
झापा । दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले चुमेको छ ।
साविक उपविजेत एपीएफले शनिबार दुधे रंगशालामा भएको फाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एपिएफले बाजी मार्यो ।
टाईब्रेकरमा एपिएफका लागि गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले गोल गरे । आर्मीका लागि तुलसा बोहोरा र सुस्मिता चौधरीले गोल गर्दा यशोदा शाही र बिमला थापाको प्रहारलाई एपीएफकी गोलरक्षक एञ्जिला तुम्बापोले बचाइन् ।
निकै प्रतिस्पर्धात्मक खेलमा एपिएफले उपाधि जित्दै ११ लाख रुपैयाँ र ट्रफी प्राप्त ग¥यो भने उपविजेता आर्मीले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुप¥यो ।
खेलको ३१औँ मिनेटमा बिमला चौधरीको गोलमा आर्मीले अग्रता लिएको थियो । तर खेलको ६०औँ मिनेटमा रश्मिकुमारी घिसिङको गोलमा एपीएफले खेललाई बराबरीमा ल्यायो ।
खेलको प्लेयर अफ द म्याच एपीएफकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा घोषित भईन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन् ।
प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी हुँदै १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाइन् । यसैगरी, उत्कृष्ट गोलकिपर एपिएफकी एञ्जिला तुम्बापो सुब्बा, उत्कृष्ट मिडफिल्डर ए्पीएफकी रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर एपीएफकी गीता राना, सर्वाधिक गोलकर्ता एपीएफकी रश्मिकुमारी घिसिङ, उत्कृष्ट प्रशिक्षक एपीएफका जिवेसकुमार पाण्डे र उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए । उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
विजेता तथा उपविजेतालाई प्रमुख अतिथि शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, झापा–११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका अध्यक्ष सन्तोष थोप्रालगायतले पुरस्कार प्रदान गरे ।




