महाभाराभित्रको सफोकेसन र लारुम्बाको गलत न्यारेटिभ - Mangsebung News
  • बिहिबार, असार १९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महाभाराभित्रको सफोकेसन र लारुम्बाको गलत न्यारेटिभ

  • सन्जित फलना

(स्विकारोक्ति : यो कुनै समिक्षा हैन् । न त कुनै समिक्षक हुँ)

महाभाराको क्षितिजभरि बाक्लो तुवाँलो लागेको छ । तुँवालोले ढाकेर अँध्यारो भएको छ दिन । आकाश धुम्मिएर घाम लाग्ने अलिकति पनि संकेत छैन् । शितले भिजेर जमिन पूरै चिसो भएको छ । बाहिर हिँडिसक्नु छैन् । शरीर थरथर काँपिरहेछ । खासमा यतिबेला आगो बालेर ताप्नुपर्ने हो । सिरकमा गुम्सिएर सुत्नुपर्ने हो । तर, मेरो हातमा ‘महाभारा’ उपन्यास छ । ‘महाभारा’को न्यानोले आँखा सेकिरहेछु । मन सेकिरहेछु ।

घरमुन्तिरको सिमलको हाँगामा बसेर एकजोडी मैनाचरी सिमलको रातोरातो फूल खाइरहेछन् । बतासको उत्ताउलो झोक्काहरुले आरुफूलको हाँगा हल्लाइरहेछ । सुकेका पतिङ्गरहरु हावामा फटफटाउँदै उडेर भुइँमा खसिरहेछ ।

सायद यतिबेला महाभारामा कतै हिउँ परेको हुँदो हो । डाँडातिर हिउँ परे बस्तिमा जाडो हुन्छ रे ! थेत्ते युःयुहरुले यसरीनै सुनाउनुहुन्थ्यो । यतिबेला थेत्ते युःयु हुनुहुन्न । बाँकी वहाँहरुको यादमात्रै छ । उहाँहरुको यादसँगै पल्टिरहेछ महाभारामा विताएका बाल्यकालको सम्झनाहरु । नोल्टाल्जियाको ब्ल्याक एण्ड व्हाईट एल्बमहरु ।

हेरिरहेछु ती सुदुर सम्झना र ‘महाभारा’ कुन प्यारालल रेखामा हिँडेको छ ? महाभाराको डाँडातिर सानमा ट्रक चलाउने ड्राइभरहरु देखेर ड्राइभर बन्ने रुमानी सपना बोकेको तामाङ केटो डुक्पा पढाईमा कमजोर भएपनि साथी, समाज र सोल्टिनीहरु रिझाउन अब्बल छ । त्यसको निम्ति उसले मौलिक ‘डुक्पा डानस’ लाई हतियार बनाएको छ । डुक्पा डानसको अलावा उसको छेलो हान्ने, भलिबल खेल्ने, पालाम गाउँने, देवारीजस्तो मन्त्र फलाक्ने र कक्षामा उपद्रो गर्ने जस्ता खुबिले पनि काम गरेको छ । उसको यिनै खुबिहरुले फुङ्सेन मेलामा लिम्बुनी सुक्मति उनीप्रति आकर्षित हुन्छिन् । विस्तारै उनीहरु प्रेममा परेर शारीरिक मोहको बन्धनमा समेत पर्छन् । एकातिर सुक्मतिलाई घरजम गर्ने सपना देखाउँने डुक्पा अर्कोतिर ड्राइभर बन्ने सपना पछ्याउँदै एक्कासी मधेस झर्छ । यहीँबाट उसको जिन्दगीमा आकस्मिक उत्तारचढाबहरु आउँछ । अर्थात उ नचाहेरै जनयुद्धको चपेटामा पर्छ ।

डुक्पाले रुमानी सपना पछ्याउँदै मधेस झर्ने क्रममा उसको जिन्दगीमा जोडिने नचाहेको ‘युद्धबाट छुट्कारा पाउन गरेको संघर्षबाटै उपन्यासले गति लिँदै जान्छ । यहीँ बीचमै आउँछन् सुक्मति, ड्राइभर रिक्की, धिमाल, कमरेड पार्थिव, कमरेड सिक्साम्बा, कटक साम्पाङ, मिङ्सो, तान्छोहाङ र थाङसाङजस्ता पात्रहरु, महाभारा डाँडामा आउने कुहिरो र बादलको मेला जस्तो भिन्नाभिन्नै चरित्र र आकार बोकेर ।

