बेलायतको स्वडेनमा महागुरु फाल्गुनन्द लिङदेन १३९ औं जन्मजयन्ती भब्य मनाइँदै - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बेलायतको स्वडेनमा महागुरु फाल्गुनन्द लिङदेन १३९ औं जन्मजयन्ती भब्य मनाइँदै

कातिक ६, युके । किरात धर्म दर्शनदाता, समाज सुधारक तथा राष्ट्रिय विभुति महागुरु मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती कार्यक्रम बेलायतको स्वडेनमा भब्य आयोजना गरिएको छ ।

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा ११ नोभेम्बर २०२३ मा विगतका वर्षझैं यस वर्ष पनि मुहिङगुम अङसीमाङ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम भव्य रुपमा मनाउन लागेको ज्ञानु फुरुम्बोले बताएका छन् ।

राष्ट्रिय विभुति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनलाई स्मरण गर्दै प्रत्येक वर्ष कार्तिक २५ गतेका दिन स्वदेश विदेशमा भब्य रुपमा जन्मजयन्ती मनाउने क्रममा युकेमा ११ नोभेम्बर २०२३ मा जन्मजयन्ती कार्यक्रम आयोजना गरिएको हो । बेलायतमा बसोबास गर्ने किरात धर्मालबम्वी लगायत अन्य शुभचिन्तक महानुभावहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिने आयोजक समितिले जनाएको छ ।

गत वर्ष युकेको आस्फोर्ड केन्टमा रहेको साईमन सभाहलमा कार्यक्रम भएको थियो । यो पालि पनि यसै ठाउमा आयोजना गर्ने समितिको निर्णय भएता पनि दिपावली तिहारको आमुने सामुने भएको कारणले सभाहल सबै अग्रिम बुकिङ भइसकेको र सभाहल नभेटिएकोले कार्यक्रम स्वडेनमा हुने किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष राजेन्द्र खिम्दिङले बताएका छन् ।

उपाध्यक्ष खिम्दिङका अनुसार युकेमा हुने राष्ट्रिय विभुति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्ती कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न राजदुत लगायत स्थानीय मेयर प्रतिनिधिहरु समेत अथितिको रुपमा आमन्त्रण गरिन्दै आएको छ ।

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समित युके संस्था स्थापना भएपछि निरन्तर बेलायतको विभिन्न ठाउँमा महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्ती भब्य र सभ्य रुपमा आयोजना हुँदै आएको किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युके सह कोषाध्यक्ष केवाहाङ चेम्जोङले बताएका छन् ।

यो कार्यक्रम अति महत्वपुर्ण भएको हुदाँ विभिन्न स्थानमा बसोबास गर्ने किरात धर्मलबम्वी भक्तजनहरु उत्साहका साथ सहभागी हुने साथै कार्यक्रमलाई सफतापूर्वक सम्पन्न गर्न माङ हुक्वा फूलपाती अक्षता सहित सेवा कार्यक्रममा उपस्थित हुने गरेको किरात धर्म तथा साहित्य उत्थान राष्ट्रिय समिति युकेका कोषाध्यक्ष हर्क आङदेम्बेले जानकारी गराएका छन् ।

आगामी कार्यक्रमलाई केही रोचक आक्रर्षक बनाउन मौलिक नृत्य युमालाङ, थेवा, माङलाङ समेत प्रस्तुत गरिने कलाकार संयोजक किरात साम्यो साक्थिम्गेन पान्जुम्भो युकेका अध्यक्ष निर्मल पतङवाको भनाई छ ।

जन्मजयन्ती कार्यक्रममा युके भरि छरिएर बसेका माङसेवासाबा, माङसेवासामाहरुको उपस्थितिमा किरात साम्जीक मुन्धुम वाचन गरेर विश्व शान्ति मानव एकता चराचर, जगत शान्तिको कामना गरिने माङसेवासाबा संयोजक साङदाङगेन्न वरुमसाबा मंगलसिं लिङ्देनले बताउनु भएको छ ।

साङदाङगेन्न वरुमसाबा लिङ्देनका अनुसार मुन्धुम अनुसार गर्नु पर्ने कर्म, संस्कारहरु सबै गर्ने गरिन्छ, कुदाम, कुहिक सेवा, अक्वामा, युमा थेबा चासेक सेवा कर्महरु सबै गरिने भएको छ ।

महागुरु फाल्गुनन्दको संक्षिप्त चिनारी

माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो भनि सिवाखाहुन दिनुहुने दार्शनिक किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन जन्मिएको १३८ वर्ष पूरा भई आगामी कार्तिक २५ गतेबाट १३९ वर्षमा प्रवेश गर्दै छ । यहीँ अवसरमा महागुरु फाल्गुनन्दको १३९ औं जन्मजयन्ती आगामी कार्तिक २५ गते विविध कार्यक्रम आयोजना गरी संसारभर मनाईदैछ ।

