
झापा । साविक उपविजेता टोली एपीएफ फुटबल क्लब झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा भुटानको टोली थिम्पु राभेन वुमन फुटबल क्लबलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै एपीएफ अन्तिम चारमा प्रवेश गरेको हो ।
एपीएफको जितमा रश्मिकुमारी घिसिङ एक्लैले ६ गोल गर्दै दोहोरो ह्याट्रिक पूरा गरिन् । यस्तै अनिता केसीले १ गोल गरिन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी रश्मिकुमारी घिसिङ प्लेयर अफ द म्याच घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
यसैबीच, प्रतियोगिताअन्तर्गत मंगलबार अन्तिम क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।




