आत्मानन्द गोल्डकप : माङसेबुङलाई हराउँदै पाहुना टोली दार्जिलिङ सेमिफाइनलमा - Mangsebung News
  • शनिबार, मङि्सर १३, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द गोल्डकप : माङसेबुङलाई हराउँदै पाहुना टोली दार्जिलिङ सेमिफाइनलमा

  • आन्छुमे नसान

माङसेबुङ । पाहुना टोली भारतको आरएलएस दार्जिलिङ इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारी १९औं संस्करणको आत्मानन्द गोल्डकप २०८३ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(शनिबार) भएको खेलमा माङसेबुङ गाउँपालिका इलामलाई ३–२ गोल अन्तरले पराजित गर्दै दार्जिलिङ भारतले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

दार्जिलिङको जितमा आशिस लावती, शुसिल लवतीले र आयुस राईले समान एक–एक गोल गरेका थिए । यस्तै माङसेबुङका लागि निसान राई र क्रिशल थापाले एक–एक गोल फर्काएका थिए ।

खेलको प्लेयर अफ दी म्याच दार्जिलिङ भारतका आयुस राई घोषित भए । उनले नगद ५ हजार १ सय ७३ रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यो सँगै सेमिफाइनल समिकरण पुरा भएको छ । अब सोमबार हुने पहिलो सेमिफाइनल खेल सरिजङ्गा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ र लेटाङ फुटबल क्लब मोरङबिच हुनेछ । यसैगरी मंगलबार अन्तिम सेमिफाइनल खेल सैनिक युथ क्लब झापा र पाहुना टोली आरएलएस दार्जिलिङ भारतबिच हुनेछ । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७३, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ११ हजार १ सय ७३, मेडल र प्रमाणपत्र पाउने छन् ।

यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद ८ हजार १ सय ७३ का साथ ट्रफी र मेडल प्रदान गरिने छ ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७३औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा एवं चेसोक तङनाम महासमारोह २०८३ को अवसरमा सञ्चालित प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।

प्रतियोगिता आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७३औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा एवं चेसोक तङनाम महासमारोह २०८३ को संयुक्त आयोजना तथा युथ अफ माङसेबुङ र वाई.के.एम माङसेबुङको सह–आयोजना रहेको छ ।

सम्बन्धित खवर