जनयुद्धलाई भुइँमान्छेको दृष्टिकोणबाट बुझेको डुक्पा घरी बुर्जुवा शासन अन्त्य गरेर आम गरीबहरुको मुक्तिको उद्घोेष गर्छ त घरी युद्धको निस्सारताबाट विरक्तिएर आफ्नै जिन्दगीको सामान्य दैनिकीमा समाहित हुन खोज्छ । यसबाट उसको दोहोरो मानसिकता प्रष्ट झल्किन्छ । उसले ‘माओबादी’हरुलाई साथ नि दिएझैँ लाग्छ त घरी माओबादीबाट भागेको जस्तो भान नि गराउँछ । यस्तै मनोदशा बीच तैरिरहन्छ उसको मानसिकता, जसरी ओथारो बसिरहन्छ महाभारा डाँडामा कुहिरोहरु ।

उपन्यास अघि बढिरहन्छ । जनयुद्ध अघि बढिरहन्छ । जनयुद्धलाई बोकेर डुक्पा, सिक्साम्बा कटक र पार्थिवहरु अघि बढिरहन्छन् । डुक्पालाई साथ र आश्रय दिने रिक्की, अग्रवाल साहु र धिमालहरु भने बेपत्ता हुँदै जान्छन् । उनीहरुको चरित्र त्यहीँबाट समाप्त हुन्छ । सुक्मतिलाई भने प्रेमले डोर्याइरहन्छ । डुक्पाको माँया र प्रेममा बिरक्तिएर उनी अध्यात्मिक सुख खोज्दै किरात धर्मको केन्द्रबिन्दु लारुम्बा पुग्छिन् । यो उनको पवित्र प्रेमको समर्पण हो, त्याग हो । लारुम्बामा पनि उनलाई पाउन खोज्ने तान्छोहाङ भेटिन्छ । तर सुक्मतिको मनबाट हत्तपत्त डुक्पाको स्थान डगमगिँदैन ।

लारुम्बामा धर्म रक्षाको निम्ति तयार गरिएको ‘कम्ब्राङ’ दस्ता हुन्छन् । ती ‘कम्ब्राङ’ हरुलाई परिचालन गर्न लारुम्बाभित्र धार्मिक दलाल र राजनीतिज्ञ मिङ्सो हुन्छ । उसको इसारामा लारुम्बामा कम्ब्राङले माओवादी आतंक र युद्धको विरुद्ध अर्को युद्ध छेड्छ । यसरी राज्य सत्तासँग युद्ध गरिरहेको माओवादी कम्ब्राङसँगको युद्धमा पनि जोडिन पुग्छ । एकातिर डुक्पा र कम्ब्राङको लिडर तान्छोहाङबीच युद्धगत शत्रुता त बढ्छनै अर्कोतिर सुक्मतिको विषय लिएर प्रेमको शत्रुता नि बढ्छ । तर अन्तिममा तान्छोहाङको उदारताले काम गर्छ । उसले यस्तो अप्ठ्यारो परिस्थितिको अर्थपूर्ण समन्वयन गर्छ ।

अन्तिममा झापाको सैनिक इन्काउटरमा कटक साम्पाङ र कमरेड सिक्साम्बा मर्छन् । न लडेको युद्धबाट न हारेर न जितेर डुक्पा गाउँनै फर्कन्छ । सुक्मति पनि लारुम्बाको धार्मिक राजनीतिबाट आजित भएर गाउँ फर्केकी हुन्छिन् । उनीहरुको फेरिपनि भेट हुन्छ । फेरि पनि प्रेम र शारीरिक मोह हुन्छ । फेरि पनि समझदारिता स्थापित हुन्छ । फेरि पनि डुक्पाले सुक्मतिलाई आलिङ्गनमा कस्छ । चुम्छ र यौनको उन्माद पोखाउँछ । फेरि पनि डुक्पाको अगाडि सुक्मति निरिह बन्छिन् ।

सशस्त्र माओवादी युद्ध सुरु भएकै साल म जन्मे । धार्मिक परिवार भएकोले हाम्रो धार्मिक विश्वासलाई माओवादीहरुले बुर्जुवा मानसिकता देखे । यहीँनेर कुरा मिलेन । उनीहरुको एकोहोरो धम्किले लगभग आठ वर्षको हुँदा हामी लारुम्बा बसाँइ स¥यौं । लारुम्बामा पनि माओवादी आतंक नखेपेको हैन् । तर, धार्मिक चेतना र शान्तिले त्यसलाई परास्त ग¥यो ।

