धाननाच र पाःलाम उत्पति आख्यान - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धाननाच र पाःलाम उत्पति आख्यान

  • लछामी सेर्मा पापोहाङ

पृष्ठभूमिः

धाननाच किरात याक्थुङ/लिम्बू जातिको अत्यन्तै लोकप्रिय नाच हो । धान नाच्न उभिनु पूर्व ख्यालीबाट साइनु केलाएर साइनु नलाग्ने पक्का भएपछि मात्र धाननाच सुरु हुन्छ । धाननाच नृत्य अत्यन्तै मर्यादित र अनुसासित हुन्छ । अघि पूर्खाहरु तीन दिन तीन रात देखि सात दिन सात रातसम्म धान नाच्थे । ख्याली भन्दा र पाःलाम गाउँदा अक्षर गन्ति मिल्नुको साथै अन्त्यानु प्रास पनि ठ्याक्क–ठ्याक्क आपसेआप मिलेर आउँछ ।

त्यसरी नै गति, यति स्वर आरोह–अवरोह पनि आपसेआप मिलेर आउँछ । ख्याली र पाःलाम अत्यन्तै शुललित हुन्छ, जति सुन्यो उत्ति सुनौ–सुनौ लाग्छ । ख्याली भन्दा होस् वा पाःलाम गाउँदा होस् धाराप्रवाह भन्ने, गाउँने गरिन्छ । ख्याली भन्ने र पाःलाम गाउँने जनलाई आँशु कवि भन्दा फरक पर्दैन ।

विशेष गरेर वर्ष दिनमा लाग्ने मेला हुँदो र विवाह, समारोहमा धान नाच्ने परम्परा छ । मृत्यु संस्कार फःजेमा धान नाच्न बर्जित मानिएको छ । मृतक घर, परिवार, आफन्तजन शोक सन्तप्पमा परेको र मृत्युवरण व्यक्तिहरुलाई भर्खरै मात्र तार तरण गरिएको अवस्थामा रहेको हुँदा बर्जित मानिएको हुन सक्छ ।

विषय प्रवेश :

धाननाचको बारेमा अनेक श्रति र आख्यानहरु भेटिएका छन् । लोकजन श्रुति तथा आख्यान अनुसार धाननाच नृत्य खाद्य बस्तु धानसँग सम्बन्धित रहेको पाइन्छ । सृष्टिको अनवरत उपभोगको क्रममा मानवीय नौलो सभ्यताले नौलो चरणहरु उक्लिन्दै आउँछ । जंगली र यायावर जीवनोपभोगको पराकाष्टा नाघ्दै व्यवस्थित बसोबास र खाद्यन्न पायनको मोडमा जाने क्रमकै अवस्थामा धाननाच पार्दुभाव भएको अनुमान गर्न सकिन्छ ।

व्यवस्थित बसोबास बन्दै जाने क्रममा चरा, गौथलीले गुँड बनाएर बसेको देखेपछि र ङेक्ङा (तितेमाछा) पनि कुरमा जम्मा भई बसेको देखेपछि सावायेहाङ शाखा सन्तानहरु हामी पनि घर बनौं भनि सर सल्लाह गरे । सल्लाह अनुसार लाभरा सर र नाम्मरासर भन्ने दुई दाजुभाई मिलि घर बनाउन तम्सिए । सिन्युक मुदेन काठ ल्याउँछन अडिदैन । तेमने वालङ् काठ ल्याउँछन् अडिन्दैन । साचिकुलुम काठ ल्याउँछन् अडिन्दैन । घर बन्नै सकेन । चेली लुप्ली वादङ्नाले माइती ‘‘माइती महाशयहरु !! खेक्युनापु (चिमेचरी) को पुच्छर जस्तो भएको काठ ल्याउनु होस न ।’’ भनेकीले त्यस्तै काठ ल्याएर गाडेपछि अडियो र घर निर्माण भयो । बल्लबल्ल बनाएको घर घुन लागेर ध्वस्त भयो ।

