लिम्बु भाषाको चलचित्र ‘सेक्मुरी’ निर्माण हुने, पुस २३ बाट छायंकन सुरु - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बु भाषाको चलचित्र ‘सेक्मुरी’ निर्माण हुने, पुस २३ बाट छायंकन सुरु

काठमाडौं । लिम्बु भाषाको चलचित्र ‘सेक्मुरी’ निर्माण हुने भएको छ । बिहिबार ललितपुरस्थित हात्तीवनमा लिम्बुनी फिल्म्सद्वारा शुभमुहर्त कार्यक्रमको आयोजना गरि चलचित्र ‘सेक्मुरी’ निर्माण गर्ने घोषणा गरिएको हो ।

सुभमुहर्त कार्यक्रममा आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति चलचित्र विकास बोर्डका संयोजक ज्योतिराज राई, नेपाल आदिवासी जनजाति चलचित्र महासंघका निवर्तमान संघीय अध्यक्ष अमृत सुनुवार, किरात याक्थुङ चुम्लुङका संघीय सचिव यासेली योङहाङ, याक्थुङ मुन्चइत चोक सयङका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

आगामी पुस २३ गतेबाट पान्थर, इलाम, काठमाडौं र हङकङमा छायांकन गरिने चलचित्रमा सूर्यप्रकाश चेम्जोङको लेखन÷निर्देशन रहनेछ । करिव ७५ लाख लगानीमा निर्माण हुने चलचित्रमा रविन कुमार नाल्बो, चन्द्रकला नेम्बाङ, पूर्ण सेलिङ, घनेन्द्रराज फियाक, माया तामाङ र सुनाहाङ जबेगु निर्माता रहेका छन ।

युवराज राइको छायांकन, यासेली योङहाङको गीत, अशोक मुकारुङको संगीत, साहिल खानको सम्पादन, दिनेश माङमु र महेश्वर सम्बाहाम्फेको सह–निर्देशन रहनेछ भने रवी सेर्माले प्राविधिक क्षेत्र हेर्नेछन ।

आगामी २०८२ देखि प्रदर्शनमा ल्याइने चलचित्रमा प्रेम सुब्बा, सागर केरुङ, बबिता फोम्बो, नरेश वनेम, पबी तेम्बे, पूर्ण सेलिङ, याम नेयोङ, इन्दु तुम्सा, डिआर हाङसरुम्बा, अल्का चोङबाङ र जानुका लिम्बु लगायतले अभिनय गर्नेछन ।

एक परिवारको जिम्मेवार महिला आफ्नो परिवार र समुदायमा राम्रो काम गर्दा गर्दै अचानक दुर्घटनामा परि उनको मृत्यु हुन्छ । विद्यमान लिम्बु संस्कार अनुसार नराम्रो बाटोमा मरेको भनेर उनको एकै दिनमा येवा बोलाएर बाटो लगाईन्छ । ति युवतीले मृत्यु पछि संस्कार नपाएपछि उनको आत्मा असन्तुष्ट बन्छ । उसको आत्मा भड्किछ र तर्सासाउन थाल्छ । उनले मुक्ति पाउनको लागि संघर्ष गर्ने कथालाई मुख्य कथासारको रुपमा लिइएको छ ।

कुनै पनि जातिको पहिचान उसको संस्कार संस्कृतिले निर्धारण गर्छ । संस्कार संस्कृति नै सकियो भने त्यो जाति सकिए सरह हुन्छ । लिम्बु जातिको संस्कारहरु मध्ये मृत्यु संस्कार एउटा मूख्य संस्कार हो । जति नै धनी सम्पतिवल भए पनि, जति नै ईमान ईज्जत प्रतिष्ठा कमाएको भए पनि उसले मरेर गएपछि पाउने मृत्यु संस्कार हो, जसलाई फजे भनिन्छ । फजेको दिन मरेर जानेको सबै आफन्त ईष्टमित्र दाजुभाई, साथिभाई तानागोता, हितेरी मितेरी सबैलाई बोलाईन्छ । मरेको मान्छेको लागि पनि खेमा हिम बनाएर राखिन्छ । यसलाई साम्दाखुङ पनि भनिन्छ ।

सबै आफन्तजनहरुले विभिन्न खानेकुराहरु ल्याएर मरेर जानेलाई हुवा दिन्छन् । यो दिन मृत आन्मासँगको आत्मियता साँध्ने, उसको आत्मालाई राम्रो बाटो लगाउने, साङग्राम पेदाङ पठाउने सुख, शान्तिको लागि हर्ष उल्लास मनाउने दिन हो । यसलाई फजे गरी दिएको मानिन्छ । यो दिन जिवित मान्छेहरु र मरेर जाने मान्छेको आत्मासँगको अन्तिम विदाईको दिन पनि हो ।

त्यसैले मरेको मान्छेलाई संस्कार अनुसार पूर्ण रुपले काजक्रिया गरी दिनु पर्र्छ अथवा फजे गरी दिनु पर्छ । यसो गरे मरेर जाने मान्छेको आत्माले सम्मान पाउँछ । नभए उसको आत्मा भड्किन्छ र आत्माले सधै दुःख पाउँछ, पुस्ता पुस्ता सम्म दुःख दिई रहन्छ भन्ने लिम्बु समुदायमा जन विश्वास छ । यसलाई यस चलचित्रमा उठान गर्न खोजिएको छ र यस चलचित्रको मूख्य सन्देश पनि यही रहेको निर्माण पक्षले जनाएको छ ।

सम्बन्धित खवर