने हो भने, सबैलाई उस्तै नै बेश्कनै दुख्छ नै । तसर्थ, अहिले यो विधिको प्रथालाई विस्तारै छोड्ने क्रममा हामेरुँको समुदाय अघि बढिरहेको देख्न सकिन्छ । यो नै उज्यालो आशा रुपीको रुपान्तरण हुँदै जानेक्रमको छलाङ् पनि हो । यतिको सुधारोन्मुखतिर हामेरुँको समुदाय रुपान्तरण हुनु भनेको गुरुज्यूको अतुलनीय देन रहिआएको छ । समाज यसरी नै शनैःशनैः धार्मिक रुपले रुपान्तरणमा बदलिन्दैं जाने हो र हुनेछन् । गुरुज्यूको अन्तिम अभिष्ट सदिच्छा पनि यहीँ नै त हो ।

विशेषः स्मरण गर्नैपर्दा, उसताक गुरुज्यूले यी यस्ता संगठन विस्तार र धार्मिक जागरण अभियान कार्यक्रमहरु गाउँघर, हाटबजार, थुमहरुमा नचलाउँनु भएको भए हामीहरुको समुदाय यतिको जागरुक हुने नै थिएनन् । गुरुज्यूले उद्घाट्न तथा नेतृत्व गर्नु भएको किरात धर्म सम्बद्ध धार्मिक संगठनहरुको विस्तारले गाउँ, टोल, नगर, थुम/जिल्ला हुँदै अन्तर्राष्ट्रिय देश–विदेश सबै स्थानहरुमा यसको अस्तित्व उभिसकेको छ । भन्नै पर्ने हुन्छ की, नेपालको इतिहासमै सबैभन्दा बढी सांगठनिक संरचनाहरु निर्माण भएका संस्था नै किरात धर्मको हो । आ–आफ्नै विषयगत अस्तित्व उठानको नाममा किरात धार्मिक संस्थाहरुको बग्रेल्ती स्थापना भएका छन् । अहिलेको हकमा भने यसको उपदेयता के कति छ ? त्यो समयले नै बताउँदै लैजाला नै । तर, निवर्तमान अहिलेको समय सन्दर्भमा भने धेरै विरालो मुसो नमारी भन्ने आख्याँन मुताविक जस्तै हुन गएको देखिन्छन् । गुरुज्यूको आज्ञाले संगठन संरचनाहरुको अलवा विभिन्न ठाउँहरुमा माङहिमहरुको निर्माणहरु पनि काफी बन्दै गएका छन्भ/एका छन् । त्यस्तै मुन्धुमसाबाहरुको साम्जिक मुन्धुम अध्ययन गर्ने निसामहिमहरुको पनि निर्माण हुनेक्रमहरु उस्तै जारी नै छ भने अध्यापंन गराइने कार्यहरु पनि निरन्तर जारी नै छ । जसले आफ्नै मौलिक भाषाको लिपि अक्षरमा मुन्धुमी कथानक सौन्दर्यताको मिथकताहरुको बारे, गज्जबले अध्ययन गर्न पाइरहेका छन् ।

हिजो येबा, साम्बा, फेदाङमाहरुले मुखाग्रह फलाकेका मुन्धुमी मिथकहरुलाई अहिले लिपिबद्व संहिताकृत गरी पुस्तकारमा पढ्नुपर्ने पद्धतिको विकास हुँदैं गएको छ । जसलाई साम्जिक मुन्धुमका रूपमा ग्रहण गर्ने गरिन्छ । जति धेरै माङ्हिमहरुको पदस्थापन हुन्छन् । उति नै धेरै भाषा लिपिको समृद्धि तथा अध्ययन गर्ने, अध्यापन गराउँनेहरुको उल्लेख्य रुपमा विकास पनि हुँदै जाने रैछ । सोध–खोज, अन्वेषणले त्यो बोध गराएको छ । यसले के आत्माबोध गराएको छ भने, धार्मिक जनजागरणले समाजलाई खाली माङको अस्तित्वलाई मात्र स्वीकार गर । माङसिवाखाहुनहरु गाओ । धार्मिक उपदेशहरु मात्र सुन । माङसेवाहरु मात्रै गर्दै बस भनेर सामाजिक दायित्वबाट अलग्गै पर सार्न भने खोजेको छैन्÷होइनन् ।

यसले अझ सामाजिक, सांस्कृतिक रुपान्तरण गर्नमा झन् सघाउ पु¥याएको छ । जसको देनले परस्पर मान्छेहरुबीच हार्दिकता बाँड्न र साट्न सिकाएको छ । द्वन्द्व र हिंसारहित समाजको निर्माण गर्न चेतना विस्तार गराएको छ । मान्छेको चेतनाको विकास गर्नलाई शिक्षा–दिक्षा अनिवार्य रैछ । र, पढ्नु पर्ने रैछ भन्ने चेतनाको बिर्को पनि उघ्रेको देखियो । चेतनाको श्रीवृद्वी भएपछि नै हामेरुँको विशेषः समुदायले आफ्नो मौलिक संस्कृति, मुन्धुमी साहित्य सिर्जना र हाङसाम साम्यो÷किरात धर्म दर्शनबारे धेरै बुझ्नमा राहत प्रदान नै ग¥यो । यी सबै चेतनालाई गतिशीलता प्रदान गर्ने र आफ्नो मौलिक संस्कृतिहरुको संरक्षण– सम्बद्र्धनलाई प्राण–त्राणहरु भर्ने भनेकै यहीँ किरात धार्मिक जागरण अभियानहरुले गर्दा भएको हो । जो सम्भव देखिएको/हुन गएको हो भन्नेमा लोजिकलीसँगै सबुद–प्रमाणहरु पनि पेश गर्न सकिन्छ ।

