आइसिसी विश्वकप लिग २ मा अमेरिकासँग नेपाल पराजित - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आइसिसी विश्वकप लिग २ मा अमेरिकासँग नेपाल पराजित

कातिक १२, माङसेबुङ । आइसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपालले हारबाट सुरु गरेको छ ।

सोमबार बिहान अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा भएको खेलमा घरेलु टोली अमेरिकासँग तीन विकेटले हार बेहोरेको हो ।

नेपालले दिएको २८६ रनको लक्ष्य अमेरिकाले अन्तिम दुई बल बाँकी हुँदा सात विकेट गुमाएर पूरा गर्यो ।

अमेरिकाको जितमा ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित सर्वाधिक १०४ रनको शतकीय इनिङ खेले । यस्तै कप्तान मोनांक पटेल ६२ रन, साइतेजा मुकामल्ला ११ रन, मिलिन्द कुमार ५ रन सन्जय कृष्णमुर्ती शून्यमा आउट भए । यस्तै हरमित सिंहले ५७ रन, शाड्लीले २७ र जसदीप सिंहले ११ रन बनाए ।

नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो ।

नेपालका रोहितकुमार पौडेलले शतक बनाउनबाट चार रनले चुक्दा अनिलकुमार साहले ५६ रन र आसिफ शेखले ५२ रनको अर्धसतकिय योगदान दिए ।

कुशल भुर्तेल ११ रन, आरिफ शेख ३७ रन, दीपेन्द्रसिंह ऐरी १३ रन, गुल्सन झा १ रन, सन्दीप लामिछाने ५ रन र सोमपाल कामी २ रनमा आउट भए ।

अमेरिका नोष्थुश केन्जिगेले ४ विकेट लिए । हरमीत सिह, शाड्ली भान शाक्ली र जसदीप सिंहले समान एक विकेट लिए ।

लिग २ मा नेपालको यो नवौं हार हो । नेपाल एक जित र एक टाइसहित तीन अंक जोड्दै सातौं स्थानमा छ । एक खेल बढी खेलेको अमेरिका सात जित र तीन हारसहित १४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

नेपालले अव मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।

सम्बन्धित खवर