माङसेबुङ । इलामको माङसेबुङमा एक दिने क्यान्सर रोग तथा गुप्त रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शनिबार माङसेबुङ कृषि बहुउद्देशीय सहकारी संस्था लिमिटेडको आयोजनामा माङसेबुङ ५, भालुटारस्थित सरस्वती माविको हलमा भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ९९ जनाले सेवा लिएका छन् ।
युनिभर्सल युथ ग्रुप तथा युनिभर्सल गुप्त रोग स्वास्थ्य सेवा केन्द्र उर्लाबारी मोरङको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा ४२ जनाले पाठेघर र मुखको क्यान्सर भिआइए निःशुल्क परिक्षण गरेको आयोजक माङसेबुङ कृषि बहुउद्देशीय सहकारी संस्थाका व्यवस्थापक चनबहादुर सेर्माले बताए ।
यसैगरी ५४ जनाले निःशुल्क औषधि, ४५ जनाले निःशुल्क ल्याब परीक्षण र ५ जनाले निःशुल्क आङ खस्ने रिङ प्रेसरी स्वास्थ्य सेवा लिएको व्यवस्थापक सेर्माले बताए ।
स्वास्थ्य शिविरमा गाइनो, पाइल्स, फिस्टुला, भिआइए लगायतका स्वास्थ्य परीक्षण भएको युनिभर्सल युथ ग्रुप तथा युनिभर्सल गुप्तरूप स्वास्थ्य सेवा केन्द्र उर्लाबारीका कार्यक्रम संयोजक राजिव बस्नेतले जानकारी दिएका छन् ।
शिविरमा जेनेरल सर्जन एमबिबिएस एमएस डाक्टर प्रदिप यादव र महिला रोग विशेषज्ञ एमबिबिएस एमडी डाक्टर विद्या पोखरेल लगायत स्वास्थ्यकर्मीहरुले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।