आज गुरु आत्मानन्द जन्मोत्सव : मन्त्री किराती माङसेबुङ आउँदै, माङ्सेबुङ र माईमा सार्वजनिक बिदा - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज गुरु आत्मानन्द जन्मोत्सव : मन्त्री किराती माङसेबुङ आउँदै, माङ्सेबुङ र माईमा सार्वजनिक बिदा

  • आन्छुमे नसान

मंसिर १८, माङसेबुङ । विश्व किरातीहरुको आस्थाको धरोहर पवित्र एवम् पुण्य भूमि पर्यटकिय धार्मिक तिर्थस्थल इलामको माङ्सेबुङ ५, लारुम्बामा आज(सोमबार) किरात धर्मगुरु अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सव भव्य मनाइँदैछ ।

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोहको उद्घाटन गर्न नेपाल सरकारका पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती माङसेबुङ आउँने भएका छन् ।

किरात धर्मगुरु लिङ्देन जन्मोत्सवको अवसरमा इलामको माङ्सेबुङ गाउँपालिका र माई नगरपालिकाले आज एक दिन सार्वजनिक बिदा दिएका छन् ।

महान सेवा समारोहको तयारी पूरा भएको आयोजक किरात चोत्लुङ मुहिङगुम अङसिमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिंह योङहाङले जानकारी दिए ।

प्रमुख अतिथिबाट नुमाङगेन्ना महान सेवा समारोह समुद्घाटन, शुभकामना मन्तव्य, धन्यवाद आशीर्वचन साथै विशेष महान समारोहबीच सावायेहाड नुमाङगेन्ना सेवा हुनेछ । नुमाङगेन्ना सेवामा ७० जना माङसेवासाबा, माङसेवासामाबाट साम्जीक मुन्धुम वाचन हुने महान सेवा समारोह अध्यक्ष योङहाङको भनाई छ ।

समारोहका अध्यक्ष योङहाङका अनुसार यस वर्षदेखि अङसीमाङ तथा अङसीमामाङज्यूको नुमाङगेन्ना सेवासँगै सावायेहाङ माङगेन्ना कार्यक्रम समेत आयोजना गरिएको छ । यसका लागि आवश्यक सामग्रीहरु दियो कलस, थाली, चामल, तेल, धागो, पानी, फूल र माङगेन्ना भेटी भक्तजन आफैंले व्यवस्थापन गर्नुपर्ने छ ।

कार्यक्रमको बारेमा थप्नुहुँदै समारोहका अध्यक्ष केहेरसिं योङहाङले नुमाङगेन्ना सेवाको अवसरमा सम्पूर्ण यस वर्षदेखि प्रत्येक भक्तजनहरुलाई सावायेहाङ जलपान कार्यक्रम पनि व्यवस्था गरिएको छ ।

 

जन्मोत्सव कार्यक्रम अन्तर्गत मंसिर १९ गते मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देनज्यूबाट विशेष माडआशीर्वचन, मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक पुस्तिका विमोचन, माङगेन्ना चामल वितरण हुने जनाइएको छ ।

समारोहका सांस्कृतिक विभाग संयोजक तथा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अनुसार विगतका वर्षझैं मंसिर १८ र १९ गते साँझ बृहत सांस्कृतिक कार्यक्रममा माङसेबुङ इक्ला गायन प्रतियोगिता सञ्चालन हुने छ ।

सम्बन्धित खवर