लारुम्बाबाट मैले माओवादी र कम्ब्राङलाई धेरथोर बुझेको छु । मिङ्सोलाइ धेरथोर बुझेको छु । सुक्मति र तान्छोहाङहरुलाई बुझेको छु । महाभारालाई धेरथोर बुझेको छु ।

१. जनयुद्धको नजिक देखिएपनि ठीक विपरित डुक्पामा बुर्जुवा चरित्रको छाप प्रष्टै देखिन्छ । उसमा  sadistic instinct  अर्थात अरुलाई दुःख दिने प्रवृत्ति हुन्छ । उसले सुक्मतिलाई आफ्नो खुशिमा भोग्छ । प्रयोग हावी छ । लिम्बुनी उदारपनको फाइदा उठाउँछ । अर्कोतिर उनी डुक्पाको प्रेमको खातिर भौतारिन्छ र गुरुको अध्यात्मिक शरणमा पुग्छिन् । (हुन त यो निस्वार्थ प्रेमको पराकाष्ठा हो, मूल्य हो ।) तर, लिम्बूहरु उदार हुनुको मतलब कसैकोे चाहना अनुकुल प्रयोग हुनु हैन् । लेखकले सुक्मतिलाई यति निरिह पात्र देखाउँनु गलत देखिन्छ ।

२. लेखक बसन्त बस्नेत, मिङ्सो पात्रको चरित्र निर्माणमा लागि परेरै पछि परेको छ । मिङ्सो सेर्माको लारुम्बाभित्र योगदान त जरुर छ नै तर, उनी ‘साँढेको जुदाईमा बाछोको मिचाइ’ गर्न नि माहिर छन् । उनले लारुम्बाभित्र राजनीति फिटेकै हुन् तर कम्ब्राङ र माओवादी भिडाउने मास्टरमाइण्डको ग्रान्ड डिजाइनर भने उनी कदापी हैनन् । बरु उनले तत्कालीन माओवादी पार्टिको नेता तथा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्वसँग वार्ता गरेर कम्ब्राङ र माओवादीबीच युद्धविराम गर्ने पहल गरेको थियो ।

३. लेखकले लारुम्बाको गलत न्यारेटिभ निर्माण गरेको छ । गलत भ्रम सिर्जना गरेका छन् । हुन त लेखक त्यतिबेला इलाम म.र.ब. क्याम्पसमा विद्यार्थी राजनीतिमा (एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा) सकृय थिए । यसबीच राष्ट्रिय तथा स्थानीय (सटेन्द्र जबेगुद्वारा सम्पादीत) पत्रपत्रिकाबाट प्रकाशित समाचार पढेर उनले लारुम्बाको धेरथोर कुरा सुनेकै हुँदो हो । लारुम्बाको धर्मावलम्बीहरु (भक्तजनहरु) संसार प्रलय हुने भविष्य वाणीले कदापी थातथलो छोडेर गुरुको शरण परेका हैनन् । उनीहरु माओवादी आतंक र धार्मिक चेतनाले लारुम्बा बसाँइ आएका हुन् । अर्को, कुरा बृजहाङजस्तो पुजारीले लारुम्बामा लुकिलुकी खैनीपान गरेको उल्लेख छ जुन एकदमै गलत छ किनकी लारुम्बा अहिंसा र शान्तिको उद्घोस गर्ने शुद्ध शाकाहारी स्थलको रुपमा परिचित थियो । र, त्यसैले मासु, मंस, मादक पदार्थ र नशाजन्य पदार्थको सेवनमा कडा रोक थियो । यसरी बुझ्दा लेखक लारुम्बाप्रति पुर्वाग्रही देखिन्छ । उनले लारुम्बा बिम्ब सुनेको भरमा एकान्त कोठामा ल्यापटपमा औँला चलाउँदै निर्माण गरेको देखिन्छ ।

