
- आन्छुमे नसान
माङसेबुङ । सिरिजङ्गा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारीे १९औं संस्करणको आत्मानन्द गोल्डकप २०८३ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(बुधबार) भएको खेलमा तिजोक युवा क्लब पान्थरलाई २–० गोल अन्तरले पराजित गर्दै सिरिजङ्गा मोरङले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

सिरिजङ्गा मोरङको जितमा निमा तामाङ र निसकुमार श्रेष्ठले गोल गरेका थिए । खेलको प्लेयर अफ दी म्याच सिरिजङ्गा मोरङका निमा तामाङ घोषित भए । उनले नगद ५ हजार १ सय ७३ रुपैयाँ पुरस्कार प्राप्त गरे ।
सुरुवाती समयमै आक्रमक रुपमा मैदानमा उत्रेको सिरिजङ्गा मोरङले खेलको तेस्रो मिनेटमा निमा तामाङको गोलमा सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको १३औं मिनेटमा निसकुमार श्रेष्ठले गोल गर्दै सिरिजङ्गा मोरङलाई २–० को अग्रातामा पुर्याए ।
पहिलो हाफ २–० मा सकिएको खेलमा दुबै टोलीबाट केहि अवसरहरु प्राप्त गरेपनि गोल गार्नबाट चुक्दा सिरिजङ्गा मोरङ २–० ले विजयी भएको हो ।

यसैगरी भोलि (बिहिबार) सैनिक युथ क्लब बिर्तामोड झापा र मधेसा युथ क्लब इनरुवा सुनसरीबिच हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
प्रतियोगिताको उद्धघाटन प्रदेश न. १ प्रदेश सभा सदस्य मैया श्रेष्ठ लावतीको प्रमुख आतिथ्यमा तथा आठराईत्रिवेणी गाउँपालिका ताप्लेजुङका अध्यक्ष दिपेन पोमुको विशेष आतिथ्यमा सम्पन्न भएको थियो । प्रमुख अतिथि प्रदेश सभा सदस्य मैया श्रेष्ठ लावती र विशेष अतिथि आठराईत्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन पोमुले प्रतियोगिताको सफलताको शुभकामन व्यक्त गरेका थिए ।

प्रतियोगितामा सिरिजङ्गा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ, तिजोक युवा क्लब पान्थर, सैनिक युथ क्लब झापा, मधेसा युथ क्लब सुनसरी, आयोजक युथ अफ माङसेबुङ इलाम, लेटाङ फुटबल क्लब मोरङ, माङसेबुङ गाउँपालिका इलाम र पाहुना टोली भारतको आरएलएस दार्जिलिङ भारतसहित आठ टिमको सहभागिता रहेको आयोजक आत्मपवित्र खेलकुद समितिका सचिव सरिता राईले जानकारी दिइन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७३, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ११ हजार १ सय ७३, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद ८ हजार १ सय ७३ का साथ ट्रफी र मेडल प्रदान गरिने छ ।
प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।
आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७३औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा एवं चेसोक तङनाम महासमारोह २०८३ को संयुक्त आयोजना तथा युथ अफ माङसेबुङ र वाई.के.एम माङसेबुङको सह–आयोजनामा प्रतियोगिता संचालन हुनेछ ।





