
माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको विशेष पहलमा सञ्चालित पाँच दिने निशुल्क आँखा परिक्षण शिविरमा मोतिविन्दु लागेका १ सय १८ जनाको सफल शल्यक्रिया गरिएको छ ।
इलामको माङसेबुङमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ७३ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा महासमारोहको किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा समितिको आयोजनामा गत कातिक ३० गतेदेखि मङ्सिर ४ गतेसम्म सञ्चालित शिविरमा मोतिबिन्दुको समस्या देखिएका ११८ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो ।

माङसेबुङ गाउँपालिका इलाम र माई नगरपालिका इलामको सहयोग तथा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा करिवन १५ सय जनाको आँखाको परीक्षण गरिएको आयोजक किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहरसिं योङहाङले जानकारी दिए । योङहाङका अनुसार शल्यक्रिया गरेकामध्ये ४६ जना छिमेकी माई नगरपालिकाका नागरिक हुन् ।
वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतको नेतृत्वमा अमेरीकी नेत्ररोग विशेषज्ञ डा. जेफ ट्याबिन र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका चिकित्सकको टोलीले आँखा जाँच गर्नुका साथै मोतिबिन्दुको शल्यक्रिया गरेका थिए ।

शिविरमा मोतिबिन्दु शल्यक्रियाका लागि नागरिकको घरबाट भालुटारसम्म लैजाने र शल्यक्रियापश्चात पुनःघर पु¥याउन माङसेबुङ गाउँपालिकाले गाडीको व्यवस्था गरेको थियो । यस्तै मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीहरुका लागि खाना र बस्नको व्यवस्था आयोजक संस्थाले गरेको थियो ।
मोतिबिन्दुका कारण दृष्टि गुमाउने जोखिममा रहेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले आर्थिक अभावका कारण आँखाको उपचार गर्न नसकेका बिरामीलाई राहत पु¥याएको आयोजक किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा समिति अध्यक्ष योङहाङले बताए ।

यसैगरी मोतिबिन्दुको असर झेलिरहेको बिरामीहरु गाउँमा नै शिविरमार्फत शल्यक्रिया गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । शिविरमा निःशुल्क चश्मा वितरण समेत गरिएको थियो ।
सोही अवसरमा आमा डेल्टल केयर क्लिनिक दमकको प्राविधिक सहयोगमा निशुल्क दन्त परिक्षण शिविर समेत सञ्चालन गरिएको छ । सो शिविरमा दन्त विरामी करिब ३ सय ५० जनाले परिक्षण गरेको जनाइएको छ ।