४. लारुम्बाको कम्ब्राङ दस्ताले माओवादीसँगको युद्धको सुरुवात कदापी गरेको हैन् । बरु माओवादीले माङहिम परिसरको ग्राउण्ड परेड सेन्टरको निम्ति मागेपछि विबाद चुलिएको हो । यो दरबार हत्याकाण्डको एक दुई महिनापछिको कुरो हो । उसो त माओवादीले ०५७ सालतिरै लारुम्बामा धम्की र श्रम शोषणको आक्षेप लाएर निहुँ खोजिरहेको थियो । त्यतिबेला कटक साम्पाङ नभएर कमरेड अणु भन्नेले माओवादीको नेतृत्व गरेको देखिन्छ । उ लगायत उर्मिला तामाङ र टेकबहादुर येक्तेन पनि माओवादीको जल्दोबल्दो कमरेडहरु थिए । त्यतिबेला उनीहरुको सेल्टर इलामको दक्षिणी बेल्ट मैनाचुली भन्ने ठाउँमा थियो । उनीहरुलाई लारुम्बाको गोप्य सूचना भने स्थानीय राजमान राईले दिने तथ्य खुलेको थियो । उनीहरुले पटकपटक लारुम्बामाथी आक्रमणको योजना बनाइएको देखिन्छ । तर, घरी सकेट प्रहार त घरी फायरिङको प्रयास गरेपनि उक्त प्रयास लारुम्बामा निस्तेज भएको थियो । अर्को दस्ता नालीफूङ्वा भने धार्मिक प्रचारप्रसारमा मात्रै सरिक भएको हो । नालीफुङ्वा दस्ता पनि माओवादीसँगको मुठभेदमा लागेको सत्य लेखकको कपोकल्पित विचार हो ।

५. लेखकले कटक साम्पाङको हत्या हुनमा कम्ब्राङहरुको हात रहेको खुलासा गरेको छ । तर, यो सत्य निराधार छ । इलाम चमैताको कटक साम्पाङको नेतृत्वमा महमाईको मोहनसिंह राई, दानाबारीको ख्याम भट्टराई र सुरेस लिङ्देन उर्फ विश्वदिप लिङ्देन र एकजना मधेसी मूलको कमरेडसहित पाँच जनाको टोली हातहतियारसहित गुरुको शान्त आश्रममा छिरेपछि कम्ब्राङहरुले नियन्त्रणमा लिएर शाही सेनालाई बुझाएको हो । त्यसको पाँच छ महिनापछि शाही सेनाहरुले उनलाई मैनाचुलीमा लगेर इन्काउटरमा मारेको हो । यो घटना वि.स. २०५८ माघतिरको कुरा हो । उनको हत्याको कुरा डुक्पाले जानकारी पाउँदा लेखकले लारुम्बाबाट विरक्तिएर सुक्मति र अन्य भक्तजनहरु गाउँ फर्केको कुरो उल्लेख गरेको छ । तर, उनको यो टाइम फ्रेम गलत छ । किनकी लारुम्बाबाट प्राय भक्तजनहरु गाउँ फर्केको २०६४ सालपछि मात्रै हो जबकी कटक मारिएको ०५८ को अन्तिम तिरको कुरो हो । यसरी लेखकद्वारा कटक साम्पाङको गलत भ्रम फैलाइएको छ ।

६. लेखकले सुक्मतीको माध्यमबाट लिम्बू चेलिहरुलाई एकदमै निरीह पात्रको रुपमा देखाएको छ । उनी डुक्पाको रुचि र खुशीमा खुम्चिने पात्रको रुपमा चित्रित भएकी छिन् । जुन लिम्बू समुदायको संस्कृति विपरित छ । अर्को कुरा, सुक्मतिको भूमिकालाई संकुचित बनाइएको छ । उनको पर्सपेक्टिभबाट नि युद्ध र प्रेमलाइ हेरिनु पथ्र्यो ।

७. सुरुमा कृश्चियन धर्मको अनुसरण गरेकी मेरिना राई बाबुको हत्यापछि माओवादी युद्धमा होमिएकी छिन् । उनी युद्धकोपछि सर्वहारा चेतना भन्दा नि प्रतिसोधको भावनाले लागेकी हुन् । उनको माध्यमबाट लेखकले कृश्चियन धर्मलाई निस्सार देखाएको छ । जसरी सुक्मतिको लारुम्बा र गुरुप्रतिको वितृष्णाको माध्यमबाट किरात धर्मलाई निस्सार तुल्याएको छ ।