उसताका महागुरु नजन्मनु भएको भए ? हामेरुँको यो समुदायको हबिगत के हुथ्यो के ? अनि पुनः वर्तमान गुरुज्यूले डो¥याएर यहाँसम्म नल्याई दिनु भएको भए ? अहिले/आज निर्माण भएको/देखिएको/उभिएको यो समुदायको उठान् र अस्तित्वको स्वरुप कस्तो हुन्थ्यो होला ? उसबेलाको हामेरुँको समुदायको चेतनास्तरलाई हेर्ने र मुल्यांकन गर्ने हो भने, कल्पना गर्नसम्म पनि सकिन्न । यस्तो अति अप्ठ्यारो सुरुङमार्ग भित्रबाट उज्यालो मार्गदर्शनमा पुनः जन्म गराईदिनु हुने मार्ग–निर्देशक महागुरु फाल्गुनन्दज्यूलाई नेपाली शब्दकोशहरुमा नभएकै तुच्छ गाली गलौजका शब्द बाणहरुले झीर हान्ने गर्छौ । र, आफूहरुलाई कट्टर अर्गानिक समाज रुपान्तरणको अभियेन्ता ठेकेदार सम्झन्दैं, अनि टपरटुईयाँ बौद्धिकताको बुज्रुक ज्ञाता भएको ठानी टोपल्छौं । अन्तः फेरि उस्तै उछित्तो काड्छौं, आत्मान्द लिङ्देन गुरुज्यूको पनि ।

कवि तथा लेखक स्नेही सेसेफुङ भाईले साँधु चोर..! फाल्गुनन्द आलेखमा (कात्तिक–२५, सिलौटी अनलाईन डट् कम) आफ्नो तर्क राख्नु हुन्छ, लिम्बू समुदायको डिएनए.जीन नै त्यस्तो हो । की समाजमा कोही महान व्यक्तित्वहरुको जन्म किन नहोस् र राम्रा कामहरु किन नगरुन् । र, तिनले राम्रो–राम्रो गर्न किन नलाओस् । त्यस्ता व्यक्तिहरुलाई कहिल्यै राम्रो मान्दैनन् र देखि सहदैंनन् । उनीहरुलाई गाली–गलौज नगरी खाएकोसम्म पचाउँन सक्दैनन् । झन् आत्मानन्द लिङ्देन गुरुलाई त दिनभरी नसरापी त भातै नखानेहरु पनि छन् भनेर लेखक सेसेफुङले हामेरुँको लिम्बू समुदायको अहिलेका बुज्रुकधारी अध्येता भनौंदा युवापुस्ताहरुलाई बढी औंल्याउँनु भएकोछ । यसबाट अन्य दिग्गज बुढाहरु पनि अछुतो छैनन् । जो महागुरु र वर्तमान गुरुज्युको कटु–आलोचना र खण्डनहरु गर्दै उछित्तो काड्नमा मज्जा र आनन्द मान्ने गर्छन् । तिनीहरुलाई पनि हो यो, लेखक सेसेफुङ भाईको कलमी बारुदी क्षेप्यास्त्र । उनको तर्क छ, लिम्बू समुदायको डिएनए. एक्सचेञ्ज नगरुञ्जेल र नभईञ्जेलसम्म, लिम्बुहरुले (अपवाद बाहेक) राम्रो र असल भन्ने कहिल्यै चिन्न र छुट्टयाउँन पनि सक्दैनन् । र, त्यसको हार्दिक सम्मान नि गर्न कहिल्यै जान्दैनन् । यो लिम्बुहरुको परम्परागत डिएनए.मै आएको मनोगत रोग नै हो । लेखक भाईले ठोकुवाका साथ आफ्नो अभिमत राखेका छन् ।

सामाजिक अभियान र विकास

गुरुज्यूको दोस्रो बहु–आयामिक पक्ष भनेको सामाजिक अभियान कार्य पनि हो । गुरुआश्रम कुनै समय अनकन्टार झारझोंड भित्रको बासस्थान थियो । जो अति विकट र विराट दुर्गम क्षेत्रको सूचाङ्कमा पथ्र्यो । इलाम जिल्लाको सुदुर दक्षिण भेगमा परेको यो ग्रामिण क्षेत्र उसताक बाँझो गाविसको लारुम्बा गाउँले चिनिन्थ्यो । सुगमताको आधार क्षेत्र कहलिएको झापा दमक बजारदेखि यो लारुम्बा त्यस्तै १६/१७ किमि. मात्र उत्तर दिशामाथी पर्छ । इलामले नचिनेको/नदेखेको अनि दमकले हदै हेपेको ग्रामिण भेग हो लारुम्बा । अहिले हिजोको लारुम्बा गाउँको भूगोलको नक्सा नै बदलिएको छ । नक्सा मात्र होइनन्, नाम र गाउँको संरचनाको स्वरुपनै पूर्ण रूपमा फेरिएकोछ ।

