कोशी प्रदेश नाम खारेजीको माग गर्दै, प्रदेशव्यापी आम हड्तालको कार्यक्रम सार्वजनिक - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोशी प्रदेश नाम खारेजीको माग गर्दै, प्रदेशव्यापी आम हड्तालको कार्यक्रम सार्वजनिक

फागुन २५, दमक । प्रदेश नं. १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

 

लिम्बुवान किरात संयुक्त संघर्ष समिति, पहिचान सहितको प्रदेश नं। को १ पुनः नामाकरण अभियान समिति, किरात याक्थुङ् चुम्लुङ र किरात राई यायोक्खाले संयोजन गरेको प्रदेशको नाम कोशी खारेजीको लागि बुधबारसम्मको घोषित कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गर्दै बुधबारनै थप सशक्त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन ।

 

यसरी आन्दोलनलाई एकीकृत गर्नका साथै संघर्ष समितिको नाम समेत परिवर्तन गरी प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति बनाएको छ ।

आन्दोलनका कार्यक्रमहरुमा फागुन २५ र २६ गते प्रदेश व्यापी कालो झण्डा गाड्ने, कोणसभा गर्ने, स्थानीय तह लगायतका कार्यालयहरुमा तालाबन्दी गर्ने, कोशी नामका बोर्डहरु हटाउने र कोशी नामका लेटरप्याडहरु जलाउने कार्यक्रम रहेको छ ।

 

त्यसैगरी कोशी नाममा मत हाल्ने सांसदहरुलाई प्रतिकार गर्ने, वडा तहसम्म संघर्ष समिति विस्तार जारी राख्ने, पर्चा निर्माण र वितरण गर्ने साथै भित्ते लेखन अभियान समेत सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

 

आन्दोलनकै क्रममा उद्योगी, व्यवसायी, व्यापारी, यातायात व्यवसायी लगायतका निकाय, व्यक्ति एवम् संस्थाहरुसँग समन्वयात्मक बैठक गर्दै अगाडि बढ्ने समेत कार्यक्रम रहेको संयुक्त संघर्ष समितिले जनाएको छ ।

फागुन २७ गते प्रदेशव्यापी राँके जुलुस गर्ने र फागुन २८ गते प्रदेशव्यापी आम हड्ताल गर्ने निर्णय गरेको छ । यसरीनै चैत्र ५ गते विराटनगरमा बृहत जनप्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरिएको पहिचान सहितको प्रदेश नं. १ पुनः नामाकरण अभियान समितिका उप महासचिव नन्दकुमार नेम्बाङले बताए ।

 

लिम्बुवान किरात संयुक्त संघर्ष समिति, पहिचान सहितको प्रदेश नं। को १ पुनः नामाकरण अभियान समिति , किरात याक्थुङ् चुम्लुङ र किरात राई यायोक्खा केन्द्रीय समितिको संयोजनमा (मंगलबार र बुधबार) भएको बैठकले सो निर्णय गरेको हो ।

 

आन्दोलनरत समितिहरुको बैठकले संघर्ष समितिको नाम परिवर्तन गर्दै प्रदेश नं. १ पुनः नामाकरण संयुक्त संघर्ष समिति राखिएको चुम्लुङ संघीय अध्यक्ष प्रेम एक्तेन जनाए ।

बैठकमा किरात राई यायोक्खा उपाध्यक्ष जनक राई, पहिचान सहितको प्रदेश नं. १ पुनः नामाकरण अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, आदिबासी जनजाति महासंघको पूर्व महासचिव आङ्काजी शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन, जनता समाजवादी पार्टीका रमेश राई, लिम्बुवानका नेता सञ्जुहाङ पालुङ्वा, खम्बुवान राष्ट्रिय मोर्चाको केन्द्रीय उपाध्यक्ष दिलराम राई, किरात लिम्बुवान नामाकरण दबाब समुहको अध्यक्ष प्रेमदिप थाम्सुहाङ लगायतको उपस्थिति रहेको थियो ।

 

बैठकमा सामाजिक तथा राजनीतिक संगठनका नेताहरुले आन्दोलनको उठान, प्रभाव, सम्भावना चुनौतीहरु बारे बोलेका थिए ।

 

आन्दोलनमा गोपाल किराती नेतृत्वको संगठन, मंगोल नेशनल अर्गनाइजेसन, कोच, धिमाल, याक्खा, सुनुवार, पहिचान पक्षधर एमाले, कांग्रेस, माओवादी लगायतका घटक संगठनहरुलाई जोड्दै जाने र प्रदेश नंंं।१ को मात्र नभएर बाँकी छ वटै प्रदेशको पुनः नामाकरणको मुद्धा उठाउन पहल गर्नुपर्ने वक्ताहरुले विषय राखेका थिए ।

फागुन २४ काठमाडौंमा अध्यक्ष गेल्जे लामा शेर्पाको सभापतित्वमा बसेको नेपाल आदिबासी जनजाति महासंघ संघीय समितिको बैठकले १ नं. प्रदेशको आन्दोलनलाई नैतिक र भौतिक समर्थन, सहयोग गर्ने निर्णय भएको महासचिव दिवस राईले बताए ।

 

प्रदेश नं. १ को नाम कोशी खारेजीको लागि हुने आन्दोलनमा सहभागि हुन महासंघको १ नं. प्रदेश, जिल्ला समितिहरुलाई सर्कुलर जारी गरिएको महासंघले जनाएको छ । महासंघले न्याय र स्वतन्त्रताको आन्दोलन गाउँगाउँबाट गठ्न र उठाउन आव्हान समेत गरेको छ । किरात मोर्चाले २६ गते पनि हड्तालको घोषणा गरेको छ ।

 

सम्बन्धित खवर