
माङसेबुङ । नेपालले कतारमा जारी एसीसी एसिया कप राइजिङ स्टार्समा पहिलो जित हासिल गरेको छ ।
आइतबार भएको खेलमा कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन तथा सन्दीप लामिछानेको शानदार बलिङ प्रदर्शनमा यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले पहिलो जित हासिल गरेको हो ।
यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग¥यो । यो नेपालको १००औं ओडीआई खेल थियो । नेपालले यस खेलमा आफ्नो ५०औं जित निकालेर यस खेललाई यादगार बनाएको छ ।
नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ५७ रन बनाए । यस्तै मयन यादवले २७ रन तथा बसिर अहमदले अविजित १८ रन बनाए ।

यूएईका मुहम्मद मोहसिनले २ विकेट लिए । उदीस सुरी र अंश टन्डनले १–१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनएको थियो ।
यूएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए । यस्तै हरप्रीत सिंह भाटियाले ३२ रन, नूर उल्लाह अयोबीले १२ रन बनाए ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । कुशल भुर्तेलले पनि ३ विकेट लिँदा नन्दन यादव, रासिद खान र ललित राजवंशीले १–१ विकेट लिए ।
नेपालले पहिलो खेलमा भारत ए सँग २६ रनमा अलआउट हुँदै ३०६ रनको हार बेहोरेको थियो । नेपालले अब मंगलबार पाकिस्तानसँग खेल्नेछ ।




