धरानमा लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ को विशेष प्रदर्शन पुस १३ गते - Mangsebung News
  • शनिबार, मङि्सर २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धरानमा लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ को विशेष प्रदर्शन पुस १३ गते

धरान । लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ को धरानमा विशेष प्रदर्शन हुने भएको छ ।

धरानमा अवस्थित फ्रेन्ड्स सिनेमा बराह मलमा आगामी पुस १३ गते विहान ८ : १५ बजेदेखि विशेष प्रदर्शन हुने विहिबार धरानमा याक्थुङ् फिल्म्सद्वारा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक रनवीर लिम्बू ‘रवि सेर्मा’ले जानकारी दिएको हो ।

याक्थुङ् फिल्म्सद्वारा निर्मित चलचित्र ‘मिम्लेन् फूङ्’ प्रेम, पीडा, सामाजिक कुसंस्कार, आत्म–जागरणको यात्रा, युद्धमा श्रीमान गुमाएकी विधुवाले समाजको हेला, औपनिवेशिक मूल्य–मान्यतासँग जुध्दै, आफ्नो प्रेम र व्यक्तिगत स्वतन्त्रताबीच उभिएर अन्ततः नयाँ पहिचान दिने साहसिक कथामाथि निर्माण गरिएको बताइएको छ ।

चलचित्र ‘मिम्लेन् फूङ’ प्रेम, जातीय–सामाजिक विभेद, महिलाको पीडा र औपनिवेशिक मूल्य–मान्यतासँगको संघर्षको कथा हो । समाजका कठोर रीतिरिवाजले युवा महिलाको जीवन बदलिदिन्छ, र कसरी उसले अन्ततः आफ्नै मार्ग रोजेर रूपान्तरणको बाटो हिंड्छ भन्ने चरित्रको चित्रण हो । युद्धमा श्रीमान गुमाएकी युवा विधुवा समाजको हेला र पुराना मूल्य–मान्यतासँग जुध्दै, विगतको प्रेम र व्यक्तिगत स्वतन्त्रता बीच उभिएर अन्ततः आफूलाई नयाँ पहिचान दिने साहसिक निर्णयको कथा हो । युद्धले विधुवा बनेकी महिला प्रेम र समाजबीच चिरेपछि—अरूको होइन, आफ्नै पहिचानका लागि उठ्ने बिद्रोही बन्छिन् । प्रेम हराएपछि पनि जीवन नयाँ रूपमा फुल्न सक्छ । दुखले होइन, हिम्मतले मानिसको बाटो तय हुन्छ । समाजले रोक्दा पनि आफ्नै बाटो छान्ने साहसिक कथा हो चलचित्र मिम्लेन् फूङ निर्देशक रनवीर लिम्बू ‘रवि सेर्मा’द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै, विज्ञप्ति अनुसार चलचित्र ‘मिम्लेन् फूङ’ विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । यस प्रदर्शन अभियानले समुदायको भाषा, कला, संस्कार संस्कृतिको संरक्षण सम्बद्र्वन र प्रवद्र्वनमा महत्वपूर्ण अर्थ राख्छ भन्नेमा चलचित्र परिवार विश्वस्त छौं । हाम्रो चलचित्रलाइ माया गर्नुहुनुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै थप सल्लाह, सुझाव, प्रतिक्रिया र सहयोगको लागि आम दर्शक, श्रोता, व्यवसायी, कर्मचारी, संचारकर्मी एवम् सम्पूर्ण आमा–बुवा, दाजुभाई–दिदीवहिनीहरुमा हार्दिक अनुरोध गर्दछौं भनिएको छ ।

ताप्लेजुङको बोखिम, कुन्जारी, वरक्पा, काँडे भन्ज्याङ, हेन्छेबुङ, फावाखोला लगायत ऐतिहासिक एवम् रमणीय स्थलहरुमा छायांकन गरिएको चलचित्रमा कथा/पटकथा/संवाद आशराज बोखिम, निर्देशन रनवीर लिम्बू ‘रवी सेर्मा’, निर्माता आशराज बोखिम, कृष्ण लिङखिम, कुमार लक्सम्बा, हरिमाया मादेन, क्यामरा सुमन तामाङ, सम्पादन अनिल कुमार महर्जन, गीत सुवर्ण नेम्बाङ, नेत्र प्रसाद बोखिम, संगीत आशराज बोखिम, स्वर मनु नेम्बाङ, आशराज बोखिम, व्याकराउण्ड म्युजिक अशोक राई, साउण्ड इन्जिनियर मिन विष्ट रहेका छन् भने हरिमाया मादेन, जीवन केदेम, कृष्ण लिङखिम, कुमार लक्सम्बा, रेन्सा खेवा लिम्बू, कमिता तुम्बापो, नेत्र बोखिम, मैना बोखिम खोयाहाङ लगायतले अभिनय गरेका छन् ।

दुइदशक अघि ’क्येबा कोक्मा’ जस्ता लोकप्रीय चलचित्र निर्माण गरेका सेर्माका दुइ चलचित्रहरु ’सेमीफूङ्’ र ’मिम्लेन् फूङ्’ प्रदर्शनमा आइरहेको छ ।

 

सम्बन्धित खवर