लारुम्बा हुँदै मान्द्रेडाँडाको ट्याग बोकेको यो क्षेत्र अहिले माङसेबुङ नामले सु–शोभित र स्थापित बन्न पुगेको छ । अहिले किरात धार्मिक क्षेत्रको आधार पुण्यभूमिको रूपमा श्रद्वाले चुलिन्दों छ । भने धार्मिक सांस्कृतिक पर्यटन गन्तव्यको आधार ईलाका बन्ने विस्तारको स्तरोन्नति हुनेक्रममा तिब्रता बढ्दो छ । उसो त किरात धार्मिक परिसर क्षेत्रमा सीमाङ्कित यो माङसेबुङलाई अहिले यसको भूगोल व्यापक चौडाको रुपमा विस्तार गरी जम्मा तीनवटा गाविस.(बाँझो, इभाङ र गजुरमुखी) हरुलाई संयोजन गरी सिंगो माङसेबुङ गाउँपालिकाको नाममा रुपान्तरण पनि उहिल्यै भइसकेको छ । हो यो कसैले नसोंचेको र परिकल्पना गर्न नसकेको लारुम्बाले कायाँचोला फेरेको देख्दा र सुन्दा, लोकले बढो उदेक र आश्चर्यता प्रकट गरेका छन् ।

हिजोको विराट लारुम्बाको छायाँ तस्वीरहरु, आज कहिँकतै देखिन्दैन/भेटिन्दैन । केवल अब त्यो उसबेलाका आन्तरिक पर्यटक र रैथाने गाउँलेहरुको मानसपटलमा मात्र कुदिंएको होला सायद । त्यो समयकाल भन्नुपर्दा बाँदरहरु पनि हिड्न नजान्ने/नसक्ने भीर पखेरोहरुको आधारभूमि थियो । जो आज इलाम र दमक जतिकै सुगमताले आफ्नो सुःनामको परिचय बाँडेर यात्रारत छ । जुन भुगोलको यत्रो संरचनाहरु नाटकीय रुपमा यसको सिंगो स्वरुप नै बदल्नु सक्नु भनेको कल्पना भन्दा पनि बाहिरको कुरा थियो । जसलाई धर्मगुरुज्यूले सम्भावना देख्नु भो । र, सम्भवमा बदल दिनुपनि भयो ।

गुरुज्यूले आज त्यो लारुम्बालाई आफ्नो गुरु आश्रमको रूपमा गृहथलो नबनाउँनु भएको भए के हुन्थ्यो होला र ? उहीँ विराट दुर्गम गाउँको नामभित्र ओझेलमा बाँचिरहन विवश हुनुपथ्र्यो । गुरुज्यूको देवागमनले यो क्षेत्र अहिले पुण्यभूमिको रूपमा विराजमान भएर बशीभूत भएको छ । जहाँ बुद्व जन्म्यो त्यहीँ लुम्बिनी अहिले स्वर्गको एक टुक्रा जस्तै पुण्य भएकोछ । माङसेबुङ पनि त्यस्तै स्वर्गानुभूतिको परिवेशमा आभाष आउँने तरखरमा उभिन खोज्दैछ । जो चाहीँ विश्व किरातीहरुको आस्थाको धरोहर र किरात धार्मिक तिर्थस्थलको रूपमा यसको स्वरुप विस्तार हुनेक्रममा छ । यसको पछिल्लो बदलिन्दो सौन्दर्य दृष्टिकोणको गुरुयोजनाकार तथा परिकल्पनाकार पनि स्वयम् गुरुज्यूकै हो । गुरुज्यूको सौन्दर्यात्मक दृष्टिकोणको लेन्सबाट स्क्याच गरिएको सुन्दर भूगोलको नाम हो, माङसेबुङ ।

सिस्नुघारी र जंगलहरुको बुटुयाँनभित्र खोज्नुपर्ने गोरेटो बाटोहरु आज ३०/४० फिटको चौडाई आकारमा आज सर्वत्र खुल्ला बाटोहरु विस्तार भएकोछ । अहिले माङसेबुङले नछोएको बाटो र हाईवे राजमार्गहरु शायदै होलान् ।

स्मरण गराउँनुपर्दा, सामाजिक क्षेत्रमा पनि गुरुज्यूको योगदान उस्तै अतुलनीय नै छ । जसको यहाँ वर्णन र उल्लेख गरी साध्यनै छैन् । माङसेबुङमा (लारुम्बा) गुरुज्यूको देवागमन हुनुले असंख्य नागरिकजनले सेवालाभ पाएका छन् । आज वहाँको उपस्थितिलेनै गर्दा माङसेबुङसँग जोडिने चौतर्फी बाटोहरुको विस्तार हुँदैं गयो । दमकदेखि रबि बजारसम्मको बाटो खुल्यो । र दशकौं अघिबाट यातायात सेवा सुचारु भएको छ । जुन बाटोलाई फाल्गुनन्द मार्गको नामले सम्बोधन गर्ने गरिन्छ । आज सोही मार्गले मात्र पान्थर र इलाम थुमको दक्षिण भेगका नागरिकजनलाई सबैभन्दा ठूलो राहत मिलेको छ । यो फाल्गुनन्द मार्ग अहिलेतक नखुलेको भए ? यो पान्थर र इलामको यी दक्षिण भेगका अधिकाँश नागरिकजनले उस्तै दुःख सास्तीहरु बारबार भोग्नु पथ्र्यो ।

