माङसेबुङमा विशेषज्ञ चिकित्सक सेवा, स्थानीयमा छायो खुसी - Mangsebung News
  • सोमबार, असार १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा विशेषज्ञ चिकित्सक सेवा, स्थानीयमा छायो खुसी

माङसेबुङ/माङसेबुङ ५ नाम्तोक्लाकी कविता लिम्बु आफ्नै गाउँमा सस्तो र चाहे जस्तो स्वास्थ्य उपचार गर्न पाए संगै मख्ख छिन । माङसेबुङ गाँउपालिका ५, भालुटारस्थित आत्मानन्द मेडिकलले अत्यावश्यक स्वास्थ्य सेवा सुचारु गरेसंगै दमक, विर्तामोड लगायत ठुला सहरमा खुलेको अस्पतालहरुमा धाउनु नपर्ने भएको अस्पताल धौने खर्च र समयको समेत बचत हुने लिम्बुले बताईन् ।

स्वास्थ्यकर्मी मनोज सिवाकोटी र रिना सिवाकोटी दम्पतिले सञ्चालनमा ल्याएको आत्मानन्द मेडिकलमा केही महिना अगाडीबाट भिडियो एक्सरे, इसिजि र ल्याब जस्ता सेवा संञ्चालनमा ल्याएका छन् । उक्त सेवाको उपलब्ध भए संगै आत्मानन्द मेडिकलमा सेवाग्राहीहरुको चाप बढ्न थालेको छ ।

दमक स्थित दमक अस्पतालका फिजिसियन वरिष्ठ डा. अनुपम घिमिरेद्धारा सेवा प्राप्त हुन्छ । उनले हरेक महिनाको अन्तिम शनिवार मुटु, दम, बाथ, थाइराइड, सुगर, प्रेसर रोगका विशेषज्ञ सेवा प्रदान गर्छन । डा.घिमिरेका अनुसार बढिजसो दिर्घरोगी सुगर, प्रेसर, हड्डि खिइएको र छालासम्बधि रोगीहरु स्वास्थ्य चेकजाच गर्न आउने गरेका छन ।

गाउँमै बिशेषज्ञसहितको सेवा उपलब्ध हुन थालेपछि स्थानीय सेवाग्राहीहरुमा सहज भएको माङसेबुङ –३, उत्तरेका जीवन लिम्बुले बताए । छोरीको लागि स्वास्थ्य चेकजाच गर्न आएको लिम्बुले मेडिकल आएको बेला आफुले पनि सुगर चेकजाच गरेको सुनाए । उनले भने, ’लामो समयदेखि विभिन्न रोगको उपचार गर्न दमक, विर्तामोड र विराटनगर जानू पर्ने बाध्यता रहेको थियो । तर, गाउँमै बिशेषज्ञ डाक्टरसहित भिडियो एक्सरे, इसिजि र ल्याब आएदेखि सेवाग्राहीहरु खुशी भएका छन् । अर्का सेवाग्राही बिष्णु इधिङगो हरेक महिना आफ्नै गाउँमा स्वास्थ चेक गर्न पाएकोमा खुशी व्यक्त गर्छन् ।

गाउँघरमा डाक्टरले सेवा दिन थालेसंगै गर्भवती महिलाहरुको लागि बच्चा चेकजाँच गर्न सहज भएको कुसुम श्रेष्ठ बताउछिन् । उनको अनुसार गाउँमै भिडियो एक्सरे आएकोले दमक धाउनु पर्ने बाध्यता हटेको बताउदै आफुले गाउँमै चेकजाँच गर्ने गरेको समेत बताइन् ।

मेडिकलमा सेवा सुविधा थपिएसँगै भालुटार आसपासका ठाउँहरुबाट समेत सेवाग्राहीहरु आउन थालेका छन । गाउँमै डाक्टर उपलब्ध भएपछि स्वास्थ्य चेकअप र फलोअप गर्न सहज भएको सेवाग्राहीहरुले बताउने गरेको मेडिकल सञ्चालक सिवाकोटीले बताए ।

विगत डेढदशक अघि माङसेबुङ लारुम्बामा साथीसंग घुम्न आएका थिए, सिवाकोटी । स्वास्थ्य उपचारका समस्या देखेका सिवाकोटीले माङसेबुङमा क्लिनिक चलाउने मनसाय बनाए । त्यसपछि जलेश्वर क्लिनिक माङसेबुङ ३ लामिटार (साविक बाझो ८)मा सञ्चालन गरे । गाउँमा मेडिकल संचालनमा आएसंगै गाउँलेलाई स्वास्थ्य उपचार सेवा बरदान सरह साबित भाएको थियो ।

सम्बन्धित खवर