माङसेबुङ । दुधे युथ क्लब, झापा इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा सिरीजङगा स्पोर्टिङ क्लब, मोरङबिरुद्ध २–० को रोमाञ्चक जित निकाल्दै दुधे झापा फाइनलमा प्रवेश गरेको हो ।
दुधे झापाको जितमा राजेश दाहाल र प्रदिप बुढाथोकीले समान एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको खेलमा दुधेको दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
दुधे युथ क्लब, झापाका खेलाडीहरु
खेलको ४३ औं मिनेटमा दुधे झापाले राजेश दाहालको गोलमा अग्रता बनाए । त्यसपछि खेलको ५७औं मिनेटमा प्रदिप बुढाथोकीले गोल गर्दै २–० को जित दिलाए ।
खेलको मेन अफ दी म्याच दुधे झापाका निकेश श्रेष्ठ घोषित भए । उनले ट्रफी, मेडल र नगद ५ हजार ७१ रुपैयाँ हात पारे ।
मेन अफ दी म्याच निकेश श्रेष्ठ
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा महासमारोह समितिको आयोजनामा आत्मापवित्र खेलकुद समितिको मुख्य संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा सञ्चालन भईरहेको प्रतियोगितको भोलि शुक्रबार हुने दोस्रो सेमिफाइनल खेल दमक भाङबारी स्पोर्टिङ युथ क्लव, झापा र तिजोक युवा क्लव, पाँचथरबिच हुने आयोजक आत्मा पवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।
खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।
सिरीजङगा स्पोर्टिङ क्लब, मोरङका खेलाडीहरु