अहिले सो बाटो अस्तित्वमा आएपछि सबैले मुक्तिी नै पाएको छ । अन्तः यो बाटो निर्माण हुनु भनेको विर्तामोड टु ताप्लेजुङ हाईवेमार्गको वानबाई लामो दूरीको बाटोको आयतनलाई घटाउँनु पनि हो । र थियो पनि । अहिले यो मार्ग द्रुतगतिमा कालोपत्रे बन्दै जानेक्रममा निर्माणाधीन हुँदैंछ । उसो त गुरुज्यूको नेतृत्व र पहलमा त्यस्ता अनेकौं बाटोहरु देखि लिएर मुन्धुमी शिक्षालय/निसामहिमहरु पनि निर्माण भएका छन् । महागुरुज्यूको प्रतिमा/शालिक उभ्याउँने कार्यको थालनीहरुको सविस्तार पनि गुरुज्युकै निर्देशन आज्ञाले भएको हो । जो अहिले शालिकलाई चोक बजार, गाउँघरहरुमा र जताततै ठड्याउँनेहरुको लहर नै चलेको देख्न सकिन्छ । यो लहरमा महागुरुज्यूको प्रतिमा मात्र ठड्याउँनेमा बल गर्नुको साट्टो, बरु वहाँको दिग्दर्शन/विचार चिन्तनलाईचाहीँ ठड्याउँनेतिर बल गर्नु सोर्हैआना मुनासिव देखिन जान्छ । यो लोक जगतमा महागुरु फाल्गुनन्दज्यूको दिग्दर्शनलाई अग्लो टावर झैं ठड्याउँन मात्र सके, भोलि त्यस्ता महागुरुको शालिकहरु त कति ठड्याउँछन् कति । पहिलो सघन प्राथमिकता भनेकै सिद्धान्ततः विचार र चिन्तन हो । अन्तः त्यसपछि मात्र वस्तुगत रूपमा देखिने शालिकहरुको निर्माण गर्नु र पदस्थापना गर्नु हो । दिग्दर्शन/विचार/चिन्तनहरु फष्ट प्राईमरी कुराहरु हुन् । भने, प्रतिमाहरु उभ्याउँन खोज्नुचाहीँ सेकेण्डरी विषयहरु हुन् । यो विचारहरुलाई किरात धर्म सम्बद्ध साझा छाता संगठनका नेतृत्वहरुले र तहगत कार्यकर्ता तथा अनुयायीहरुले बुझ्न र बुझाउँन अपरिहार्यता छ ।

सामाजिक उठान् र उत्थानमा गुरुज्यूको नेतृत्वदायी संयोजनकारी भूमिका अतुलनीय रहिआएको छ । तर दुर्भाग्यचाहीँ के भइरहेछ भने, गुरुज्यूको आज्ञा मुताविक नेतृत्वदायी भूमिकाको जिम्मेवारी बहन गर्न नसक्ने नेतृत्वहरु र कार्यकर्ता अनुयायीहरु गुरुज्यूलेनै पदास्थापन गरेको किरात धार्मिक संघ/संस्थाहरुमा बग्रेल्ती छन् । जसले गुरुज्यूलाई नै अनेकन विषयहरु उपर कति विवादमा तान्ने गर्छन् । तथापी, त्यस्तो विवादास्पद प्रासाङगीकताको बारेमा उनीहरुमा कुनै संवेदनशिलता देखिन्दैन । मौनता साँधेर बेखवर बने झैं गर्छन् । यसले किरात धार्मिक अनुयायी र आम शुभेच्छुकहरुमा गुडवील सन्देशहरु दिइरहेको छैन् ।

नेतृत्व तहमा बसेकाहरुले बारबार गुरुज्यू र संघ/संस्थाहरुलाई विवादहरुमा तानेर, गुरु र धार्मिक संगठनहरुलाई कलंकित औं दुर्गन्धित बनाउँने र लोकलाई नाक खुम्च्याउँने कार्यमा समाहित मात्र बनेको देख्न सकिन्छ । उनीहरुको जीवनशैलीहरुमा अहिले धार्मिकता हराउँदै गएको छ । नैतिकता र इमान्दारितामा खडेरी पर्दै गएको अवस्था छ । यथार्थता कहनुपर्दा किरात धार्मिक संघ/संस्थाका संगठनहरुमा (अपवाद बाहेक) सग्लो धार्मिकता भएको इमान्दार र नैतिकवान व्यक्तित्व वा कार्यकर्ताहरु पाउँन अब निकै गाह्रो भइसकेको छ । यसकारण पनि गुरुज्यूले यी किरात धार्मिक संगठनहरुलाई पुनर्जिवित बनाउँन र पुनःगुडवील निर्माण गर्न, गराउँन पनि सम्बद्ध संगठनहरुमा आवद्व हुनुभएका नेतृत्वहरु र तहगत पदाधिकारी लगायत सम्पूर्ण कार्यकर्ताहरुलाई शुद्धीकरण गर्न ज्याँदै ढिलो पनि भइसकेको छ । यो आग्रह विशेषः गुरुज्यू आफैनै संगठन संरचना निर्माण प्रमुखको सूत्रधार हुनुभएको कारण पनि ध्यानाकर्षण गराइएको हो । किनकी संघ/संस्थामा पदासिन नेतृत्वहरु (अपवाद बाहेक) प्राय पथभ्रष्ट र नैतिकताहीन देखिन्दैं गएको र जवाफदेहिताविहीन पनि उस्तै छ । लगभग संस्थाहरुको प्राण–त्राणहरुनै नभएको हो ? कि समवेदना गुमाएका मुर्दाहरुले चलाएको हो ? भन्ने अनुभूतहरुले आम शुभेच्छुक अनुयायीहरुमा प्रश्न चिन्ह उभिने गर्छ । तसर्थ, संगठनहरुलाई पुनर्जिवित गर्ने र थप नयाँ उर्जा औं गतिशीलता प्रदान गर्नलाई पनि कार्यकर्ताहरुमा शुद्धीकरण गर्नुपर्ने वाञ्छिन्य÷अपरिहार्यता नै छ ।

