रोजगारका क्षेत्रहरु पहिचान गरेर अघि बढनु पर्छ – ढकाल - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रोजगारका क्षेत्रहरु पहिचान गरेर अघि बढनु पर्छ – ढकाल

दमक । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डिराज ढकालले अहिले पनि नेपालमा दक्ष जनशक्ति नभएका कारण समस्या भइरहेको बताए ।

विहीवार दमक उद्योग बाणिज्य संघको आयोजना र दमक नगरपालिकाको सहयोगमा भएको पहिलो रोजगार मेलाको उदघाटन कार्यक्रममा ढकालले दक्ष जनशक्ति उत्पादन गर्न सके स्वदेशमा रोजगार सिर्जना गर्न सकिने बताए ।

‘रोजगारका क्षेत्रहरु पहिचान गरेर अघि बढनु पर्छ’ ढकालले भने, ‘रोजगारका सम्भावनाहरु प्रशस्त छन, तर अहिले पनि नेपालमा उत्पादनको क्षेत्रमा काम गर्नसक्ने दक्ष जनशक्ति विदेश जानुपर्ने बाध्यता रहेको छ ।’ उनले भने, ‘रोजगारी अवस्था निर्माण गर्न देशका तीनवटै तहको सरकार र नीजि क्षेत्रले साझेदार गर्न सके स्वदेशमा प्रशस्त संभावना रहेको छ ।’

ढकालले यहाँ काम गर्नसक्ने वातावरण सिर्जना भईनसकेको बताए । पछिल्लो समय भुकम्प, कोरोनालगायतका कारणले अर्थतन्त्रमा ठूलो असर परेको जनाउँदै उनले कृषि उत्पादनका कारण श्रीलंकाजस्तो नेपालको अवस्था आउने खतरा नरहेको बताए ।

ढकालले भने, –‘धेरै अप्ठेरामा समेत नेपालको अर्थतन्त्र टिकेकाले अब पनि टिक्छ भन्ने विश्वास छ ’

सबै क्षेत्रले उत्पादन र रोजगारीमुखि कार्यक्रमहरु बनाएर अघि बढ्नु अहिलेको आवश्यकता भएको उनले सुनाए । यस किसिमको रोजगार मेला सबैतिर आवश्यक रहेको उनको धारणा छ ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापा र उप्रमुख रेगिना भट्टराईले पहिलो पटक दमकमा यस प्रकारको रोजगार मेलाको आयोजनाले रोजगार सिर्जना गर्न सहयोग पुग्ने भन्दै यस्तो कार्यक्रम निरन्तरता दिने बताए ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार रोजगारदाता, रोजगारमूलक सीप सिकाउने प्राविधिक शिक्षालय तथा क्याम्पस, स्वरोजगार बनेका समूहको स्टलहरु राखिएका छन् ।

एकदिने रोजगार मेलामा आफ्नो दक्षता र सीपसहित बेरोजगारले फारम भरेको उनको भनाई छ । कार्यक्रममा रोजगार दाता तथा रोजगारी अवसर खोज्ने श्रमिकहरुवीच रोजगारीका विभिन्न अवसरका बारेमा अन्तरकृया समेत गरिएको थियो ।

सम्बन्धित खवर