आजबाट पातलो प्लाष्टिक झोला प्रतिबन्ध - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आजबाट पातलो प्लाष्टिक झोला प्रतिबन्ध

दमक । सरकारले ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला आज बुधबार (भदौ १) बाट लागू हुनेगरी प्रयोगमा प्रतिबन्ध घोषणा गरेको छ ।

प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्यूनीकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइएको वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा वातावरणीय संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको नेपाल सरकारको प्लाष्टिकका झोला प्रतिवन्धको नीति तथा निर्णयलाई आगामी दिनमा थप कडाईका साथ लागू गर्ने तयारी रहेको भन्दै ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोग नगर्न नगराउन भनिएको छ ।

भदौ १ बाट ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगको अवस्थालाई कडाईका साथ अनुगमन गरिने र अनुगमनका समयमा नेपाल सरकारको निर्णय विपरितका कार्य भएको पाईएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारवाही हुने विभागले भनेको छ ।

प्लाष्टिकका झोला प्रतिवन्धको सरकारको निर्णयको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रिपरिषद्को गत माघको निर्णयबाट प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत भई कार्यान्वयनमा रहेकोसमेत विभागले स्पष्ट पारेको छ ।

सरकारले यसअघि २०७८ असोज १९ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो ।

तर, कोभिड संक्रमणका कारण अनुगमन हुन नसक्दा पुनः प्लाष्टिकको उत्पादन र प्रयोग बढेको विभागको सूचनामा उल्लेख छ ।

सम्बन्धित खवर