
पाँचथर । वन, भूमि तथा जैविक विविधताको दिगो व्यवस्थापनमा आदिवासी जनजाति समुदायको सहभागिता र नेतृत्वदायी भूमिका अभिवृद्धि गर्ने उद्देश्यले पाँचथरका आठवटै स्थानीय तहमा संस्थागत क्षमता विकास तालिम सञ्चालन भइरहेको छ ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को आयोजनामा ‘पूर्वी पहाडी क्षेत्रमा वन, भूमि तथा जैविक विविधताको दिगो व्यवस्थापनका लागि क्षमता अभिवृद्धि परियोजना’ अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो । ‘आदिवासी जनजाति समुदाय र उनीहरूका जातीय संस्थाहरूको संस्थागत क्षमता विकास कार्यक्रम’ अन्तर्गत प्रत्येक स्थानीय तहमा दुई दिनका दरले तालिम सञ्चालन भइरहेको छ ।
हालसम्म मिक्लाजुङ, कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकामा तालिम सम्पन्न भइसकेको छ । त्यसैगरी, मङ्सिर १४ र १५ गते याङवरक गाउँपालिकाको थर्पु, १६ र १७ गते हिलिहाङ गाउँपालिकाको गोपेटार, १८ र १९ गते फालेलुङ गाउँपालिकाको सिदेन तथा २० र २१ गते फिदिममा तालिम सञ्चालन हुने कार्यक्रम रहेको छ ।
तालिममा नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान जिल्ला अध्यक्ष तथा आदिवासी अभियन्ता रिन्जी शेर्पा र आदिवासी अभियन्ता, अनुसन्धानकर्ता एवं लेखक बसन्ता सम्बाहाम्फेले सहजीकरण गरिरहेका छन् ।
सन् १९९१ मा स्थापित नेपाल आदिवासी जनजाति महासंघ नेपालका आदिवासी जनजातिहरूको राष्ट्रिय छाता संगठन हो । महासंघले नेपाल सरकारबाट सूचीकृत ५९ आदिवासी जनजातिका संस्थाहरूको प्रतिनिधित्व गर्दै उनीहरूको अधिकार, पहिचान, भाषा, संस्कृति तथा प्राकृतिक स्रोतमा पहुँच र सहभागिताका लागि पैरवी गर्दै आएको छ ।
नेपाल सरकार तथा विश्व वातावरणीय सुविधा (GEF) को आर्थिक सहयोग र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO)को प्राविधिक सहयोगमा कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा र इलाम गरी पाँच जिल्लाका ३४ स्थानीय तहमा उक्त परियोजना सञ्चालन भइरहेको छ ।
परियोजनाको मुख्य उद्देश्य वन, भूमि तथा जैविक विविधताको संरक्षण, पारिस्थितिकीय प्रणालीको पुनस्र्थापना, जलवायु उत्थानशीलता तथा स्थानीय समुदायको जीविकोपार्जनका अवसर अभिवृद्धि गर्नु हो । यसै परियोजनाअन्तर्गत महासंघ र FAO बीच भएको सम्झौताअनुसार परियोजना क्षेत्रका आदिवासी जनजाति तथा उनीहरूका जातीय संस्थाहरूको संस्थागत क्षमता सुदृढीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
यसअघि परियोजनाअन्तर्गत पाँच जिल्लाबाट १० जना प्रशिक्षक छनोट गरी गत कात्तिक १६ र १७ गते सुनसरीको तरहरास्थित प्रदेश वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रमा प्रशिक्षक–प्रशिक्षण पुनर्ताजगी तालिम सञ्चालन गरिएको थियो । महासंघले परियोजना क्षेत्रका २८ स्थानमा पालिकास्तरीय क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
यस कार्यक्रमले वन, भूमि तथा जैविक विविधताको संरक्षण तथा दिगो व्यवस्थापनमा आदिवासी जनजातिको परम्परागत ज्ञान, संस्थागत क्षमता, निर्णय प्रक्रियामा सहभागिता र नेतृत्वदायी भूमिका अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।