उनीहरुले तागेरा निङ्वाभू माङलाई सम्झे । सपनामा तागेरा निङ्वाभू माङ्ले पुनः नयाँ घर निर्माण गरी हाङ सिल्लाङ अक्वामाङ स्थापना गरी थकथाम्मा नाच्न लाए । यसो गरेपछि घरमा घुन लागेन र दिगो बन्यो । यसरी प्रथमबार स्थापना भएको घरलाई ‘इमेलुङ् सिङ्घिम’ नामाकरण दिए । इमेतलुुङ् सिङिघम शब्दको शाब्दिक अर्थ ढुङ्गा र काठको घर भन्ने हुन्छ । प्रस्तुत लोक आख्यानको आशय अनुसार बनाएबाट सुरक्षित हुन काठको प्रयोग सहित ढुङ्गाको गारोले घर बनाई ग्रुप–ग्रुप बसोबास शुरुवात गरेको बुझिन्छ । यसरी सामाजिकरण हुने क्रममा क्रमबद्ध समाज–समुदाय स्थापना भई राज्य–राष्ट्र/देश बन्न पुग्यो ।

झुप्रा–झुप्री घर बन्न थालेपछि कै कुरा हुन सक्छ । कृषि युग सुरु भइसकेको हुन सक्छ । सम्भवत कागनी, जुनेलो आदि इत्यादि अनाज छरी खाने रोपी खाने परम्परा बसी सकेको हुनसक्छ । यसै समयको सेरोफेरोमा काजीमान माबोको श्रु्ति सञ्चय अनुसार, ‘‘इक थुकना र वासाङवो’’ नाम गरेका चेली–माइती जंगलमा दाउरा खोज्न गए । उनीहरुले सिङ्जी (झिंजा) दाउरा खोजेर ल्याए । त्यसरी सिङजी (झिंजा) दाउरा उठाएर ल्याउँदा फेल्लेरे फेम्पु फिरिक्वा (गुल्फे चरा) को ओथारो पनि टाँसिएर आयो । आँगनमा सिङ्जी (झिंजा) दाउरामा झेल्लेरे फेम्पु फिरिक्वा (गुल्फे चरा)को ओथारो देखेपछि चेली माइतीले ओथारो उठाएर ह¥यो ।

ओथारोमा ताप्मा याः (घैया धान) को बाला भेटाए । त्यो धानको बालामा २/४ दाना अडिएको थियो । चराले गुँड लाएको बालाको दाना अवश्य चराले खान्छ चराले खाएको मानिसले खाँदा पनि हुन्छ भन्ने सम्झेर एक थुकुना र वासाङ्गे चेली माइतीले घर छेऊमा त्यो बालाको २/४ दाना धान रोपी दिएपछि त्यो धान लटरम्म फल्यो । उनीहरुले बीऊ फैलाए ।

एक् थुकुना र वासाङ्गेहरुले २/४ दाना बीऊ रोपेर फलाएको/फैलाएको धान फलेर फेम्पु फिरिकवा (गुल्फे चरो) ले खाई दियो । गुल्फे चरोले धान खाएपछि उस्को घुचुकमा गलगाड निस्क्यो । त्यसरी चराको घुचुकमा गलगाँड आएको देखेर एकथुकना र वासाङगेहरुलाई धान खान डर लागि रहेको थियो । यसरी डर मानिरहेको अवस्थामा सपनामा तागेरा निङ्वाभू माङले चासोत् (नेवाङ्गी) पूजा–पाठ/अनुष्ठान गरेर खाएमा केही हुँदैन भनेकोले एकथुकना र वासाङ्गेहरुले चासोत (नेवाङ्गी) अनुष्ठान गरे र खाए ।

तथापि मूलतमा एकथुकना र वासाङगे चेली माइतीले प्रथमबाट चासोत् (नेवाङ्गी) अनुष्ठान गरेर सावायेहाङ दर सन्तान सोसोगेन लिलिम किरात याक्थुङ कूल घरानामा चासोत् (नेवाङ्गी) गर्ने परम्परा बसाए । चासोत् (नेवाङगी) गरको प्रसाद वल्लो घर–पल्लो घर छरछिमेकीलाई पनि बाँडे । कालान्तरमा वल्लोघर–पल्लोघर, छरछिमेकी गाउँ बस्ती, समुदायका सबैले धान रोप्न थाले । थोरै मात्र हुँदासम्म सिकुवामा झाँट्ने–माड्ने गर्दथे । खेती बढ्दै गएपछि आँगनमा लिपेर २/४ जना २/४ जना उभिएर झाँट्न–माड्न थाले । अझ धेरै खेती बढ्दै गएपछि खेतबारीमै ठूला–ठूला खला लिपेर निकै धेरै समूह उभेर हात–हात पक्रेर पराल माड्न–झाट्न सुरु गरे । फेल्लेरे फेम्पु (गुल्फे चरो) माक्चेरे पु (भँगेरा) हुद्दा–हुद्दा धान खान आउने हुनाले हा हा भन्दै कराउँदै माड्ने कार्य गरे । हुँदा–हुँदा क्रमश १ं२ं३ं४ं५ को गतिमा फिलिङ्गे, ताम्राङगे, रम्बाउङबा आदि जस्ता कदम निकालेर माड्ने, कुल्चने गर्न थाले । कालान्तरमा इक्बेरा र मुकुरी नाम गरेकाहरुले साइनु केलाएर मात्र उम्भने, माड्ने कुल्चने, झाँट्ने परम्परा बसाए । हाहा भन्ने शब्दमा छुइयाहा भन्ने आवाज थपियो । यसो हुँदा हुँदै पालाम गायन शुरु भयो ।

