आत्मानन्द गोल्ड कप आजबाट सुरु, माङसेबुङ र सिरिजङगा मोरङ भिड्दै - Mangsebung News
  • बुधबार, मङि्सर २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द गोल्ड कप आजबाट सुरु, माङसेबुङ र सिरिजङगा मोरङ भिड्दै

माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा ‘आत्मानन्द गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज आइतबारबाट सुरु हुने उद्घाटन खेलमा अमाङसेबुङ गाउँपालिका र सिरिजङगा स्पोर्टिङ क्लब मोरङविच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो २ वजे सुरु हुनेछ ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा मंसिर ९ देखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।

अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा नेपाल र भारतका ८ चर्चित फुटबल टिमहरु सहभागी हुनेछ । जसमा आयोजक युथ अफ माङसेबुङ, माङसेबुङ गाउँपालिका इलाम, तिजोक यूवा क्लब पाँचथर, दुधे यूथ क्लब झापा, चुलाचुली स्र्पोटिङ क्लब झापा, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, दमक भाङबारी स्पोर्टिङ क्लब झापा र भारतबाट एम.एफ.सि. दार्जिलिङ पाहुना टोलीको रुपमा सहभागी रहेको छ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छन् ।

यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाईलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।

आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा समारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा प्रतियोगिता संचालन हुनेछ ।

यसैगरी आज हुने उद्घाटन खेल भन्दा अगाडी सञ्चारकर्मी र शिक्षकहरुविच मैत्रीपुर्ण खेल हुने समेत आयोजक आत्मपवित्र खेलकुद समितिका सचिव सरिता राईले जानकारी दिएकी छन् ।

खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित खवर