- शरण केरुङ लिम्बू
कातिक ११, माङसेबुङ । कोसा लाग्नुपर्ने दालमा रोग लागेपछि यतिबेला दक्षिणी भेगका माङसेबुङवासी किसान चिन्तित देखिन्छन् । लगाएको दाल बालीमा पहेँले रोगको संक्रमण देखिएपछि किसानहरुलाई समस्या परेको हो ।
माङसेबुङ –५ दाङमक्लाका देवि राईले लगाएको दालबाली पहेँलो हुदै मर्न थालेपछि उनी चिन्तित छन् । गत जेठताका पनि किराकै संक्रमणका कारण मकै बाली भने जस्तो नसप्रिएको र असारमा साविक जसरी मकै उत्पादन गर्न नसकेका राईलाई मकैपछि दाल बाली पनि किराको संक्रमण फैलिएपछि थप चिन्ता थपिदिएको छ ।
‘यस भन्दा अघि दाल पहेँलिएर मरेको देखेको थिइन’ राई भन्छन्, ‘यो पटक यस्तो के आई लाग्यो कुन्नि !’
सिँचाइ नभएका भिरालो जमिनमा मात्र होइना, यहाँका ओसिलो र पर्याप्त सिँचाइ भएको खेतबारीमा समेत फुल्दैगरेको दाल मरेका छन् । पछिल्लो केही बर्षयता बालिमा हुने सङक्रमरणका कारण देबि राई जस्तै गाउँभरिका किसान मर्कामा परेका हुन् ।
कुनै बालीमा पनि हामीले रसायनिक मल प्रयोग गरेको छैनौं । घरैमा उत्पादन हुने (प्रङ्गारिक) गोठे मल गोबर र पिसाबको भरमा राम्रौ उत्पादन लिन्थ्यौं । तर अब स्थिति त्यस्तो रहेन’, राईले चिन्तित हुँदै भने ।
माङसेबुङ –३ का दिलकुमार केरुङको पनि समस्या देवि राईको जस्तै छ । पहेँली दालको माग बढिरहेका बेला दाल फुल्न नपाई बोट मर्ने समस्याले केरुङलाई पनि समस्या परेको छ ।
राई र केरुङ जस्तै माङसेबुङको दक्षिणी भेगका किसानलाई दाल बालीमा देखिएको किराको संक्रमणले चिन्तित बनाएको छ । बारीमा फुल्दैगरेको दालको बोट पहेँलिएर मर्न थालेपछि किसान निरास समेत बनेको केरुङ सुनाउँछन् ।
‘दाल बाली हाम्रो मुख्य आयस्रोत हो । दाल बेचेको पैसाले हामीले छोराछोरीको शिक्षादेखि लताकपडा, गरगहना खरिद गर्दै आएका हौं । यसपालि त दाल फुल्दाफुल्दै मर्न थाल्यो । अब के गर्ने ? केरुङले निरास हुँदै देखेसो पोखे ।
माङसेबुङको पहेँली दालको माग नेपालभर मात्रै नभएर हङकङ, युके, अमेरिकासम्म हुने र पठाइने गरिएको छ ।
सुरुमा दालको टुप्पोमा पहोलो हुने, ओइलिने, सुकने र क्रमशः एकपछि अर्को गर्दै सबै बोट मर्ने समस्या रहेको किसानहरु बताउँछन् ।
पहेँलिएको दालको टुप्पोमा मकैमा लाग्ने जस्तै धर्के किरा भेटिएको छ । दालको फेदमा भने कुनै समस्या नरहेको उनीहरुको भनाइ छ ।
कृषि सेवा केन्द्र टाढा भयेका कारण कृषि प्राबिधिकहरुसँग परामर्श लिन नपाएको कृषकहरुको दुखेसो छ ।
वर्षेनी एकै ठाउँमा एकै बाली लगाएका करण मटोमा अम्लीयपन बढेमा यस्ता समस्या देखिने कृषि प्राबिधिक निरूपा राईको भनाइ छ ।
प्राविधिक राई भन्छिन् –‘दाल बालीमा किरा लागेको घटना बारे समयमै जानकारी नभएका कारण रोग नियन्त्रण गर्न सम्भव भए पनि दालले फल दिन सक्ने स्थिति रहेन ।’
घटना बारे जानकारी आइसकेको भन्दै उनले गाउँपालिकाबाट चाँडै अनुगमन गरिने आश्वासन दिएकी छन् ।
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले भने पालिकाले कृषि क्षेत्रमा विशेष ध्यान केन्द्रित गरेको बताउँछन् । कृषि क्षेत्र विकास र विस्तारको लागि वार्षिक नीति कार्यक्रममै अधिकतम बजेटको व्यवस्था गरिएको उनको भनाइ छ ।
अध्यक्ष राई भन्छन् –‘कृषि बाली ग्रसित क्षेत्रमा तत्कालै कृषि प्राविधिकहरू पठाउँछौं । आगामी दिनहरुमा कृषि बालिमा यस किसिमका रोग लाग्न नदिन र किराबाट बचने उपायहरू अपनाउन र नियन्त्रण गर्न आवश्यक विषाधि सामग्रीहरुको प्रवन्ध गर्नेछौं ।’
कृषि प्राविधिक सेवासँगै विभिन्न शीर्षकमा माङसेबुङमा राम्रो उत्पादन गर्ने किसानहरुलाई प्रोत्साहन स्वरूप पुरस्कारको समेत व्यवस्था गरिएको अध्यक्ष राईले स्पष्ट पारे ।