सांस्कृतिक मोह र रुपान्तरण

गुरुज्यूको तेश्रो सौन्दर्यात्मक पक्ष भनेको वहाँमा देखिएको सांस्कृतिक मोह र लगाव पनि हो । वहाँले धार्मिक जनजागरण अभियान मार्फतनै सांस्कृतिक अभियानको पनि नेतृत्वदायी भूमिका खेल्नु भएको छ । वहाँ आफै पनि माङलाङ, केःलाङ, थेबा–युमालाङ लगायत पाःलाम, ख्यालीहरुमा उत्तिकै पोख्त हुनुहुन्छ । भने, गुरुज्यू एक प्रतिभाशाली सिर्जनशिल कवि तथा गीतकार पनि हुनुहुन्छ । एउटा कवि तथा गीतकारको शब्दहरुको भावभंगीहरुको विश्लेषणात्मक टिप्पणी गर्नुपर्दा पनि थाहा हुन्छ की, गुरुज्यूको अन्तर हृदयमा कुन चिन्तन बढी हावी छ भन्ने बोध गराउँछ । भन्नुपर्दा, गुरुज्यूको कयौं शब्दभावहरुको बान्कीमा मुलतः खाली जनचेतनामूलक सन्देशवाहक सिर्जनाहरु मात्र कुदिंएका छन् । त्यो पनि खाली आफ्नै समुदायको अस्तित्व र चिन्तनमा मात्र बढी घोत्लिएको देखिनु हुन्छ । आफ्नै मौलिक भाषामा शब्द सिर्जनाहरु गर्नुहुने गुरुज्यूले आफ्नो मुलबाटो÷माराम खोज्न र पछ्याउँन बढी अपिल र सन्देश प्रवाह गर्नु भएको छ । यसैको प्रभावले पनि आम किरात लिम्बू समुदायमा आफ्नो मौलिक भाषामा गीत गाउँने सांस्कृतिक जागरणको उत्थान भएको हो भन्ने इतिहास बुझ्नलाई उति गाह्रो छैन् ।

यसको सबुद–प्रमाण भनेकै पनि उसबेलाको सांस्कृतिक समूहको (२०३७) गठन गरिएको टोली नै काफी हो । जुन समूह टोलीलाई साक्थिम्गेन भनियो । र यसले जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गर्दै, पञ्चायति कालरात्रीमा पनि मौलिक भाषामा सिर्जना गरिएका गुरुज्यूको शब्द सिर्जनाहरुलाई जनवादी गीतको रूपमा सांस्कृतिक अभियान छेडिएको थियो । जुन मौलिक भाषाहरुमा सांस्कृतिक अभियान चलाउँने र गीत संगीत रेकर्ड गर्ने अभियानहरु उर्जाशिल रूपमा बाढी आउँनु अहिले हकमा यो गुरुज्यूले नेतृत्व गर्नु भएको सांस्कृतिक अभियानकै निरन्तता हो भन्दा अतिशयोक्ती नहोला ।

खैरः स्मरणमा उन्नुपर्दा हिजोको उक्त सांस्कृतिक अभियान समूह टोली अहिले किरात साम्यो साक्थिम्गेन पान्जुम्भोको अस्तित्वमा उभिसकेको छ । यसले आफ्नो झण्डैं साढे चार दशक (४२.वर्ष) लामो समय पार गर्दै, निरन्तर अविरल यात्रामा छ । गुरुज्यूको यो सांस्कृतिक मोहप्रतिको नासो पनि हो । जसले अनेकौं उत्तरचढावहरुको सामनाहरु गर्दै यहाँसम्म आइपुग्न सक्नुमा गुरुज्यूको अथक मेहेनत र पसिनाहरु बगेको छ । आज यसैको पुनः उत्थानलेनै सांस्कृतिक जनजागरणको रूपमा हामीहरुको समुदायमा चेतनाको विकास भएको आधार मान्न सकिन्छ । यसैले सामाजिक/सांस्कृतिक रुपान्तरण गर्न, गराउँनमा अथाह सघाउ पु¥याएको छ । उसबेला गुरुज्यूले नेतृत्व गर्दा राज्य शासकहरुले राजद्रोह, देशद्रोहको मुद्दा लगाउँनेदेखि देश विखण्डनकारीसम्म दोष र अपराधि हुनुभएको आरोप प्रत्यारोपहरुको ट्यागहरु बोकेर सांस्कृतिक जनजागरणलाई निरन्तर दिइरहनु भयो । जो अहिले यो बोल्ड आकारमा जनसांस्कृतिक मञ्च जस्तै क्रान्तिकारी लडाकु भए झैं पहरेदारको रूपमा उभिएको अनुभूत हुन्छ । यो त्यसैको अविचलित निरन्तरता हो किरात साम्यो साक्थिम्गेन पान्जुम्भो । उसबेलाको अकथनीय संघर्षशिल लामो इतिहासहरु बोकेर अझ्ै पनि सांस्कृतिक रुपान्तरणको यो अभियानमा कहिल्यै नथाक्ने रेसघोडा बन्ने दौड्मा हामीहरुको समुदायबीच दौडी रहेको छ ।

