आत्मानन्द कप : आज फाईनलका लागि बिबिएफसी र सिरिजङगा भिड्दै - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप : आज फाईनलका लागि बिबिएफसी र सिरिजङगा भिड्दै

माङ्सेबुङ । किरात धार्मिक पर्यटकीयस्थल इलामको माङ्सेबुङमा जारि आत्मानन्द कप १४ औं संस्करण खेलकुद प्रतियोगिता अन्तरगत दोस्रो सेमिफाईनल खेलमा बिबिएफसी दमक झापा र सिरिजङगा स्पोर्टिङ क्लव मोरङ विच प्रतिस्पर्धा हुदैंछ ।

माङसेबुङ–५ स्थित आत्मानन्द खेलमैदानमा आज (बिहिबार) अपरान्ह २ बजे हुने प्रतियोगिताको दोस्रो सेमिफाईनल खेल अन्तरगत बिबिएफसी दमक र सिरिजङगा मोरङ विच प्रतिस्पर्धा हुने भएको हो ।

यसअघि बुधबार भएको पहिलो सेमिफाईनल खेलमा फिदिम स्पोर्टिङ क्लव पान्थरलाई सडेनडेत्थमा ६–५ ले पराजित गर्दै माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित प्रतियोगिताको फाईनल खेल मंसिर १७ गते हुनेछ ।

प्रतियोगिताका विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोच लगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने खेलकुद विभाग आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताइन् ।

जन्मोत्सवको अवसरमा १७ मंसिरमा फुटबलका साथै म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो), धनुकाँण, कराते, व्याटमिन्टन लगायतका खेलहरु समेत सञ्चालन हुनेछन् ।

म्यारथुनतर्फ साढे ५ किलोमिटर दुरीको माङसेबुङ चक्रपथको परिक्रममा गर्नुपर्नेछ । म्यारथुनमा प्रथम हुनेले नगद १० हजार १ सय ६८ रुपैयाँ, द्वितीय हुनेले नगद ८ हजार १ सय ६८ रुपैयाँ, तृतीय हुनेले नगद ६ हजार १ सय ६८ रुपैयाँ र सान्तवना हुनेले नगद ४ हजार १ सय ६८ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै अन्य खेलका विजेता र उपविजेताहरुले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवा समारोहको मूल आयोजनामा प्रतियोगिता वर्षेनी सञ्चालन हुँदै आइरहेको छ ।

सम्बन्धित खवर