भदौ १५, माङसेबुङ । पेरिस पारालिम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले ऐतिहासिक कांस्य पदक जितेकी छन् ।
शुक्रबार पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले कांस्य पदक जितेकी हुन् ।
पलेशा छनोटचरण पार गर्दै पेरिस पारालिम्पिक नेपालको प्रतिनिधित्व गरेकी हुन् । गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् ।
छनोटचरण पार गर्दै पारालिम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बनेकी पलेशा पारालिम्पिकमा पदक जित्ने उनी पहिलो खेलाडी बनेकी छन् ।
पलेशाले सरकारबाट ६५ लाख रुपैयाँ पाउने
पेरिस पारालिम्पिक– २०२४ नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने छिन् ।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार पारालिम्पिकमा व्यक्तिगततर्फ स्वर्ण जित्नेलाई एक करोड ३० लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था गरिएको छ । यस्तै, रजत जित्नेलाई ९७ लाख र कांस्य जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ । यही व्यवस्था अनुसार पलेशाले ६५ लाख रुपैयाँ सरकारबाट प्राप्त गर्ने भएकी हुन् ।
यस्तै, पलेशाका प्रशिक्षक कविराज नेगी लामाले पाँच लाख ८५ हजार रुपैयाँ पुरस्कार र नेपाल तेक्वान्दो संघले भने ११ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्नेछ ।