माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा आज आयोजक (युथ अफ माङसेबुङ) र दमक भाङबारी स्पोर्टिङ क्लव झापाविच प्रतिस्पर्धा हुदैंछ ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार आयोजक र दमक भाङबारीविच प्रतिस्पर्धा हुने भएको हो । खेल दिउँसो २ वजे सुरु हुनेछ ।
यसअघि हिजो भएको खेलमा माङसेबुङ गाउँपालिका इलामलाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सिरिजङगा स्पोर्टिङ क्लब मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेल निर्धारित समयमा गोल रहित बराबरीमा सकिएपछि नतिजा टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा मोरङले बाजी मार्यो ।
टाईब्रेकरमा सिरिजङगा मोरङको लागि आशिस लावती, साउरे राउत, धिरेन क्षेत्री, र रोशन धिमालले गोल गर्दा सुजन रसाइलीको प्रहार माङसेबुङका गोलरक्षकले बचाएका थिए । यस्तै माङसेबुङका बिशाल दर्जी, प्रविण राई र महेन्द्र लिम्बूले गोल गर्दा रचिन माझीको प्रहार बाहिरियो भने, मिलन राईको प्रहार मोरङका गोलरक्षक प्रमिजर गच्छदारले रोकेका थिए ।
खेलको मेन अफ दी म्याच सिरिजङगा मोरङका गोलरक्षक प्रमिजर गच्छदार घोषित भए । उनले नगद पुरस्कार ५ हजार प्राप्त गरे ।
प्रतियोगितामा नेपाल र भारतका ८ चर्चित फुटबल टिमहरु सहभागी हुनेछ । जसमा आयोजक युथ अफ माङसेबुङ, माङसेबुङ गाउँपालिका इलाम, तिजोक यूवा क्लब पाँचथर, दुधे यूथ क्लब झापा, चुलाचुली स्र्पोटिङ क्लब झापा, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, दमक भाङबारी स्पोर्टिङ क्लब झापा र भारतबाट एम.एफ.सि. दार्जिलिङ पाहुना टोलीको रुपमा सहभागी रहेको छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छन् ।
यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाईलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।
प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोहको आयोजनामा आत्मापवित्र खेलकुद समितिको मुख्य संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा प्रतियोगिता संचालन हुनेछ ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।