एमालेले बनायो प्रदेश १ को नामाकरण बारे छलफल गर्न कार्यदल - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एमालेले बनायो प्रदेश १ को नामाकरण बारे छलफल गर्न कार्यदल

दमक । प्रदेश नम्बर १ को नामाकरणको विषयमा छलफल गर्न प्रतिपक्षी दल नेकपा एमालेले कार्यदल गठन गरेको छ ।

एमालेले प्रदेश नामाकरण बारे छलफल गर्न पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीको नेतृत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलमा एमालेका पूव प्रदेशमन्त्रीहरु जीवन घिमिरे, जगदिश कुसियात, उषाकला राई र प्रदेश सभा सदस्य अर्जुन राई सदस्य छन् ।

एमालेको बिहीबार बसेको संसदीय दलको बैठकले प्रदेशको नामाकरण बारे आवश्यक छलफल गर्न कार्यदल गठन गरिएको कार्यदल संयोजक कार्कीले जानकारी दिएका छन् ।

कार्कीले ५ वर्षे कार्यकालभित्र सबै दलका बीचमा कुनै पनि हालतमा प्रदेशको नाम राख्नुपर्छ भनेर छलफल चलेको भए तापनि निचोडमा पुग्न नसकिएको स्वीकारे । उनले नामाकरणको विषय सबै पार्टी र सबै सांसदको जिम्माको कुरा भएको जिकिर गरे ।

यसअघि प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि प्रदेशको नामाकरणको विषय टुंग्याउन एमालेकै नेतृत्वमा संयन्त्र निर्माणको प्रस्ताव गरेका थिए ।

प्रदेश नम्बर १ प्रदेशसभाको कार्यकाल सकिन अब केही महिनामात्रै बाँकी छ । ५ वर्षमा साढे ३ वर्ष सरकार सञ्चालन गरेको एमालेले नामाकरणको विषय ठोस ढंगले अगाडि बढाउन सकेको थिएन ।

प्रदेश नम्बर १ को नामाकरण बारे विभिन्न दलहरुले अलग अलग नामाकरणको प्रस्ताव ल्याउने गरेका छन् । जसमध्ये कोशी, सगरमाथा, किरात, किरात–लिम्बुवान, किरात–लिम्बुवान–शेर्पालुङ–मधेस प्रदेश, विराट प्रदेश जस्ता नाम चर्चामा छन् ।

९० जना सांसद रहेको प्रदेश १ मा एमाले ठूलो दल हो । एमालेले निष्क्रिय रहे प्रदेशको नाम राख्न बहुमत पुग्दैन । प्रदेश सभामा नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादी पार्टीका १०, जसपाका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ जना सांसद छन् । एमाले र राप्रपाबाहेक अरु दल सरकारमा छन् ।

सम्बन्धित खवर