वडाअध्यक्ष बस्नेतले आफ्नै पालिकाको कार्यविधि लत्याए, उपभोक्ता समिति नै नबनाई योजनाको काम सुरु - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वडाअध्यक्ष बस्नेतले आफ्नै पालिकाको कार्यविधि लत्याए, उपभोक्ता समिति नै नबनाई योजनाको काम सुरु

कातिक १४, इलाम । नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन, २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्र भित्रको विकास निर्माण सम्बन्धी कार्य संचालनका लागि पालिकाहरुले उपभोक्ता समिती गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि स्वीकृत गरि जारी गर्छन् । सोही कार्यविधि बमोजिम विकास निर्माण सम्बन्धी कार्य संचालन गर्ने गर्छन् ।

यसै क्रममा इलामको माङसेबुङ गाउँपालिकाले ‘माङसेबुङ गाउँपालिकाको उपभोक्ता समिती गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४’ ९ बैशाख २०७५ को कार्यपालिका बैठकले स्वीकृत गरि लागू गरेको छ ।

तर सोही गाउँपालिका अर्थात् माङसेबुङ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृष्णबहादुर बस्नेतले आफ्नै पालिकाको कार्यविधि लत्याएका छन् । सो वडामा उपभोक्ता समिति गठन नै नगरी योजना निर्माणको काम संचालन भएको खुलासा भएको छ ।

वडा नम्बर २ को ‘वडास्तरीय सडक मर्मत’ का लागि उपभोक्ता समिति गठन नगरी सिधै काम गर्न थालिएको स्थानीयले बताएका हुन् ।

२ नम्बर वडाका विभिन्न सडकहरु मर्मतका लागि चालू आर्थिक वर्ष २०७९÷०८० का लागि वडा सिलिङतर्फको सात लाख रुपैयाँको योजनाको काम उपभोक्ता समिति गठन नै नगरी वडा अध्यक्षको ठाडो आदेशमा काम थालिएको देखिएको छ ।

वडा अध्यक्ष बस्नेतले स्थानीय उपभोक्ताहरुलाई जानकारी नै नदिई योजनाको काम गरेको देखिएको हो । उनले आफू अनुकुल केहि व्यक्तिहरुसँगको मिलेमतोमा समिति नवनाई काम गरेको स्थानीय उपभोक्ताहरुको दाबी छ ।

वडा अध्यक्ष बस्नेतले उपभोक्ता समिति गठन नगरी आफू निकटका केही व्यक्तिबाटै काम संचालन गरेपछि स्थानीयले विरोध गरेका छन् । जनप्रतिनिधिले नै वडाबासीको सल्लाहविनै आफूखुसी काम गरेर आँखामा छारो हाल्ने काम भएको वडावासीहरुको आरोप छ । योजना निर्माणमा उपभोक्ता समिति गठन गर्नुपर्ने भए पनि वडा अध्यक्षले त्यसो नगरी आफूखुशी काम भएको उनीहरूको भनाई छ ।

उपभोक्ता समिती गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४’ को परिच्छेद २ दफा ४ उपदफा १ (क) मा आयोजनाबाट प्रत्यक्ष लाभान्वित उपभोक्ताहरुको आम भेलाबाट अधिकत सहभागितामा सम्बन्धित आयोजनास्थलमा ७ देखि ११ सदस्यीय उपभोक्ता समिति गठन गर्नुपर्ने प्रावधान छ ।

वडा अध्यक्ष बस्नेतले स्थानीय कुशल इदिङ्गो (पूर्ण) लाई स्काभेटर उपलब्ध गराएर सडक सरसफाईको काम गर्ने गरि जिम्मेवारी दिएका छन् । औपचारिक रुपमा समिती गठन नभएपनि पछि मिलाउला भन्दै इदिङ्गोलाई काम गर्ने ज्म्मिा दिएका हुन् ।

इदिङ्गोले पनि आफू उपभोक्ता समिति अध्यक्षको दावेदार भएको भएपनि औपचारिक रुपमा समिति गठन नभएको स्वीकार गरे ।

