पत्रकार बजगाईले ‘सेवा घर’मा मनाए जन्मदिन - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पत्रकार बजगाईले ‘सेवा घर’मा मनाए जन्मदिन

 

असार २०, बनेपा । बिगत वर्षहरूमा झैं यो वर्ष पनि अग्रज पत्रकार नवराज बजगाईंले आफ्नो जन्म दिन असहायहरुसँग मनाएका छन् ।

सोमबार काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर बजगाईंले आफ्नो जन्मदिन मनाएका हुन् ।

पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहेका बजगाईले सोमबार (असार १८ गते) आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर)को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसँगै खाद्यान्न र लत्ता कपडाहरू सहयोग गरेका हुन् । उनले गत वर्षका जन्म दिन र अवसरहरूमा पनि सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरूमा सहयोग गर्दैआएका छन् ।

उनले सेवा घरका अभियान्ता अभियान्ता सुरेश हुमागाईलाई चामल, आटा, दाल, तेल, नुन, जिरा मसला, चिनी, चियापती, गेडागुडी, चिउरा, मस्यौरा, साबुन, डेटोल, मञ्जन, बस, फिनेल, सरफ, फलफूल, बिस्कुटसहित खाद्यान्न र लत्ता कपडा हस्तान्तरण गरेका थिए । सामग्री बुझ्दै अभियान्ता सुरेश हुमागाईले यस्ता सहयोगी कै कारण सेवा घर असाहयको साहारा बन्न सकेको बताए ।

कार्यक्रममा धुलिखेल–१२, का वडा अध्यक्ष मोहन प्रसाद लामिछानेले यस्तै सहयोगी भावनाका मान्छेहरुको साथले सेवा केन्द्र चलिरहेको भन्दै नगरपालिका र वडाले पनि सेवा केन्द्रलाई साथ दिएर जग्गा र तयारी भवन उपलब्ध गराएको बताए ।

सेवा घरकी अभियान्ता जुनिता नगरकोटी श्रेष्ठले मानव कल्याण समाजले आफ्ना सात वटा सेवा केन्द्र मार्फत असाहयहरुको सेवा गरि रहेको र सबै सेवा केन्द्रमा गरी अहिले करिव ३ सय जना जति सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य भएका असाहयहरु मानव कल्याण समाजको सेवा केन्द्रमा रहेको बताए ।

सार्वजनिक स्थलहरूमा कष्टकर जीवन बिताउन बाध्य पिडितहरूको सेवाको लागि ६ वर्षअधि मानव कल्याण समाजको शाखा कार्यालय धुलिखेलमा खुलेको थियो । जहाँ सडक तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य भएकालाई उद्धार गरी व्यवस्थापन गर्ने गरिएको मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईले जानकारी गराए । मानव कल्याण समाजको शाखा कार्यालय काभ्रेमा खुलेदेखि नै पत्रकार बजगाईले आफ्नो जन्म दिन यहि आएर मनाउदै आएका छन् । यो सेवा घरमा अहिले ७० जना असहायहरु रहेका छन ।

सम्बन्धित खवर