
- आन्छुमे नसान
माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारी आत्मानन्द गोल्डकप २०८३ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज आयोजक युथ अफ माङसेबुङ इलाम र लेटाङ फुटबल क्लब मोरङबिच हुदैंछ ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(शुक्रबार) आयोजक माङसेबुङ र लेटाङ मोरङबिच प्रतिस्पर्धा हुने भएको हो । खेल दिउँसो २ः३० वजे सुरु हुनेछ ।
यसअघि हिजो भएको खेलमा मधेसा युथ क्लब इनरुवा सुनसरीलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै सैनिक झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।
टाइब्रेकरमा सैनिक झापाको जितमा प्रदिप बुढाथोकी, राजेश दाहाल र आयुस लिम्बूले गोल गरे । प्रशान्त लक्समको प्रहार मधेसा सुनसरीका गोल रक्षक सन्दीप भटराईले बचाए भने आर.के. कन्दङवाको प्रहार बाहिरिएको थियो ।
यसैगरी मधेसा सुनसरीका शिसिर लेखीले मात्र गोल गर्दा मिलन लिम्बूको प्रहार बाहिरिएको थियो । यस्तै अजित चौधरी र श्याम मुर्मुको प्रहार सैनिक झापाका गोल रक्षक अभिषेक बरालले बचाएका थिए ।
खेलको प्लेयर अफ दी म्याच टाइब्रेकरमा दूई गोल बचाउ गरेका सैनिक झापाका गोलकिपर अभिषेक बराल घोषित भए । उनले नगद ५ हजार १ सय ७३ रुपैयाँ पुरस्कार प्राप्त गरे ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७३औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा एवं चेसोक तङनाम महासमारोह २०८३ को अवसरमा सञ्चालित प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७३, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ११ हजार १ सय ७३, मेडल र प्रमाणपत्र पाउने छन् ।
यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद ८ हजार १ सय ७३ का साथ ट्रफी र मेडल प्रदान गरिने छ ।
प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।
आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७३औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा एवं चेसोक तङनाम महासमारोह २०८३ को संयुक्त आयोजना तथा युथ अफ माङसेबुङ र वाई.के.एम माङसेबुङको सह–आयोजनामा प्रतियोगिता संचालन हुनेछ ।