८. न त माओवादीको पक्ष न त सेनाको, लेखक राजनैतिक विचारधारामा तटस्थ उभिएपनि उनले धार्मिक रुपमा नजानिँदो तरिकाले कृश्चियन, किरात र बौद्ध धर्म भित्रको निस्सारतालाई देखाएर घुमाउरो तरिकाले हिन्दु धर्मलाई सही देखाउँन प्रयास गरेको हो कि भन्ने आशंका उत्पन्न हुन्छ ।

९. लारुम्बा चेप्टरमा गुरुको भन्दा बढी मिङ्सोको चरित्र चित्रणले लारुम्बाको खास सत्य र यथार्थता छाँयामा परेको छ । यसमा लेखकको स्थलगत अध्ययनको कमि देखिन्छ ।

१०. महाभाराको जुन ऐतिहासिकता र सांस्कृतिकता छ त्यसमा महागुरु फाल्गुनन्दको ‘सत्य धर्म मुचुल्का’ (सत्य धर्म मुचुल्का अन्तर्गतको अहिंसा, शान्ति, महिला शिक्षा, सोतरित अन्त्य, शाकाहारी भोजनको कुरा उल्लेखित) र लिम्बुवानको राजनैतिक मुद्दाले ठूलो प्रभाव पारेको छ । माओवादी बिद्रोहले लिम्बुवानमा धेरथोर लिम्बुवानको मुद्दा नि उठाएको थियो । तर, कमरेड सिक्साम्बाजस्तो लिम्बू पात्रले लिम्बुवानको विषयमा अलिकति पनि उद्घोष गरेको पाइन्न । यसबाट लेखकले लिम्बुवानबासी माओवादीहरुको मानसिकताबाट लिम्बुवान मुद्दालाई अलग राख्न खोजेर लिम्बुवानको प्रसंगलाई छाँयामा पार्न खोजिएको छ ।

११. आन्चलिकता, भाषिक वैशिष्ठता र संवादले महाभाराको ज्यान भरेको छ । हुन त लिम्बू लवज र डायलेक्टमा कथाकथित व्याकरणीय शुद्धताको कुनै गुन्जायस छैन् । (पर्वते नेपालीजस्तो शुद्ध बोल्नुपर्छ भन्ने कुनै मत छैन) तर, लिम्बू गाउँबुढाहरु, बृजहाङ, सुक्मति जस्ता भुँइ मान्छेहरु साथै कमरेड सिक्साम्बा, मिङ्सो र थाङ्साङजस्ता शिक्षित पात्रहरुको संवाद र भाषाको लवज एक रसको छ । उनीहरु सबैले (तिमी गर्छस, तिमी खान्छस) जस्ता वाक्यहरु बोलेको पाइन्छ । यसले लिम्बुहरुको चेतनाको विविधतालाई इन्कार गर्दै लिम्बूहरुमा जातिगत रुपमानै भाषिक अशुद्धता हुन्छ भन्ने देखाउँछ । जुन कदापी स्विकारयोग्य छैन् ।

युद्धको आफ्नै चरित्र र बिशेषता हुन्छ । लक्ष र उपलब्धी हुन्छ । युद्धलाई हेर्ने आ–आफ्नै दृष्टिकोण हुन्छ । उपन्यासमा लेखकको डुक्पाको साधारण आँखाबाट युद्धलाई हेरेको छ ।

सोच्छु, माओवादी जनयुद्धले कसकसलाई के दियो ? डुक्पालाई ? सुक्मतिलाई ? कटक साम्पाङ्लाई ? या सिक्साम्बालाई ?

कसले जित्यो ? कसले हार्यो ? शाही सेनाले ? राज्यले ? जनताहरुले ? या स्वयं माओवादी पार्टीले ?

तर, युद्ध त भयो । धेरै चाहीँ डुक्पा, सुक्मति र मेरिना जस्ता भुइँमान्छेहरुले गुमाए । आखिर यो हुनुनै थियो । सही भए नि गलत भए नि । यो इतिहासलाई स्विकारेर अघि बढ्नुको विकल्प देखिएन । र छैन् पनि । यसो भन्दैमा कटक साम्पाङ र कमरेड सिक्साम्बाहरुको बलिदानलाई त भुल्न मिलेन ? उनीहरुको हत्या गरिएको शरीरले मुक्ति त पाउँदैन ? ठाउँठाउँमा हत्या गरिएको निर्दोस मानिस, विस्थापित बनाइएका परिवार, ध्वस्त गरिएको बिद्यालय, पाटी पौवा, अस्पताल र झुपडीहरुको क्षतिपूर्ति कसले बेहोर्ने ? यसको छिनोफानो कसले गर्ने ?

