सन्दकपुर माबु हाङमादेनमा देवसवार हुँदै, माङहिम उद्घाटन तथा सालिक अनवरण गर्नुहुने - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सन्दकपुर माबु हाङमादेनमा देवसवार हुँदै, माङहिम उद्घाटन तथा सालिक अनवरण गर्नुहुने

असोज २७, माङसेबुङ । धार्मिक पर्यटकिय स्थल इलामको सन्दकपुर गाउँपालिका वडा नं. ४ स्थित माबुको हाङमादेनमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देवसवार हुने भएको छ ।

मावुको हाङमादेनमा आगामी कातिक २५ गते किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४० औं जन्मजयन्ती केन्द्रीय कार्यक्रममा अङसीमाङ अङसीमामाङज्यूहरुको देवसवार हुने भएको हो ।

 

महागुरु फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्ती मूल समारोह समुद्घाटन कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पबित्रहाङमा लिङ्देनज्यूहरुको देवसवार हुने किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १४० औं जन्मजयन्ती तथा किरात फाआप मिङ्सो माङहिम समुदघाटन एवं महागुरु फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरण कार्यक्रम मुल आयोजक समितिका सचिव विवीहाङ सावदेन ‘मावुले कान्छा’ले बताएका छन् ।

महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४० औं जन्मजयन्तीको अवसरमा इलामको सन्दकपुर गाउँपालिका वडा नं. ४ स्थित माबुको हाङमादेनमा अङसीमाङ तथा अङसीमामाङको हस्तवाहुलीबाट नव निर्मित किरात फाआप मिङ्सो माङहिम समुदघाटन एवं महागुरु फाल्गुनन्दज्यूको पूर्ण कदको सालिक अनावरण कार्यक्रम हुने मुल आयोजक समितिका अध्यक्ष धनप्रसाद सावदेनले बताएका छन् ।

महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४० औं जन्मजयन्ती कार्यक्रम मनाउने क्रममा यस वर्ष इलामको सन्दकपुर गाउँपालिकाको वडा नं. ४ माबुमा केन्द्रीय कार्यक्रमको रुपमा आयोजना गरिएको हो । जन्मजयन्तीको अवसरमा आयोजना गरिएको केन्द्रीय कार्यक्रमको आयोजना व्यवस्थापनको लागि माङहिम निर्माण समिति र शालिक निर्माण समितिको संयुक्त रुपमा मूल समारोह समिति गठन गरिएको छ । माबुमा आयोजना गरिएको केन्द्रीय कार्यक्रममा मात्र नभई किरात धर्मावलम्बीहरु बसोबास भइरहेको संसारको जुनसुकै ठाउँमा पनि महागुरु फाल्गुनन्द जन्मजयन्ती भव्यताका साथ मनाउने तयारी भइरहेको किरात धर्मावलम्बीहरुको भनाई छ ।

माङहिमको नामाकरण

राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको नामको पहिलो अक्षर ‘फा’, किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ज्यूको नामको पहिलो अक्षर ‘आ’ र गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नामको पहिलो अक्षर ‘प’ मिलाएर किरात फाआप मिङ्सो माङहिमको नामाकरण गरिएको मुल आयोजक समितिका सचिव विवीहाङ सावदेन ‘मावुले कान्छा’ले बताएको छ ।

करिवन एक करोड रुपैयाँको लागतमा निर्माण गरिएको किरात फाआप मिङ्सो माङहिमको शिलन्यास भने २०७३ साल भदौमा तत्कालिन संसद तथा पुर्व राज्यमन्त्री केशव थापाले गरेका हुन् । विश्वमा छरिएर रहेको किरात धर्मावलम्बी भक्तजनहरुको आर्थिक सहयोग तथा स्थानिय, प्रदेश र संघिय सरकारको समेत सहयोगमा माङहिमको निर्माण सम्पन्न गरिएको मुल आयोजक समितिका अध्यक्ष धनप्रसाद सावदेनले बताएको छ ।

यसैगरी करिवन २२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको महागुरुज्यूको सालिक स्थापना गर्न समेत विश्वमा छरिएर रहेको किरात धर्मावलम्बी भक्तजनहरुको आर्थिक सहयोगबाट सम्भव भएको मुल आयोजक समितिका आर्थिक संयोजक प्रसान्त सावदेनले बताए । उनका अनुसार कार्यक्रम सम्पन्न गर्न समेत किरात धर्मावलम्बी भक्तजनहरुको आर्थिक सहयोग सबैठाउँबाट आईरहेको बताए ।

जन्मजयन्ती कहाँ कहाँ मनाइन्छ ?

किरात धर्मावलम्बीहरु बसोबास रहेको विश्वको विभिन्न मुलुकमा महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम मनाउने गरिएको छ । किरात धर्मावलम्बीहरु बसोवास भइरहेको नेपालको विभिन्न जिल्लाहरुमा जन्मजयन्ती मनाउने गरेका छन् । किरातजन्य धार्मिक तथा सामाजिक संघ संस्थाहरुले विशेष गरी फाल्गुनन्द जन्मजयन्ती मनाउने गरेका छन् ।

नेपालको ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, उत्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, उदयपुर, खोटाङ, भोजपुर लगायतका जिल्लाहरुमा साथै प्रत्येक किरात माङहिमहरुमा जन्मजयन्ती मनाउने तयारी भइरहेको जनाइएको छ ।

पछिल्लो समयमा नेपालमा मात्र नभई भारत, भूटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबइ, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रस लगायत विश्वका विभिन्न मुलुकहरुमा महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिएको छ । किरात धर्मदर्शनका महान दार्शनिक एवं राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १४० औं जन्मजयन्ती समारोह मनाउने गरिएको छ ।