‘म समितिको अध्यक्षको दाबेदार चाहिँ हो तर हालसम्म उपभोक्ता समिती गठन भएको छैन’ इदिङ्गोले टेलिफोन सम्पर्कमा भने, ‘वडा अध्यक्षले आफै स्काभेटर मिलाएर मलाई अहिले काम गर्दैगर्नु, अरु पछि मिलाउला भन्नुभयो । वडा अध्यक्षको अनुरोधमा मैले मेसिन लगाउने काम गरिराछु । अरु केही थाहा भएन ।’

सबैलाई पद चाहिएकाले समिति गठन गरिएन : बस्नेत

उता वडा अध्यक्ष बस्नेतले भने सबैलाई उपभोक्ता समितिको अध्यक्ष पद नै चाहिने भएकाले समिति गठन नगरी काम गरेको स्वीकार गरे ।

‘सबैलाई समितिको अध्यक्ष पद नै चाहिने, सहमति नभएपछि काम थालियो’ टेलीफोन सम्पर्कमा वडा अध्यक्ष बस्नेतले भने, ‘व्यवहारिक रुपमा अहिले काम गर्ने हो, कागजी प्रक्रिया पछि मिलाउने हो ।’

पहिले उपभोक्ता समिति गठन गर्नुपर्ने हो कि पहिले काम गर्ने हो भन्ने प्रश्नमा वडा अध्यक्ष बस्नेतले जवाफ नै नदिई टेलीफोन काटे ।

उपभोक्ता समिति गठनका लागि वडाले दशै अघि एक भेलाको आयोजना गरेपनि अध्यक्ष पदका लागि ६ जनाले दावी गरेपछि अर्को भेलाले गठन गर्ने गरि भेला स्थगित भएको थियो । तर वडा अध्यक्ष बस्नेतले अर्को भेलाको आयोजना त गरेनन् नै, सुटुक्क काम नै सुरु गरे । काम सुरु भएपछि स्थानीयले थाहा पाएपछि विरोध सुरु भएको छ ।

स्काभेटरको ठेकेदार पनि वडाअध्यक्ष नै

यसैबीच सो योजना संचालनका लागि प्रयोग गरिएको स्काभेटर समेत वडा अध्यक्षले नै उपलब्ध गराएका छन् । स्थानीय व्यवसायीसँग वडा अध्यक्षले नै डिल गरि स्काभेटर मिलाएर काम गर्ने जिम्मा मात्र स्थानीय इदिङ्गोलाई दिएका छन्

कमिशनको खेलमा स्काभेटर चलाउने विषयमा कतिपय उपभोक्ता समितिमा विवाद समेत हुने गरेको छ । पछिल्लो समय जनप्रतिनिधिहरु नै ठेकेदारको रुपमा संलग्न हुने गरेका छन् ।

फर्जी कागजात बन्ने निश्चित

सो योजनाको भुक्तानीका लागि सबै कागजात फर्जी बन्ने निश्चित छ । यो समाचार तयार पर्दासम्म उपभोक्ता समिति गठन भएको छैन । प्राविधिक स्टिमेट पनि भएको छैन । उपभोक्ता समिति नै गठन नभई र प्राविधिक स्टिमेटबिना योजना सम्भौता हुने कुरै भएन । सम्भौता नभएको कामको कानुनत भुक्तानी हुदैन ।

तर काम झण्डै आधा भईसक्यो । अब यहाँ पुरानो मितिमा उपभोक्ता समिति गठन भएको फर्जी कागजात बनाउनेछ्न् वा पछिल्लो मितिमा काम भएको कागजात बनाउनेछ्न् । प्राविधिक स्टिमेट पनि त्यसरी नै फर्जी बनाउनेछ्न् । अनि स्वयम् वडा अध्यक्षले काम सम्पन्न भएको भन्दै पालिकामा सिफारिस लेख्नेछ्न् ।

उक्त सबै काम फर्जी हुनेछ । त्यस्तो फर्जी काममा संलग्न हुन जनप्रतिनिधि एवम् कर्मचारी कानुनले रोकेको छ । कानुन विपरीत काम गर्ने जोकोही कानुनी कार्वाहीको भागेदार बन्नेछ्न् ।

सम्बन्धित खवर