सरकार विरोधी प्रदर्शनहरु बढेपछि श्रीलंकामा फेरि संकटकाल - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरकार विरोधी प्रदर्शनहरु बढेपछि श्रीलंकामा फेरि संकटकाल

एजेन्सी । श्रीलंकामा सरकार विरोधी गतिविधि बढेपछि संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति गोटाबाय राजापाक्षेले ५ सातापछि फेरि संकटकाल घोषणा गरेका हुन् ।

चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा सरकार विरोधी प्रदर्शनहरु बढेपछि शुक्रबार मध्यरातबाट लागू हुनेगरी संकटकाल घोषणा भएको हो ।

महिना दिनयता श्रीलंकामा विरोधका कार्यक्रम जारी रहँदा हिंसात्मक घटना पनि भएको बिविसी हिन्दीले जनाएको छ ।

प्रदर्शन बढ्दै जाँदा राजापाक्षेले संकटकालको घोषणा गरेका हुन् । पछिल्लो कदम सार्वजनिक व्यवस्था सुनिश्चित गर्न चालिएको उनका प्रवक्ताले बताएका छन् ।

देशको अस्तित्वका रक्षा, सार्वजनिक जीवनको लागि अत्यावश्यक वस्तु आपूर्ति र सेवा सुचारु राख्न र जनतको सुरक्षाका लागि संकटकाल घोषणा गरिएको त्यहाँको प्रेसिडेन्सियल मिडिया युनिटले उल्लेख गरेको छ ।

आर्थिक संकटबाट जुधिरहेको श्रीलंकामा शुक्रबार पनि विभिन्न ट्रेड युनियनले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए । श्रीलंकामा देशभर राजापाक्षे सरकारको राजीनामा माग गर्दै प्रदर्शन हुँदै आएका छन् ।

स्वतन्त्रतापछि श्रीलंका सबैभन्दा ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ । कोरोना संक्रमणका कारण अर्थतन्त्रको बलियो आधारका रूपमा रहेको पर्यटन व्यावसाय खस्किएसँगै श्रीलंकाली अर्थतन्त्र ओरालो लागेको हो ।

खाद्यान्न र इन्धनको चरम अभाव छ भने दैनिक उपभोग्य वस्तुको भाउ अकासिएको छ । हाल लोडसेडिङ बढेको छ भने औषधिको अभावले २ करोड २० लाख जनसंख्या भएको श्रीलंका अस्तव्यस्त बन्दै गएको छ ।

 

सम्बन्धित खवर