महागुरु फाल्गुनन्दको संक्षिप्त चिनारी

माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो भनि सिवाखाहुन दिनुहुने दार्शनिक किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन जन्मिएको १३९ वर्ष पूरा भई आगामी कातिक २५ गतेबाट १४० वर्षमा प्रवेश गर्दै छ । यहीँ अवसरमा महागुरु फाल्गुनन्दको १४० औं जन्मजयन्ती आगामी कार्तिक २५ गते विविध कार्यक्रम आयोजना गरी संसारभर मनाईदैछ ।

तत्कालीन समयमा लोपोन्मुख अवस्थामा पुगेको किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिलाई पुनः उत्थान गर्न र कुरीति कुसंस्कारमा रमाइरहेका किरात समुदायलाई सत मार्ग दर्शनमा डो¥याउन किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको किरात समुदायमा जन्म भएको थियो । सत् आहार, सत् विहार र सत् कर्म गर्नु भनि सिवाखाहुन दिनुहुने महागुरु फाल्गुनन्दको सत्य, शान्ति र अहिंसावादी दर्शनलाई पछिल्लो समय विश्वमा अनुसरण गर्न थालिएको छ । वहाँ सत्य, शान्ति र अहिंसाका सूत्रधारको रुपमा सबैमा पुज्य हुनु भएको छ । किरात धर्मावलम्बीहरुले वहाँलाई किरात धर्म दर्शन पुनः उत्थापक, महान समाज सुधारक मुहिङगुम अङसीमाङको रुपमा आस्था र श्रद्धा पोख्ने गर्दछन ।

महागुरु फाल्गुनन्दले तत्कालीन कुरीति कुसंस्कारमा रुमलिरहेका समाजलाई सुधार गर्नका लागि वि.स. १९८८ साल बैशाख २४ गते पान्थरको लब्रेकुटीमा तत्कालीन लिम्बुवानबासी गन्यमान्य सुब्बा, सुवाङगी, कारवारी, बुद्धिजीवीहरुलाई आमभेला बोलाएर सत्य धर्म मुचुल्का निर्माण गर्नु भएको थियो । समाज सुधार अभियानमा आजीवन लाग्नु भएका महागुरुलाई राज्यले जीवन भरी राजद्रोही, देशद्रोही र पूर्व लिम्बुवानको राजा हुन खोजेको आरोप लगाउँदै गिरफ्तार गर्ने र अनेकौं दुःख, पीडा दिने काम मात्र गरेको थियो । तर, वहाँको देहावसान भएको ६१ वर्षपछि राज्यले पनि महागुरु फाल्गुनन्दलाई समाज सुधारकको रुपमा चिनेको छ । यसरी राज्यले चिनेपछि वहाँलाई वि.स. २०६६ मंसिर १६ गते नेपाल सरकारले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिले सम्मानित गरेको छ ।

छरपस्टिएको र दिशाविहिन किरात धर्म दर्शनलाई निश्चित मार्ग देखाउँदै किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिलाई पुनः उत्थान गर्नुभएकोले किरात धर्म दर्शनदाता, तत्कालीन किरात समुदायमा चलेको कुरीति कुसंस्कारलाई हटाउन वि. स. १९८८ साल बैशाख २४ गते पान्थरको लब्रेकुटीमा १० लिम्बुवान १७ थुमका गन्यमान्यहरुको भेला गराई समाज सुधार गर्न ७ बुद्धे सत्य धर्म मुचुल्का निर्माण गर्नुभएकोले समाज सुधारक र राष्ट्रले राष्ट्रिय विभूषणले सम्मानित गरेकोले फाल्गुनन्दलाई राष्ट्रिय विभूतीको रुपमा पनि सबै माझ पुज्य हुनुभएको छ । तत्कालीन समयमा लोपोन्मुख अबस्थामा पुगेको किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिलाई पुनः उत्थान गर्न र कुरीति कुसंस्कारमा रमाइरहेका किरात समुदायलाई सत मार्ग दर्शनमा र्डोयाउन अहोरात्र लाग्नु भएको थियो ।

नेपालको पूर्वी लिम्बूवान भूमिको इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा नं. २ साविक इभाङ गा.वि.स वडा नं. ५, चुक्चीनाम्बा गाउँमा बुवा जगुनवाज लिङ्देन र आमा हंसमति वेघा लिम्बूको कोखबाट वि. स. १९४२ साल कार्तिक २५ गते आइतबार साईला छोराको रुपमा मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्दको जन्म भएको थियो । मुहिङगुम अङसीमाङ फाल्गुनन्दले वि. स. २००५ चैत २२ गते सोमबार अपरान्ह ६३ वर्षको उमेरमा पान्थरको सिलौटी मुनी हाङयकमा देहत्याग गर्नु भयो ।

हाङ्यकमा देहत्याग गर्नु भएपछि महागुरुको पार्थिव शरिरलाई सिलौटी माङहिममा पु¥याएर तीन दिनसम्म राखेर टाढा टाढाका चेलाहरुलाई खबर गरी तीन दिनपछि बुधबार विधिवत रुपमा ठूलो सेवा लगाएर अन्तिम संस्कार गरिएको थियो । यसरी महापुरुष मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङदेनको देहवसान पश्चात, देह त्याग गर्नुभएको स्थल हाङयक र सिलौटीमा जहाँ अन्तिम संस्कार गरिएको थियो, त्यहाँ समाधिस्थल निर्माण गरिएको छ ।

 

सम्बन्धित खवर