आत्मानन्द गोल्ड कप : आयोजकलाई हराउँदै दमक भाङबारी अन्तिम चारमा - Mangsebung News
  • बुधबार, मङि्सर २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द गोल्ड कप : आयोजकलाई हराउँदै दमक भाङबारी अन्तिम चारमा

माङसेबुङ । दमक भाङबारी स्पोर्टिङ युथ क्लब झापा इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार भएको खेलमा आयोजक (युथ अफ माङसेबुङ) इलाममाथि ४–१ को सानदार जित निकाल्दै राष्ट्रिय खेलाडी र ए डिभिजन क्लवका खेलाडीहरुको वर्चस्व रहेको टिम दमक भाङबारी सेमिफाइनलमा प्रवेश गरेको हो ।

दमकको जितमा पेमा तामाङ, देवेन्द्र तामाङ, रोहन भुजेल र गिल्सन कन्दङवा लिम्बूले गोल गरे । आयोजकका लागि भने एक मात्र गोल आसाङ योङहाङले फर्काए ।

खेलको पहिलो हाफको १२ औं मिनेटमा पेमा तामाङको गोलमा दमकले अग्रता बनायो । तर, खेलको दोस्रो हाफको ४५ औं मिनेटमा आयोजकका आसाङ योङहाङले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि खेलको अन्त्यतिर दमकका देवेन्द्र तामाङले गोल गर्दै अग्रता २–१ को बनायो । खेलको इन्जुरी समयमा रोहन भुजेल र गिल्सन कन्दङवा लिम्बूले लगातार गोल गर्दै दमकलाई ४–१ को जित दिलाए ।

खेलको मेन अफ दी म्याच दमक झापाका राष्ट्रिय खेलाडी समेत रहेका देवेन्द्र तामाङ घोषित भए । उनले ट्रफी र नगद ५ हजार ७१ रुपैयाँ हात पारे ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोहको आयोजनामा आत्मापवित्र खेलकुद समितिको मुख्य संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा जारि प्रतियोगिता अन्तरगत भोलि मंगलबार दुधे यूथ क्लब झापा र चुलाचुली स्र्पोटिङ क्लब झापाविच हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।

अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छन् ।

यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाईलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

सम्बन्धित खवर