
- आन्छुमे नसान
माङसेबुङ । लेटाङ फुटबल क्लब मोरङ इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारी १९औं संस्करणको आत्मानन्द गोल्डकप २०८३ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(शुक्रबार) भएको खेलमा आयोजक युथ अफ माङसेबुङलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै लेटाङ मोरङले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

टाइब्रेकरमा लेटाङ मोरङको जितमा मञ्जिल खड्का, सुबास तामाङ, सैगात राई र सुदिप श्रेष्ठले गोल गर्दा शुसिल राईको प्रहार युथ अफ माङसेबुङका गोल रक्षक मुस्कान सङबाङफेले बचाएका थिए ।
यसैगरी युथ अफ माङसेबुङका गौरव धिमाल, बिनोद धमला, गोली लिम्बूले गोल गर्दा रोमन योगी र विवेकहाङ साँबाको प्रहार बाहिरिएको थियो । खेलको प्लेयर अफ दी म्याच लेटाङ मोरङका गोलकिपर अजय परियार घोषित भए । उनले नगद ५ हजार १ सय ७३ रुपैयाँ पुरस्कार प्राप्त गरे ।

खेलको पहिलो हाफको नवौं मिनेटमा गोली लिम्बूको गोलमा युथ अफ माङसेबुङले सुरुवाती अग्रता बनाएको थियो । दोस्रो हाफको अतिरिक्त समयको अन्तिम दूई मिनेट बाँकी छदा सुरुवाती अग्रता जोगाउन नसक्दा युथ अफ माङसेबुङले टाईब्रेकरमा हार बेहोर्नु पर्यो । अतिरिक्त समयमा शुसिल राईले गोल गर्दै लेटाङलाई बराबरीमा फर्काएका थिए ।
यसअघि दूवै टोलीबाट थुप्रै गोल गर्ने अवसरहरु प्राप्त गरेपनि गोल गर्न भने नसक्दा खेल बराबरीमा रोकिएको थियो । खेल बराबरीमा सकिएसँगै नतिजा भने टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा लेटाङ मोरङले बाजी मर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । जितसँगै लेटाङले सेमिफाइनलमा सिरिजङ्गा स्पोर्टिङ क्लब पथरीशनिश्चरे मोरङसँग भेट पक्का गरेको छ ।

यसैगरी भोलि (शनिबार)को खेल माङसेबुङ गाउँपालिका इलाम र पाहुना टोली भारतको आरएलएस दार्जिलिङबिच हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७३, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ११ हजार १ सय ७३, मेडल र प्रमाणपत्र पाउने छन् ।

यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद ८ हजार १ सय ७३ का साथ ट्रफी र मेडल प्रदान गरिने छ ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७३औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा एवं चेसोक तङनाम महासमारोह २०८३ को अवसरमा सञ्चालित प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।
आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७३औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा एवं चेसोक तङनाम महासमारोह २०८३ को संयुक्त आयोजना तथा युथ अफ माङसेबुङ र वाई.के.एम माङसेबुङको सह–आयोजनामा प्रतियोगिता संचालन हुनेछ ।