तत्कालीन समयमा लोपोन्मुख अवस्थामा पुगेको किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिलाई पुनः उत्थान गर्न र कुरीति कुसंस्कारमा रमाइरहेका किरात समुदायलाई सत मार्ग दर्शनमा डो¥याउन किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको किरात समुदायमा जन्म भएको थियो । सत् आहार, सत् विहार र सत् कर्म गर्नु भनि सिवाखाहुन दिनुहुने महागुरु फाल्गुनन्दको सत्य, शान्ति र अहिंसावादी दर्शनलाई पछिल्लो समय विश्वमा अनुसरण गर्न थालिएको छ । वहाँ सत्य, शान्ति र अहिंसाका सूत्रधारको रुपमा सबैमा पुज्य हुनु भएको छ । किरात धर्मावलम्बीहरुले वहाँलाई किरात धर्म दर्शन पुनः उत्थापक, महान समाज सुधारक मुहिङगुम अङसीमाङको रुपमा आस्था र श्रद्धा पोख्ने गर्दछन ।

महागुरु फाल्गुनन्दले तत्कालीन कुरीति कुसंस्कारमा रुमलिरहेका समाजलाई सुधार गर्नका लागि वि.स. १९८८ साल बैशाख २४ गते पान्थरको लब्रेकुटीमा तत्कालीन लिम्बुवानबासी गन्यमान्य सुब्बा, सुवाङगी, कारवारी, बुद्धिजीवीहरुलाई आमभेला बोलाएर सत्य धर्म मुचुल्का निर्माण गर्नु भएको थियो । समाज सुधार अभियानमा आजीवन लाग्नु भएका महागुरुलाई राज्यले जीवन भरी राजद्रोही, देशद्रोही र पूर्व लिम्बुवानको राजा हुन खोजेको आरोप लगाउँदै गिरफ्तार गर्ने र अनेकौं दुःख, पीडा दिने काम मात्र गरेको थियो । तर, वहाँको देहावसान भएको ६१ वर्षपछि राज्यले पनि महागुरु फाल्गुनन्दलाई समाज सुधारकको रुपमा चिनेको छ । यसरी राज्यले चिनेपछि वहाँलाई वि.स. २०६६ मंसिर १६ गते नेपाल सरकारले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिले सम्मानित गरेको छ ।

छरपस्टिएको र दिशाविहिन किरात धर्म दर्शनलाई निश्चित मार्ग देखाउँदै किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिलाई पुनः उत्थान गर्नुभएकोले किरात धर्म दर्शनदाता, तत्कालीन किरात समुदायमा चलेको कुरीति कुसंस्कारलाई हटाउन वि. स. १९८८ साल बैशाख २४ गते पान्थरको लब्रेकुटीमा १० लिम्बुवान १७ थुमका गन्यमान्यहरुको भेला गराई समाज सुधार गर्न ७ बुद्धे सत्य धर्म मुचुल्का निर्माण गर्नुभएकोले समाज सुधारक र राष्ट्रले राष्ट्रिय विभूषणले सम्मानित गरेकोले फाल्गुनन्दलाई राष्ट्रिय विभूतीको रुपमा पनि सबै माझ पुज्य हुनुभएको छ । तत्कालीन समयमा लोपोन्मुख अबस्थामा पुगेको किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिलाई पुनः उत्थान गर्न र कुरीति कुसंस्कारमा रमाइरहेका किरात समुदायलाई सत मार्ग दर्शनमा र्डोयाउन अहोरात्र लाग्नु भएको थियो ।

नेपालको पूर्वी लिम्बूवान भूमिको इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा नं. २ साविक इभाङ गा.वि.स वडा नं. ५, चुक्चीनाम्बा गाउँमा बुवा जगुनवाज लिङ्देन र आमा हंसमति वेघा लिम्बूको कोखबाट वि. स. १९४२ साल कार्तिक २५ गते आइतबार साईला छोराको रुपमा मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्दको जन्म भएको थियो । मुहिङगुम अङसीमाङ फाल्गुनन्दले वि. स. २००५ चैत २२ गते सोमबार अपरान्ह ६३ वर्षको उमेरमा पान्थरको सिलौटी मुनी हाङयकमा देहत्याग गर्नु भयो ।

हाङ्यकमा देहत्याग गर्नु भएपछि महागुरुको पार्थिव शरिरलाई सिलौटी माङहिममा पु¥याएर तीन दिनसम्म राखेर टाढा टाढाका चेलाहरुलाई खबर गरी तीन दिनपछि बुधबार विधिवत रुपमा ठूलो सेवा लगाएर अन्तिम संस्कार गरिएको थियो । यसरी महापुरुष मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङदेनको देहवसान पश्चात, देह त्याग गर्नुभएको स्थल हाङयक र सिलौटीमा जहाँ अन्तिम संस्कार गरिएको थियो, त्यहाँ समाधिस्थल निर्माण गरिएको छ ।

सम्बन्धित खवर