संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको निधन - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

असोज ३०, काठमाडौ । तीनपटकका मदन पुरस्कार विजेता, लेखक तथा संस्कृतिविद् शताब्दी पुरुष डा. सत्यमोहन जोशीको आइतबार बिहान उपचारको क्रममा निधन भएको छ ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल अस्पतालमा उपचारको क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा १०३ वर्षीय जोशीको निधन भएको हो ।

परिवारले परम्पराअनुसारको अन्तिम संस्कार गरेपछि जोशीको पार्थिव शरीर ललितपुर महानगरको प्राङ्गणमा राखिएको थियो । जहाँ प्रधानमन्त्री शेरबहादुर देउवाले उनको शरीरमा राष्ट्रिय झण्डा ओढाइदिएका थिए ।

यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्नि सापकोटा, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, ललितपुरका मेयर चिरिबाबु महर्जन, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, प्रशान्त ताम्राकार लगायतका विभिन्न क्षेत्रका हस्तीहरूले जोशीको पार्थिव शरीरमा फूलमाला चढाएका थिए । यसैसगरि सर्वसाधारणदेखि साहित्यकार, नेता, चर्चित कलाकारहरूले अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।

ललितपुरको बखुम्बहालमा वि.सं. १९७६ वैशाख ३० गते जन्मिएका जोशी सानैदेखि जिज्ञासु स्वभावका थिए । जुन स्वभाव उनी जीवित हुन्जेल रहिरह्यो । ३६ वर्षको उमेरमा हाम्रो लोक संस्कृति नामक खोजमूलक पुस्तकबाट वि.सं. २०१३ मा पहिलोपटक मदन पुरस्कार पाएका जोशीले त्यसपछिका १५ वर्षमा अरू दुईपटक मदन पुरस्कार जिते । वि.सं. २०१७ मा नेपाली राष्ट्रिय मुद्रा र २०२८ मा कर्णाली लोक संस्कृतिबाट उनले मदन पुरस्कार जितेका हुन् ।

जोशीले मानव सभ्यता र लोक संस्कृतिमा केन्द्रित रहेर सिपाही र रैती, सुनकेशरी, कलाकार अरनिको, माजिपा लाखे जस्ता थुप्रै आख्यान, गैरआख्यान, खोजमूलक किताब लेखेका छन् ।

तीनपटक मदन पुरस्कार बाहेक उनले दक्षिणबाहु, त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, उज्ज्वल कीर्तिमान राष्ट्रदीप जस्ता प्रतिष्ठित राष्ट्रिय पुरस्कार पनि पाएका छन् ।

गत वर्ष चैतमा उनको आत्मकथा सत्यमोहन सार्वजनिक भएको थियो । जसको लोकार्पण जोशी आफैँले गरेका थिए । झण्डै १ सय साढे ३ वर्ष बाँचेका जोशीले आफ्नो लामो आयुको कारण खानपान र जीवनशैलीसँगै संस्कृतिप्रतिको लगाव र जिज्ञासु स्वभावलाई पनि मान्ने गर्थे । सामान्य जीवनशैली बिताउन मन पराउने जोशीले आफ्नो जिन्दगीको अधिकांश समय खोज र अनुसन्धान मै बिताए ।

जोशीको पार्थिव शरीर पूर्व सम्झौता अनुसार अध्ययनका लागि नजलाई राखिने भएको छ । उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए । २०७७ माघमा नै आफ्नो शरीरका अंगले यतिका वर्षसम्म कसरी काम गरिरहेका थिए, यो सबै कसरी सम्भव भयो भन्ने कुरा चिकित्सा शास्त्रका विद्यार्थी र सिंगो चिकित्सा क्षेत्रकै लागि लाभदायक हुन सक्ने भन्दै जोशीले आफ्नो शरीर किष्ट अस्पताललाई दान गरेका थिए ।

जोशीको निधनले सिंगो साहित्य तथा कला क्षेत्र यतिवेला शोकमग्न छ । नेपाल सरकारले जोशीको निधनमा राष्ट्रिय शोकको घोषणा गर्दै एकदिन बिदा दिने निर्णय गरेको छ ।

 

सम्बन्धित खवर