
झापा । साविक विजेता विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब झापाको दुधेमा जारी दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा आज(बिहिबार) विभागीय डर्मीबीच भएको अन्तिम सेमिफाइनल खेलमा पुलिसलाई १–० गोलअन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
खेलको दोस्रो हाफको ५१औँ मिनेटमा चन्द्रा भण्डारीले गरेको एक मात्र गोलसँगै आर्मी प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
बिमला चौधरीको प्रहारलाई पुलिसकी गोलकिपर उषा नाथबाट रिबाउन्स हुँदा प्राप्त अवसरलाई सदुपयोग गर्दै चन्द्राले बललाई जाली चुमाउँदा प्रतियोगिताको साविक विजेता नेपाल पुलिस क्लबको फाइनल यात्रा टुङ्गिएको हो ।

पहिलो संस्करणमा एपिएफसँग सेमिफाइनलमा टाइब्रेकरमा पराजित भएर रित्तो हात घर फर्किएको आर्मी यस पटक भने पुलिसलाई अन्तिम सेमिफाइनलमा हराउँदै उपाधि दावेदार बन्न पुगेको हो ।
उसले बुधबारको पहिलो सेमिफाइनल विजेता एपिएफ फुटबल क्लबसँग उपाधिका लागि शनिबारको फाइनल भिडन्त पक्का गरेको छ ।
खेलको प्लेयर अफ दी म्याच आर्मीकी डिफेन्डर बिमला विक भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन् ।
प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो । भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेयसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा–११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वााधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।




