लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिद्वारा आन्दोलनको घोषणा : साउन ५ गते विराटनगरमा बृहत जनप्रदर्शन - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिद्वारा आन्दोलनको घोषणा : साउन ५ गते विराटनगरमा बृहत जनप्रदर्शन

विराटनगर / प्रदेश १ को नाम ‘लिम्बुवान, किराँत प्रदेश’ हुनुपर्ने भन्दै लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ ।

आइतबार सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै प्रदेश नम्बर १ को नाम पहिचानको आधारमा ‘लिम्बुवान, किराँत प्रदेश’ हुनुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराक, माओवादी सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चाका उपाध्यक्ष प्रेम मिभक, जसपाका केन्द्रीय सदस्य तथा लिम्बुवान उपाध्यक्ष जेन्टल लावती, मुख्य सचिव केदार धिमाल, लिम्बुवान प्रान्तका महासचिव दिलकुमार लावती, लगायत संयुक्त संघर्ष समितिका विभिन्न संगठनहरुका नेताहरुको सहभागिता रहेको थियो ।

कियाचू प्रदेश अध्यक्ष मधराज केरुङ्को अध्यक्षतामा भएको कार्यक्रममा राजनैतिक दलका प्रमुखहरु, संघसंस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन कियाचु प्रदेश १ का मुख्य सचिव नरेन्द्र केरुङले गरेका थिए ।

यसैगरि लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ को नाम ‘लिम्बुवान, किराँत प्रदेश’ हुनुपर्ने माग राख्दै प्रदेश १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

६ प्रदेशले नाम र राजधानी टुंगो लगाएसँगै दबाबमा रहेको प्रदेश १ सरकारलाई पहिचानको आधारमा नामकरण गर्न भन्दै संयुक्त संघर्ष समितिले सोमबार ज्ञापनपत्र बुझाएको हो ।

संयुक्त संघर्ष समितिले सोमबार मुख्यमन्त्रीको कार्यालय, संसदीय दलका नेता, पार्टी प्रमुख, प्रदेश प्रमुखलगायतलाई ज्ञापनपत्र बुझाएका छ ।

ज्ञापनपत्रमा प्रदेश २ को नाम पहिचानको आधारमा मधेश प्रदेश राखिएको स्मरण गराउँदै नेकपा एमाले, नेपाली काँग्रेसलगायत दलहरू पहिचान बिनाको नामकरण गर्न तयार रहेकोप्रति समितिले ध्यानाकर्षण गराएको छ ।

संयुक्त संघर्ष समितिले ०६२÷०६३ को जनआन्दोलन, लिम्बुवान आन्दोलन, आदिवासी जनजाति आन्दोलन, मधेश आन्दोलन, दलित पिछडावर्ग आन्दोलनहरूको जनादेश अनुसार ऐतिहासिक पृष्ठभूमि एवम् पहिचानको आधारमा ‘लिम्बुवान, किराँत प्रदेश’ नामकरण गर्नुपर्नेमा जोड दिएको छ ।

संविधानसभाको विषयगत समिति र राज्य पुनःसंरचना उच्चस्तरीय आयोगबाट सिफारिश भएबमोजिम पहिचानमा आधारित प्रदेशको नाम सुनिश्चित गर्न संघर्ष समितिले आन्दोलन जारी राख्ने जनाएको छ ।

ज्ञापनपत्रमा नेकपा माओवादी केन्द्र आबद्ध लिम्बुवान राष्ट्रिय मोर्चा, जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्चलगायत ३२ पहिचानवादी संघ संस्थाको समर्थन रहेको उल्लेख गरिएको छ ।

आन्दोलनका कार्यक्रम अन्तरगत असार २८, २९ र ३० गते किराँत याक्थुङ चुम्लुङको जिल्ला कार्य समितिको समन्वयमा जिल्लास्तरीय समिति गठन गर्ने, ३२ गते प्रदेशका सबै जिल्लामा कोणसभा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

साउन ५ गते प्रदेश १ को राजधानी विराटनगरमा बृहत जनप्रदर्शन गर्ने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक)ले जानकारी दिए ।

सम्बन्धित खवर