संम्बोधन र एकताका सूत्रधार

धर्मगुरुज्यू बहु आयामिक व्यक्तित्व त हुनुहुन्छ नै । समग्रमा गुरुज्यूलाई तेस्रो आँखाबाट चिन्ने र बुझ्ने चेला, अनुयायीहरु कहिँकतै देखिएनन् । अझै शिष्यहरु त छँदैं छैनन् नै । चेलाहरु बन्नु भन्दा एउटा शिष्यको रुपधारण गर्नु र त्यसलाई आत्मासाथ प्रयोगमा निर्वाह गर्ने साहस राख्न सक्नु चानुचुने कुरो र विषय हुँदै होइनन् । जो अभावको खडेरी खड्किन्दो छ । गुरु आश्रममा गुरुज्यूलाई केही पालितपोषित झुण्डहरुको घेराबन्दीबाट मुक्त नगरेसम्म, गुरुज्यूको तेस्रो आँखा कोही कसैले देख्न सक्ने छैनन् । वहाँको तेस्रो आँखालाई नजर अन्दाज गर्ने भक्तहरु जो औंठा छापेहरुको बाहुल्यता छ । तेनारुँको घेराबन्दीमा गुरुज्यूको तेस्रो आँखा कैद हुन गएकोछ ।

जबसम्म ती बबुरा मनुवाहरुको गुरुआश्रमबाट चोला उठ्दैन वा सम्बन्धच्छेद गरिन्दैंन, तबसम्म गुरुज्यूको त्यो तेस्रो आँखाले सिंगो किरात धर्म दर्शन र वहाँको दार्शनिकत्व व्यक्तित्वलाई विश्वव्यापी रूपमा चिनाउँन र बुझाउँन सकिने छैन् । गुरु आश्रमलाई युगानुकुल रफ्त्तारमा अपडेट गराउँन सकिएन भने गुरुज्यूको दिग्दर्शन भर्सनहरुले विश्व रंगमञ्चमा प्रहसन हुन सक्दैनन्÷पाउँदैन । तसर्थ, युगानुकुल समय सापेक्ष प्लेटफर्ममा गुरुज्यूलाई अपडेट गराउँने त्यस्ता बहु–आयामिक थिंकट्याँकहरुको अभाव हिजोदेखि नै उस्तै थियो । जो अब ध्यानाकर्षण र मनन् चिन्तन गर्न ज्यादै ढिलाई भइसकेको छ ।

अबका यी गुरुज्यूको चेलाहरुले (अपवाद बाहेक) लोभ लालसाहरुमा लोभिपापीको देह पाल्नु गुरुज्यू माथिको अपमान र निष्कृष्ट व्यवहार पनि हो । उसबेलाको महागुरुज्यूको चेलाहरु र अहिलेको गुरुज्यूको चेलाहरुमा के नै फरक छ र ? उहीँ क्यारेक्टर पात्रहरु मात्र न फेरिएका छन् । चरित्र र प्रवृत्ति त सेम उस्तै नै हो÷छ । अतः त्यसैले पनि अबका त्यस्ता क्यारेक्टर पात्रहरुलाई किनारा लगाएर, युगानुकुल नयाँ पात्रहरुको इन्ट्री गराउँन श्रेयस्कर छ । जो अति ढिलो भयो । र, समयले निकै पर छोडिसकेको छ । गुरुज्यूको बढ्दो उमेरले हामीहरुलाई ज्यादै चिन्तित बनाउँदै लगेको अवस्था नि छ । गुरुज्यूले यसप्रति पूर्ण रूपमा ध्यानाकर्षणका साथ पुनः विचार गर्नुहुनेछ भन्ने आशा राख्न सकिनेछ ।

सम्झाउँनीमा भन्नुपर्दा, गुरुज्यू हामीहरुको हेर्ने र बुझ्ने क्षमताको दृष्टिकोणको सम्बोधनचाहीँ बढो दुर्भाग्यपूर्ण रहिआएको छ । त्यो दुर्भाग्य के भइरहेको छ भने गुरुज्यूको अस्तित्व सामान्य झारफुक गर्ने येबा, साम्बा अनि फेदाङमाहरुसँगको तुलनामा उभ्याउँन वा बुझ्ने प्रयास ग¥यौ ंर गरेका छौं । धर्मगुरुज्यूलाई बुझ्न सक्ने हामीहरु अनुयायीहरुको चेत, अझै नि त्यो भन्दा माथि एकरत्ति खुल्न सकेको देखिन्दैन । भने गुरुज्यूको महिमालाई बुझ्नु भनेको खाली श्रद्वापूर्वक आस्था राख्नु र शिरोपर सेवाढोग गर्नु मात्र पनि होइन । हामीहरु धेरै त भ्रममा बाँचिरहेका छौं । गुरुज्यूले फुः मन्त्र गर्ने वित्तिकै सबथोक ठीक हुन्छ । अर्थात जाती भइहाल्छ । अझ् विस्तारित रूपमा भन्नुपर्दा स्वाट्टै निको भइहाल्छ । यसको मतलब गुरु भनेकै के के विमारहरुको फुँकफाँक, झारफोक गर्ने र यसो लागल–सागल हेरिदिने हुन्, भन्दा पर अहिलेतकसम्म खोई ? कसले बुझ्न सक्यो र ? अन्तः हामीले गुरुज्यूलाई आफ्नो शरीरको कुनै अंगभंगहरु दुख्नेदेखि लिएर हरेक विमारको फुँकफाँक गर्न लगाएका कति छौं कति ।

