माङहाङ राजाले मानव सभ्यता बचाए : लछामी सेर्मा - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङहाङ राजाले मानव सभ्यता बचाए : लछामी सेर्मा

  • आन्छुमे नसान

दमक साउन महिनामा भटमास, मकै, बोडी पाकेकै समयमा अनिकाल भगाएर सहकाल बोलाएर मनाईने पर्वनै सिसेक्पा तङनाम(साउने संक्राती) रहेको याक्थुङ प्रज्ञा प्रतिष्ठानका उपकुलपति लछामी सेर्मा पापोले बताए ।

सिसेक्पा तङनामको अवसरमा आइतबार झापाको दमकमा लिम्बू भाषा साहित्य पतिष्ठान दमक झापाद्वारा आयोजित भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमा प्रमुख अतिथि समेत रहेका पापोले सो कुरा बताएका हुन् ।

‘माङहाङ राजाले मानव सभ्यता वचाए’ पापोले भने, ‘लोक कथाका अनुसार आदिम कालमा माङहाङ राजाले आफ्ना जनताहरु अनिकाल र दैविक प्रकोपमा परेका बेला सहासी कदम चालेर अनिकाल तथा दैविक प्रकोपबाट बचाएका थिए ।’ उनले भने, ‘सिसेक्पा तङनाम तिनै माङहाङ नामक एक पूर्खा, राजा वा खाद्य बैज्ञानिक र उनको जनतामा आइपरेको दैवीक प्रकोप तथा सामना गर्नु परेको कारुणिक कहानीसँग जोडेर मानिने गरिन्छ ।’

उपकुलपति पापोले सिसेक्पा तङनाम असारे हिलो मैलोबाट लाग्ने रोग लुतो हटाउने पर्वको रुपमा समेत मानिने चलन रहेको बताए ।

सिसेक्पा तङ्नामको दिन बिहानै खेतबारीमा गई नयाँ पाकेका अन्न, फलफूल र पातहरू संकलन गरी ल्याइन्छ र दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरी घरको मुल ढोकामाथि माला झुण्ड्याएर टाँगिने चलन रहि आएको छ । जस्लाई साक्च्योङ भनिन्छ ।

यसैगरि साँझ आआफ्नो घरमा जे जस्तो भएको अन्न, फलफूल र अन्य परिकारहरू अरु दिनभन्दा अलि सबेरै बनाई तागेरा निवाभुमाङलाई चढाई शक्ति मागेर खाना खाई आआफ्नो घर वा समूह बनाई घरघरबाट थाल र नाङ्लो ठटाउँदै नाक्नाम पेगो, हिङ्नाम् त्येओ (अनिकाल जाऊ सहकाल आऊ) भन्दै अगुल्टो राँको सहित खेदै परसम्म पु¥याइन्छ र अगुल्टो राँको थुपारेर बाटो छेकिन्छ, यसलाई साक्लाम्धेक भनिन्छ । यसको अर्थ अनिकाल फेरि नआओस् भन्ने मान्यता रहेको पाइन्छ ।

याक्थुङ मुन्जईत चोक सयङ केन्द्रीय महासचिव/निर्देशक/रंगकर्मी बिक्रम वनेम फागोले, याक्थुङ लेखक संघका केन्द्रीय कोषाध्यक्ष साङसेन पन्धाकले शुभकामना मन्तव्य राखेको कार्यक्रममा कियाचु लिम्बुवान प्रदेश समिति सदस्य कविन्द्र सेर्मा, कियाचु झापा पार्षद सदस्य गुमान सिं सङबाङफे, लिम्बू बिद्यर्थी मञ्चका केन्द्रीय सचिव प्रविन सेलिङ सेन्दो, रंगकर्मी तथा याक्थुङ मुन्जईत चोक सयङ प्रदेश १ सचिव चेतन आङथुपो, माङसेबुङ पव्लिकेशन एण्ड मिडिया प्रा.लि. का प्रवन्ध निर्देशक निवाहाङ थेबे, कलाकार मनकुमार योङहाङ, सविरन राई  रचना लावती, समाजसेवी मिलन लाओती, विष्णु केरुङ लगायतको उपस्थिति रहेको थियो ।

लिम्बू भाषा साहित्य पतिष्ठान दमकका कुलपति सेसेमी से नाल्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव मुसाहाङ अम्याङसाले सञ्चालन गरेका थिए ।

 

सम्बन्धित खवर