पछि–पछि धान माड्ने, कुल्चने, झाँट्ने कार्य बाहेक विवाह, उत्सव हुँदो पाःलाम गाउँदै धान नाच्न थाले । यसरी धाननाच र पाःलामको सुरुवात भयो भन्ने वयोवृद्धहरुको भनाई रहि आएको छ । धाननाचलाई लिम्बू भाषामा याःलाङ् भन्दछन् ।

कालान्तरमा परम्परागत मुन्धुम प्रतिस्पर्धात्मक आख्यानहरु व्यक्त गरेर एक अर्काको विद्ता, वैचारिक द्धन्द्ध, अनुभव र अनुभूतिहरु आदानप्रदान र पहिचान गर्नु पर्दा वा सम्वादद्धारा मनोकांक्षा भित्रका अभिरुव्यक्तिहरु व्यक्त गर्नुपर्दा पाःलामद्धारा व्यक्त गर्न थाले । त्यसैगरी धाननाच अर्थात याःलाङकै अवसरमा पालामकै माध्यमद्धारा मनभित्रका प्रेम, भाव पनि आदानप्रदान हुन थाले ।

तथापि, धाननाचमा माया, पिरतीको समवेदना उत्पन्न हुन थालेपछि यसको नियमहरु बनिन्दै गए । साधारणतया धानाच युवा–युवतीबीच मात्र सिमित नरहेर प्रौढ–प्रौढा, वृद्ध–वृद्धाबीच पनि उत्तिकै उत्साहपूर्ण ढंगले नाचिने संस्कृतिको धरोहर बन्न पुग्यो । धाननाच नृत्य सम्बन्ध लाग्ने पात्रहरुबीच निषेध भएको र नाचको क्रममा आपसमा कुल्चियो भने ताँतबाट बाहिर निक्लेर ढोकभेट गर्नुपर्ने नियम समेत रहेकोले गायन क्रमश मनस्थितिलाई एकाग्र राख्ने सर्तकताले हरपल बाँधिनुपर्छ । त्यसो भएन भने सवालजवाफको क्रमश अन्तर पर्न सक्छ ।

धाननाचको क्रममा पाःलाम भन्दा र गाउँदा आपसेआप क्रमश ३ं+२ं+४=९ अक्षरको क्रम मिलेर आउँछ । अपवादको रुपमा कुनै–कुनै तलमाथि हुन सक्छ । पाःलाम भन्दा र गाउँदा ३ं+२ं+४=९ अक्षरको क्रम मिलेर आयो भने गाउन सहज हुन्छ । अक्षर गन्ती तल माथिभयो भने गाउन असहज हुन्छ । यहाँ उदाहरणार्थ केही पाःलामहरु प्रस्तत गरिएको छ ।

३ं+२ं+४=९
थुथुक्सा यङ्घङ् फागुङसारुङ
सेन्लाप्थिक लच्छा चोगुङ्सारुङ ।
इक्सादिङ् खाम्बेक थोखेल्ले आ
तुम्मुई नुमेन् पोखेलेआ ।
पेन्बरी थेक्अी साङ्सीनेबी
मुन्धुम्मीन चेङी लाङसीनेबी ।
(सुब्बा : ६१)

प्रस्तुत पाःलाम लिम्बू भाषा साहित्य सम्राट थाम्सुहाङ पुष्पा सुब्बाले रचना गरेका हुन । त्यसै गरी लिम्बू भाषा कवि वीर नेम्बाङ्ले रचना गरेको पाःलाम पनि यहाँ उदाहारणार्थ प्रस्तुत गरिएको छ ।

३ं+२ं+४=९

चेल्लेकरे लुङ्धाक सेत्तुङिल्ले
केमिम्मिन् आङ्गा इत्तुङ्ङिल्ले ।
तक्सङ्धो पेक्मा सेक्वारक था
आरुङ्मा पहिम् मिक्वारक था ।

(नेम्बाङ्ः १७)

