माङसेबुङ गाउँपालिका वडा नम्बर २ को समग्र विकास निर्माणको सम्भावना र चुनौती साथै नागरिकहरुको सेवा सुविधाको विषयमा वडा अध्यक्ष कृष्णबहादुर बस्नेतसँग माङसेबुङ न्युजले गरेको कुराकानी :
तपाई जनप्रतिनिधिको रुपमा वडा अध्यक्ष निर्वाचित भएर आउनु भएको २ वर्ष पूरा भयो कस्तो महसुस गरिरहनु भएको छ ?
–हामी निर्वाचित भएर आएको दुई वर्ष भयो । केहीँ विकास र समृद्धी गरौला भन्ने उद्देश्यले हाम्रो नारा बनाएका थियौं । हामीले विकासका पुर्वाधारहरु र आधारभुत तहका विकासका कुराहरुमा हामीसँग भएका स्रोत साधनलाई न्यायोचित ढंगले वितरण गर्ने कोशिस गरेका छौं । हामी त्यसको लागि लागिपरेको छौं ।
यो २ बर्षमाविकास निमार्णका गतिविधिकाआधारमाविगत र अहिले तुलनागर्दा आफूलाई कहाँ पाउनु हुन्छ ?
–अहिले त्यस्तो परिणाम निस्किगएको अवस्था त छैन् । तथापी हामीले ५ वर्षको दौडानमा निश्चित केही भूभागमा कृषिको लागि सिंचाई गर्छौं । खानेपानीको लागि हामी आफेैले हाम्रो पहलमा जुन अब चल्ने प्रदेश सरकार र संघीय सरकारबाट चल्ने खानेपानीका कुराहरु सबैलाई थाती राखेर हामीले पनि न्युनतम कुराहरुमा निश्चित घरधुरीहरु किटान गरेर एक घर एक धारो दिने गरी लागेका छौं । विगतमा हामीले केहीँ सुरुवात गरेको छौं र त्यसमा यस चोटी केहीँ सुधार गरेका छौं ।
शिक्षाका कुरामा पनि विगतमा हामीले शैक्षिक सुधारका कार्यक्रमहरु प्रत्येक विद्यालयलाई दिएका छौं । यस चोटी पनि दिएका छौं । खासगरी हामीले शिक्षा सुधारका लागि कार्यक्रम ल्याएका छौ । अहिले अंग्रेजी मिडियम बनाउने कुरामा सबै लागिपरेका छौ, यसको परिणाम आउन बाँकी छ, केहीँ समय पर्खौ र हेरौं ।
हाम्रो वडामा अढाई करोडको लागतमा बनेको बर्थिङ सेन्टर सहितको ५ शैयाको अस्पताल छ । हामीले स्वास्थ्यका लागि गाउँपालिकामा भनसुन गरेर केहीँ दरबन्दीहरु फुलफिल गरेका छौं । जम्मा ६ जना स्टाफ हुनुपर्नेमा अहिले ४ जना मात्र छन् । तर, केहीँ कठिन प्रकृतिका उपचार जस्तै बर्थिङको काम र एच.ए. डाक्टरहरुको दरबन्दी अहिले खाली नै रहेको छ । पालिकामा माग गरेका छौं । तर, पनि हाम्रो वडामा गाउँपालिकाबाट निशुल्क दिइने औषधिको कमी छैन् ।
निर्वाचनको समयमा जनता सामू गर्नु भएका प्रतिबद्धताहरु कति पुरा भए ?
–अहिले हामी प्रारम्भिक चरणमै रहेका छौं । दुई सालको परिणाम हेर्दा सिंचाईमा ठूलो प्रगति गरिराखेका छौं । सिंचाईमा भन्दा खानेपानीको क्षेत्रमा परिणाम देखिने गरी काम भएका छन् ।
विकासका पूर्वाधारहरु निर्माण गर्ने काममा यो २ वर्षमा जनताले महसुस गर्ने गरी कामहरु के के भए ?
–अहिले गर्व गर्ने त्यस्तो चमत्कारै गर्यौ भन्ने त केहीँ छैन् । जनताले महसुस गर्ने गरिको कामहरुमा हामीले सिंचाई र खानेपानीको क्षेत्रमा गरेका छौं । तथापी पनि हामीले जनताले महसुस गर्ने गरी सबै विद्यालयहरुमा शिक्षाको क्षेत्रमा अनुदान कार्यक्रमहरु राखेका छौं । हामी आएपछि एउटा प्रहरी चौकी निर्माण गरिएको छ ।
तपाईको वडामा आउने बजेटको पर्याप्तता कस्तो छ ?