माङगेन्ना सेवा गर्न लगाउँनु र निः सन्तान दम्पतीले सन्तानलाभ होस् भनि अभयदान माग्नु अनि आफ्नो सन्तानहरु देश–विदेश जान सक्ने नसक्ने, साथै पोईसा कमाउँन सक्ने नसक्ने बारे चासो र चिन्ताको सोधनीहरु सिवाए धर्मगुरुज्युसँग त्यो भन्दा बढी के आशा राखिएको होला ? अन्ततगोतत्वः गुरुज्यूलाई एउटा अध्यात्मवादी दार्शनिक व्यक्तित्वको रूपमा वहाँलाई चिन्न र बुझ्न सकिरहेको छैनौं । र अझैपनि त्यो दर्जामा राखेर गुरुज्यूलाई हेर्ने दृष्टिकोणहरु बदल्न कोही कसैले (अपवाद बाहेक) सकेका छैनन् । यो आम किरात धर्मानुयायीको दुर्भाग्यपूर्ण संकिर्ण सोंच हो । पूर्ण त अबः गुरुज्यूलाई यो चौकुनोको सानो घेराबन्दीबाट बाहिर निकाल्नै पर्छ । त्यसले मात्र महागुरुज्यूको महान अभियान यात्रालाई गुरुज्यूले पनि फराकिलो दायरामा उभिएर निरन्तरता दिन सक्नु हुनेछ । वहाँले चिन्तन–मननहरु गर्नुभएको सदिच्छाहरु पनि शनैःशनैः पूरा हुँदै जानेछन् । गुरुज्यूको यो महान यात्रामा सम्पूर्णको साथ सहयोग र सपोर्ट अपरिहार्य छ ।

विट्यौंनीमा भन्नुपर्दा, गुरुज्यूले हाम्रो सिंगो समुदायलाई दिएर जाने महत्वपूर्ण कुराहरु कति छन् कति के । तर दुर्भाग्य नै भनौं की, गुरुज्यूको कार्यभार सम्हाल्ने संघ÷संस्थाका नेतृत्व तहका वर्गहरुले त्यो संयोजनकारी भूमिकाहरुको समायोजन गर्ने कार्ययोजना नीतिहरु कहिल्यै ल्याउँने चेतहरु खुलाएनन् । हामीहरुको समाज अहिले विग्रहमा छ । परस्पर समाज विभाजित पनि छ । उस्तै अन्तरद्वन्द्व पनि झाँगिन्दो छ । हामीबीच त्यस्ता उल्झन र बाधा व्यवधानहरुको अन्तर–विरोधहरु झन् कति छन् कति । हामीहरुको समुदायबीच देखिएका यस्ता मनोगत रोगहरुको शल्यक्रिया गरेर स्वस्थ समाजको निर्माण गर्नु र गराउँन धार्मिक सामाजिक अभियेन्ताहरुको प्रमुख जिम्मेवारीपूर्ण दायित्व पनि हो । जसले कोर्डिनेटर अर्थात मध्यस्थताको भूमिकामा उभिने साहस बटुल्नु पथ्र्यो । र त्यो बृहत् एकाकारको लागि महाचुम्लुङ सभाको डाँक गर्न नि उस्तै ढिला बनि सकेको अवस्था छ ।

वि.स. १९८८ बैशाक २४ गते महागुरुज्यूले लब्रेकुटी पान्थर थुममा सत्य धर्म मुचुल्का बाँध्नु भएको उसदिनलाई सम्झनु यसबेला सोर्हैआना मुनासिफ हुन्छ । जुन वेलाको त्यो जन–क्रान्तिको सभा/चुम्लुङ भए जस्तै हो÷थियो । अब त्यसको दोस्रो निरन्तरता दिन पुज्य धर्मगुरुज्यूको नेतृत्वदायी भूमिका निः सन्देह छ । अहिले महाचुम्लुङको बहस र छलफलहरु, फरकमत राख्नुहुने शुभेच्छुक साथीभाइहरु माँझ व्यापक बढ्दो छ । यसमा मात्र मध्यमार्गीहरुको संयोजनकारी भूमिकामा को–को उभिएलान् भन्ने चासो र चिन्ता हो÷छ । जो कोही भए पनि अब हामीबीचबाट यसको निकास निस्कनै पर्छ । र मिलनविन्दुमा पुग्नुको कुनै विकल्पै छैन् । जसको लागि त्यो आँट, साहस र स्वयम् हुनैपर्छ । तबमात्र हामीबीच एकाकार हुन सक्ने बलियो संम्भावना रहिरहने छ । त्यो एकताको सूत्रधार पुज्य धर्मगुरुज्यूले निर्वाह गर्नु आजको प्रमुख आवश्यकता छ । गुरुज्यूको पहल कदमीहरुले मात्र निः सन्देह हामीबीच भएको परस्पर अन्तरविरोधहरुको स्वरहरुको भोलुम पनि विस्तारै–विस्तारै सानो हुँदै मथ्थर हुँदैं जानेछन् । एकतामा वल/शक्ति छ भन्ने मन्त्र त हामीलाई जानकार छँदैं नै छ । भने एकतामा जोड्वल किन नगर्ने ? असम्भव के छ र ? सम्भव छ र त्यो आखिर गन्तव्यमा पुगौं ।

