
- आन्छुमे नसान
माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा ‘आत्मानन्द गोल्डकप २०८३’ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता भोलिबाट सुरु हुँदैछ ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा भोलि (आइतबार)देखि १९औं संस्करणको आत्मानन्द गोल्डकप खेल्कुद प्रतियोगिता सुरु हुने भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता सिरिजङ्गा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ र तिजोक युवा क्लब पान्थरविच प्रतिस्पर्धा हुदैंछ । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७३औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा एवं चेसोक तङनाम महासमारोह २०८३ को अवसरमा मंसिर ९ देखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।
प्रतियोगितामा नेपाल र भारतका ८ चर्चित फुटबल टिमहरु सहभागी हुने आयोजक समितिका अध्यक्ष आङबुहाङले जानकारी दिए ।
प्रतियोगितामा सिरिजङ्गा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ, तिजोक युवा क्लब पान्थर, सैनिक युथ क्लब झापा, मधेसा युथ क्लब सुनसरी, आयोजक युथ अफ माङसेबुङ इलाम, लेटाङ फुटबल क्लब मोरङ, माङसेबुङ गाउँपालिका इलाम र पाहुना टोली भारतको आरएलएस दार्जिलिङ भारतसहित आठ टिमको सहभागिता रहेको आयोजक आत्मपवित्र खेलकुद समितिका सचिव सरिता राईले जानकारी दिइन् ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७३, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ११ हजार १ सय ७३, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।
यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद ८ हजार १ सय ७३ का साथ ट्रफी र मेडल प्रदान गरिने छ ।
प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।

आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७३औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा एवं चेसोक तङनाम महासमारोह २०८३ को संयुक्त आयोजना तथा युथ अफ माङसेबुङ र वाई.के.एम माङसेबुङको सह–आयोजनामा प्रतियोगिता संचालन हुनेछ ।
यसैगरी प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।