–बजेट जस्तो कुरा कहिले पर्याप्त हुँदैन । बजेटका कारण हामीले ठूलो दबाब झेल्नु पर्छ । वडामा भएको बजेटलाई कसरी न्यायोचित र प्राथमिकीकरण गर्ने विषयमा ठूलो चुनौती रहेको छ । तथापि पनि विकासका आधारभूत कुराहरुमा प्राथमिकताका आधारमा काम गर्ने गरेका छौं । बजेट एकदमै अभाव रहेको छ । यो पूर्ण हुने कुरा पनि भएन । अघिल्लो कार्यकालका साथीहरुले ६० लाख वडा सिलिङ पाएर पनि करोडौं भन्दा माथिका योजनाहरु सञ्चालन गर्नुहुन्थ्यो । बजेटहरु नै प्रशस्तै आउथ्यो । हाम्रो पालामा त सम्झौता गर्दा पनि बजेट आएको छैन् । फेरी सम्झौता गर्नुपर्छ भन्ने, कटौतीको सूचना आउने । भएको पनि निर्धकका साथ कार्यान्वयनमा लैजान सकिने अवस्था छैन् ।
यस वडामा केहीँ महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यहरु छन, ती कुन कुन हुन् ? तिनीहरुको विकास र प्रवद्र्धनमा के कस्ता कामहरु गर्नुभयो ?
–धार्मिक तथा पर्यटकीय क्षेत्रहरु यहाँका सबैभन्दा महत्वपूर्ण आकर्षक कुराहरु हुन् । हाम्रो वडा भनेको त राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनको जन्मनु भएको ठाउँ हो । वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेनको जन्मस्थल पनि छ । जननेता रत्नकुमार वान्तावाको सहादत प्राप्त क्षेत्र पनि हो । यसको शिरमा माङमालुङ पर्यटकीय क्षेत्र पनि रहेको छ । ३/४ वटा विषयलाई प्रवद्र्धन गर्न सके यहाँका मान्छेको राम्ररी दिन दैनिकी चल्थ्यो । फूल बेचेरै जिन्दगी चल्थ्यो कि । सामान्य टनेल खेती गरेर पनि गुजारा चलाउन सकिन्छ भन्ने अपेक्षा राख्न सकिन्छ । यी क्षेत्रहरुलाई माष्टर प्लान बनाएर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि प्रदेश सरकार समक्ष योजना माग गरेको छौं ।
हामीले भर्खरै मात्र फाल्गुनन्दको जन्मस्थानमा मास्टर प्लान गरेर पर्यटन तथा धार्मिक क्षेत्रको रुपमा विकास गर्न कामको थालनी गर्नुपर्छ भनेर प्रदेशमा योजना माग गरेको छौं । यसैगरी धार्मिक तथा हाम्रा संस्कार सस्कृतिहरुआदानप्रदान भन्ने कार्यक्रम राखेर मात्र १ लाख रुपैयाँ छुट्याका थियौं । हामीले हाम्रा किरात धर्मका सेवासाबाहरु, हिन्दु धर्मका पुरेतहरु, बौद्ध धर्मका लामा गुरुहरु, प्रेम पथका र इसाइ धर्मका साथीहरुसँग संयुक्त तीर्थयात्रा गर्ने र संस्कार संस्कृति आदान प्रदान गरेका थियौं । एउटै धार्मिकस्थलमा गएर एउटै पूजाआजा गरेर विघौत ग्रहण गरेर शुभआशीर्वाद लिएका छौं । यसमा एकता, एक रुपता, सदभाव र माया छ भनेर देखिएको छ । यसमा म खुशी छु ।
यस वडामा धार्मिक तीर्थस्थलहरुमा हिन्दु समुदायले पुज्ने शिवालय मन्दिर छ । यसमा गाउँपालिकाबाट १० लाखजति बजेट आएको छ । भिमसेन थान मन्दिर पनि रहेको छ । यस मन्दिरलाई पनि पालिकाले बजेट दिएको छ । माथिल्लो भेगमा अरु थुपै मन्दिरहरु रहेको छ । ५ वटा जति चर्च पनि रहेको छ ।
अन्त्यमा तपाईको वडावासी जनतालाई के भन्न चाहनुहुन्छ ?
–सम्पूर्ण वडा बासीलाई मेरो अनुरोध छ । अहिले हामी बढो संकटको घडीमा छौं । विगतमा पाउने बजेटको आकार जत्रो पनि छैन् तर महँगी दिनानु दिन बढ्ढो छ । हामी जनप्रतिनिधिले जति नै काम गर्ने हुटहुटी बोके पनि बजेटको कारण खुम्चिन बाध्य छौं । तथापि हाम्रो बजेटले नभ्याए पनि प्रदेश सरकार, संघीय सरकारसँग माग गरेर काम गर्छौ भनेका छौं । जस अन्तर्गत चित्रे खोला खानेपानी आयोजना संघीय सरकारसँग माग गरिएको छ, जुन सरकारले दिन्छ भन्ने लागेको छ । फेवाखोला साना सिंचाई आयोजना सम्पन्न भएको छ । माथिल्लो क्षेत्रको लागि तामाखोला सिंचाई आयोजनाको लागि डिपिआर सम्पन्न भएको छ, अब छिटै कार्यान्वयन हुन्छ । हामीसँग भएको स्रोतको सदुपयोग गर्दा कतिको धान्छ त्यसमा पनि भर पर्छ । माथिल्लो क्षेत्रको लागि दुईवटा खास सम्भावना रहेको छ, महागुरुको जन्मस्थल चुक्चिनाम्बा र माङमालुङलाई विकास गरी प्रवद्र्धन गर्नुपर्नेछ ।