कातिक २, माङसेबुङ । घरेलु टोली अमेरिकाविरुद्धको तीन खेलको टी–२० आई शृंखला नेपालले जितबाट सुरुवात गरेको छ ।
शुक्रबार बिहान भएको पहिलो खेलमा नेपालले घरेलु टोलीमाथि १७ रनको जित हासिल गर्दै सुखद सुरुवात गरेको हो ।
नेपालले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन मात्रै बनायो ।
अमेरिका शायन जहाँगीरले अविजित रहँदै सर्वाधिक ६० रन बनाउँदा अन्द्रेस गौसले ३० रन, मलिन्द कुमारले २२ रन र जसदीप सिंहले १६ रन बनाए ।
नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक तीन विकेट लिंदा रिजन ढकाल, करण केसी र गुलसनकुमार झाले समान एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६४ रन बनाएको थियो ।
नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाउँदा ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले समान २७ रन, दीपेन्द्रसिंह ऐरीले २८ रन गुलसनकुमार झाले ११ रन र कुशल भुर्तेलले १० रन बनाए ।
अमेरिकाका सौरभ नेत्रावलकर, जसदीप सिंह र हरमित सिंहले समान दुई विकेट लिंदा अली खान र नोस्टुश केन्जिगेले समान एक विकेट लिए ।
नेपालले दोस्रो खेल आइतबार र तेस्रो तथा अन्तिम खेल सोमबार खेल्नेछ ।