भोली पुग्नसक्ने गन्तव्यस्थल भनेको त तपाईं हामीलाई थाहा छँदैंछ । लिनुदिनु र गुमाउँनु केही छैन् । मिल्दा संसार छ । तर हार्दा सबथोक गुमाउँनु त छँदैंछ । अब कसैले नहारौं । सबै जित्ने अभ्यास मात्र गरौं । आशावादी बनौ ं। सकारात्मक सोंचको विकास गरौं । अन्तमाः धर्मगुरुज्यू हामी सबैको साझा व्यक्तित्व हुन् । गुरुज्यूप्रति श्रद्वा औं आस्था राख्ने, नराख्ने स्वविवेक स्वतन्त्रता सबैलाई छँदैंछ । विशेष त धर्मगुरुज्यूको अवतरण वहीँ सीमान्तकृत उत्पीडित जाति, वर्ग र समुदायहरुमा न जन्मावतरण हुने हो । दार्शनिकहरु अन्ततः त्यसै समुदायहरुबीच अन्तरघुलन र समाहित न हुने हुन् । यसमा अनेकंन रंगहरुको हिलो छ्याप्ने कसरत हामी जो कोहीले किन गर्ने हो ? संसारमा कुनचाहीँ दार्शनिकहरुको आलोचना र खण्डन नगरिएको होस् । अनि आरोप–प्रत्यारोप र विवादास्पद लाञ्छनाहरु नलगाईएको होस् । देश समाजमा के त्यस्ता विशुद्ध निष्कंलक सर्वपरी स्विकारिएका कोही दार्शनिकहरु होलान् ? कहीँ कतै त्यस्तो इतिहास होलान् र ? तसर्थ, पूज्य किरात धर्मगुरुज्यू पनि त्यस्तो आलोचना र खण्डनहरुबाट अछुतो र मुक्त हुनुहुन्न । तथापी गुरुज्यू समुन्द्र जस्तै शान्त हुनुहुन्छ । शान्त भएको समुन्द्रमा जतिनै ढुंगाहरु बर्साए पनि तरंग र छालहरु मात्र उठ्ने गर्छ । जति नै ढुंगा–मुढा र गोला बारुदहरुको वर्षा गरेपनि, न त्यो ज्वालामुखी नै बन्छ । न त सुनामी बेगनै आउँछ । महान दार्शनिकहरुमा देखिने गुण नै त्यहीँ न हो । दार्शनिक गुरुज्यूहरुमा र सर्वसाधारण हामीबीच त्यति असमान फरक छ ।

बुद्धले भने, तिमी पनि म जस्तै बुद्ध हौ । तिमी र ममा यति मात्र फरक छ, की तिमी सुतिरहेको बुद्ध हौ भने म जागा उठिरहेको बुद्ध हुँ । तिमी पनि म जस्तै उठ्यौ भने बुद्व नै हुनेछौं । आखिर देवत्वमन र विचारलेनै त मान्छेहरु असाधारण व्यक्तित्वको रूपमा उदाउँने रहेछन् । माङ निङ्वारे माङ आवोङ । हाङ निङ्वारे हाङ आवोङ । योक् निङ्वारे योक् लःआवोङ । अर्थात देवता जस्तो सोंच/विचारहरु पाले, देवता जस्तै नै होईन्छ । राजा जस्तो सोंच चिन्तन गरे, राजा जस्तै नै होइन्छ । तर दरिद्र जस्तो चिन्तन सोंचहरु मात्र पालियो भने दरिद्र मात्रै बनिन्छ/होइन्छ । भन्नुहुन्छ माङसिवाखाहुनमा महागुरु फाल्गुनन्द गुरुज्यू ।

पुनश्चः पूजनीय धर्मगुरुज्यूको ६८ औं शुभ–जन्मोत्सव तथा नुमाङगेना सेवाको लुङमेन्दिङ नुनिङ्वा तोम्मा गर्दछु । साथै गुरुज्यूको जन्मदिन विशेषले हामीहरुबीच देखिएको अन्तर–द्वन्द्व, मतमतान्त्तर र अन्तरविरोधहरु किनारा लाग्दै, एकता हुने जोडवलको शुभ–सन्देशहरुको सम्प्रेषण हुन सकोस् । किरात धर्मानुयायी तथा आम–शुभेच्छुक सम्पूर्णमा यहीँ हार्दिक शुभकामना ।

ojimaphago@gmail.com

(लेखक माङसेबुङ मासिकका स्तम्भकार हुन् /प्रस्तुत लेख माङसेबुङ मासिकको मंसिर अंकमा प्रकाशित लेख हो)

सम्बन्धित खवर