
झापा । साविक उपविजेता विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब झापाको दुधेमा जारि दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
एपीएफको जितमा दूवै गोल रश्मीकुमारी घिसिङले गरिन् । खेलको प्लेयर अफ द म्याच एपीएफकी कप्तान रेनुका नगरकोटी घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

यसैगरी भोलि(बिहिबार) हुने दोस्रो सेमिफाइनल खेल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।




