आत्मानन्द गोल्डकप : मधेसा सुनसरीलाई टाइब्रेकरमा हराउँदै सैनिक झापा सेमिफाइनलमा - Mangsebung News
  • बिहिबार, मङि्सर ११, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द गोल्डकप : मधेसा सुनसरीलाई टाइब्रेकरमा हराउँदै सैनिक झापा सेमिफाइनलमा

  • आन्छुमे नसान

माङसेबुङ । सैनिक युथ क्लब बिर्तामोड झापा इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारी १९औं संस्करणको आत्मानन्द गोल्डकप २०८३ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(बिहिबार) भएको खेलमा मधेसा युथ क्लब इनरुवा सुनसरीलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित सैनिक झापाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

टाइब्रेकरमा सैनिक झापाको जितमा प्रदिप बुढाथोकी, राजेश दाहाल र आयुस लिम्बूले गोल गरे । प्रशान्त लक्समको प्रहार मधेसा सुनसरीका गोल रक्षक सन्दीप भटराईले बचाए भने आर.के. कन्दङवाको प्रहार बाहिरिएको थियो ।

यसैगरी मधेसा सुनसरीका शिसिर लेखीले मात्र गोल गर्दा मिलन लिम्बूको प्रहार बाहिरिएको थियो । यस्तै अजित चौधरी र श्याम मुर्मुको प्रहार सैनिक झापाका गोल रक्षक अभिषेक बरालले बचाएका थिए ।

खेलको प्लेयर अफ दी म्याच टाइब्रेकरमा दूई गोल बचाउ गरेका सैनिक झापाका गोलकिपर अभिषेक बराल घोषित भए । उनले नगद ५ हजार १ सय ७३ रुपैयाँ पुरस्कार प्राप्त गरे ।

खेलको निर्धारित समयमा दूवै टोलीबाट थुप्रै गोल गर्ने अवसरहरु प्राप्त गरेपनि गोल गर्न भने नसक्दा खेल बराबरीमा रोकिएको थियो । खेल बराबरीमा सकिएसँगै नतिजा भने टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा सैनिक झापाले बाजी मर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

यसैगरी भोलि (शुक्रबार) आयोजक युथ अफ माङसेबुङ इलाम र लेटाङ फुटबल क्लब मोरङबिच हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

प्रतियोगितामा सिरिजङ्गा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ, तिजोक युवा क्लब पान्थर, सैनिक युथ क्लब झापा, मधेसा युथ क्लब सुनसरी, आयोजक युथ अफ माङसेबुङ इलाम, लेटाङ फुटबल क्लब मोरङ, माङसेबुङ गाउँपालिका इलाम र पाहुना टोली भारतको आरएलएस दार्जिलिङ भारतसहित आठ टिमको सहभागिता रहेको आयोजक आत्मपवित्र खेलकुद समितिका सचिव सरिता राईले जानकारी दिइन् ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७३, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ११ हजार १ सय ७३, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद ८ हजार १ सय ७३ का साथ ट्रफी र मेडल प्रदान गरिने छ ।

प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।

आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७३औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा एवं चेसोक तङनाम महासमारोह २०८३ को संयुक्त आयोजना तथा युथ अफ माङसेबुङ र वाई.के.एम माङसेबुङको सह–आयोजनामा प्रतियोगिता संचालन हुनेछ ।

सम्बन्धित खवर