उपन्यासले बहस गर्ने प्रशस्त स्पेस प्रदान गरेको छ । महाभारा डाँडामा छपक्कै कुहिरो लागेको छ । महाभाराको बीचबाट पान्थर र चारखोलको सिमाना कोरेर धुलौटे सडक हिँडिरहेको छ । चारखोले बादल पान्थर छिर्न सक्दैन । पान्थरे बादल चारखोल छिर्न सक्दैन । यस्तो हुनुमा उहिल्यैको सत्ते वाचाले काम गरेको छ । तर, जे होस चारखोलको डुक्पा र पान्थरको सुक्मतिको भने भेट भइसकेको छ । उनीहरुको प्रेम सफल भएकै बुझ्नु पर्दछ । यहँीँ हो महाभारा र महाभाराको विशेषता ।

फुङ्सेनमा सुस्तरी हावा चलिरहेको छ । हावाको झोक्काहरुले सेल्लरी फूल, झारपात र मसिना बुट्यानहरु हल्लाइरहेको छ । बोट विरुवा र बतासको लेकाली वास्ना हावामा फैलिरहेको छ । कतै नाँगीहरुमा गोठालाले मधुर बाँसुरी बजाइरहेछ । यो उधौंलीको अन्तिम दिनहरुमा जिन्दगीले सायद काँचूली फेर्न खोजिरहेको हुँदो हो ।

सायद, यतिबेला आफ्नै मनलाइ सान्त्वना दिँदै डुक्पाले भनिरहँदो हो– ‘ओक्के छ त’

समयको फन्कोमा बेरिँदै बेरिँदै
खै कसरी हो
महाभाराकै काखमा आइपुग्यो डुक्पा

जिन्दगी भन्नू
नाथे एकबैँस उधौली उभौली
जो नागबेली बाटोसँगै डिस्सेम ट्रकमा
झरिरह्यो मधेस
घरी उक्लिरह्यो पहाड

पञ्चमीमा पाँच फन्को
सप्तमीमा सात फन्को
दशमीमा दश फन्को

सोचेकै हो उसले

चारखोले बादल माथि पुग्यो भने
उसको माया धेरै
पाँचथरे बादल माथि पुग्यो भने
सुक्मतीको माया धेरै

तर कसरी धमिलियो उसको सपना
चाहँदै नचाहेको युद्धको छिटाहरुले ?

संगालेर मनमा असिम प्रेम
कसरी मेटि हिँड्यो उसले सन्त्रासको डोब ?
भिरेर सपनाहरुको धिपधिपे लाल्टिन
कसरी भागि हिँड्यो उ परिबन्धको बाटो ?

ए पाखैमा फुल्यो सेल्लरी
कस्तो पिर हो यो मनभरी ?

ए डाँडैको माथी फुङ्सेन
बाँच्न त यसरी मन थेन

सम्झि बस्छ उ

मेलाभरी गाउँने पालाम
पुरुषार्थ देखाउने पक्लुङ
लट्याउने डुक्पा डानस

सम्झिबस्छ उ
इतिहास बोक्ने गाउँबुढोहरु

दुःख चिनाउने बाबुछिरी
खुसी चिनाउने रिक्की
परिवर्तन चिनाउने कटक
र समर्पण चिनाउने तान्छोहाङहरु

बुझ्छ उ
यो इतिहास
उसले ठीक भन्दैमा ठीक हुने
र बेठीक भन्दैमा बेठीक हुने
कदापी हैन
बरु त्यसलाई स्विकार्दै अघि बढ्नु
खासमा जिन्दगी रैछ

आखिर बचाउने हामीलाई दुखैले रैछ
सिकाउने हामीलाई समयैले रैछ

फुस्रो फुस्रो नाँगी बोकेर
उभिरहेछ फुङ्सेन
जसरी उजाड उजाड मन भएर नि
बाँचिरहेछ उसको मन

च्याम …. ब्रुम…. ब्रुम …. ब्रुम
च्यान ….. ब्रुम ….च्याम ।

इलाम

 

सम्बन्धित खवर