माथि उल्लेखित पाःलामहरु पाःलामकै रुपमा रचना गरिएका हुन । पाःलामको प्रारुपलाई खोज अन्वेषण र तुलना–आकलन–निर्धारण गरी याक्थुङ/लिम्बू छन्दहरु मध्ये पाःलामलाई एउटा छन्द निर्धारण गरेका छन् । याक्थुङ विद्धान महोदयहरुले तथापि पाःलाम छन्द निर्धारण भए पश्चात पाःलाम छन्दबाट रचना भएका केही कविताहरु यहाँ प्रस्तुत गरिएको छ । लिम्बू भाषा कवि अमर तुम्याहाङ्द्धारा रचित सोधुङ्गेन, इमानसिं चोलुङ् महाकाव्यबाट

३ं+२ं+४=९

किराती खासाम् पुन्छिङ् लाछिङ्
लण्डनबा साप्लुप् साप्पन साङलान्
खाहुन्हार साप्सिङ मुन्धुम् साप्सिङ
किराती साम्जिक मुन्धुम् साप्सिङ ।

(तुम्याहाङः२५०)

लिम्बू भाषा साहित्य सम्राट तथा कवि थाम्सुहाङ् पुष्प सुब्बाद्धारा रचित मखीफुङ महाकाव्यबाटः

३ं+२ं+४=९

पाहेन्लक् यम्बा अकेलेग
याप्मिरेन् मिङ्सो कोप्मेल्लेग ।
आखेक्याक कत्बे याङ्सा कुन्धे
यागर पोक्लो नोइङ्मिङ्धो ।
होपाने फाग्र मिङ्सो माबेक
याप्मीग हेक्याङ लेप्पुङ् आबेक ।

(सुभाः १०७)

नेत्तीहिङवा (जीवन दर्शन) शीर्षकको कविता संग्रहमा संग्रहित कवितांश पनि यहाँ तुलनात्मक अध्ययनको निम्ती प्रस्तुत छ :

३ं+२ं+४=९

नाम–लाबा इक्वा कुसिक् निसुङ
ताताला तरोङ् सयङ निसुङ
याप्मीरेन निङ्वार मेन्नीबान्लो
याप्मीरेन् निङवार मेन्धोबान्लो ।

(पापोः )

यसैगरी लिम्बू भाषा कवि सिक्कुम्दाङ् याक्थुङबाले पनि आफ्नो महाकाव्य मुक्कुमफुङमा पाःलाम छन्द प्रयोग गरेका छन् । कवि सेसेमी सेनाल्बो, आन्छुमे नसान, उत्तम योङ्हाङ् लगायतले पाःलाम संग्रह रचना गरेर प्रदर्शन गरेका छन् । अम्बिका सम्बाहाङफेले चारमाया पाःलाम संग्रह सम्पादन गरेका छन् । वर्तमानमा यसरी पाःलामबारे बृहत्तर खोज अन्वेषण र उपयोगिता बढ्दो अवस्थामा छ । एकातिर भने धाननाच ह्रास उन्मुख अवस्थामा रहेको देखिन्छ ।

टुङ्ग्याउनी :

धाननाच र पाःलाम प्राक ऐतिहासिक कालमा कृषि युगबाट सुरुवातिसँगसँगै पार्दुभाव भएको प्राय निश्चित छ । किरात–याक्थुङ/लिम्बू जातिको अत्यन्तै महत्वपूर्ण गहनाको रुपमा सिर्जिएर रहेको धाननाच र पाःलाम उच्च महत्वका साथ रहेको छ । किरात–याक्थुङ/लिम्बू जातिको मौलिकता बोकेको धाननाच र पाःलाम संरक्षण, सम्वद्र्धन हुन नितान्त आवश्यक छ । विशेषत युवा वर्गले कदाचित भुल्न/विर्सन हुँदैन । जानि नजानी धाननाच पाःलाम गाउँन प्रयत्नरत रहनु पर्छ । कविजनले पनि पाःलाम छन्द्धमा पाःलाम रचना पनि र छन्द्धमा गाउन प्रयत्नरत रहनुपर्छ । स्वजाति–स्वजनले तला–तला, पाला–पाला सिकि राख्नुपर्छ । जानी राख्नुपर्छ । कर्तव्य निष्ठा हुनपर्छ, बन्नुपर्छ ।

सन्दर्भ श्रोत

(प्रस्तुत लेख माङसेबुङ मासिकको भदौ अंकमा प्रकाशित लेख हो)

सम्बन्धित खवर