आन्छुमे नसान(काकीराम लावती)
मंसिर ४, माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ तथा किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चयनका लागि मतदान गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तरगत आज बिहान ७:३० बजे इलामको माङसेबुङ गाउँपालिका ५ स्थित श्री सरस्वती मा.बि.भालुटार मतदान केन्द्र ‘क’ बाट किरात धर्मगुरु र गुरुआमाले मतदान गर्नुभएको हो ।
१ हजार ९ सय ९६ जना मतदाता रहेको माङसेबुङ ५ को सरस्वती मा.बि.भालुटार मतदान केन्द्र ‘क’ बाट किरात धर्मगुरु तथा गुरुआमाले मतदान सुरुवात गर्नुभएको सरस्वती मा.बि.भालुटार मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत दिलमान इधिङगो लिम्बूले जानकारी दिनुभयो ।
मतदानमा गुरुपरिवार सुपुत्र शुभनन्द लिङ्देन, मनाहाङ लिङ्देन, इक्सानन्द लिङ्देन, नाम्बिनहाङ लिङ्देन, गुरु सुपुत्री ममिला लिङ्देनले सो मतदान केन्द्रमा मतदान गरेका छ्न् ।
प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य चयनका लागि मतदान हुदैछ र देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिससभामा देशभरका १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीबाट र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् । त्यस्तै प्रदेशसभामा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४१२ उम्मेदवार छन् । जसमा एक हजार ५४५ जना दलका र ८६७ जना स्वतन्त्र उम्मेदवार छन् ।
प्रदेशसभाको प्रत्यक्षतर्फ तीन हजार २२४ जना कुल उम्मेदवार छन् । जसमध्ये दुई हजार १३० जना दलका र एक हजार ९४ जना स्वतन्त्र उम्मेदवार छन् ।