काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी म्याथ्यू रसले सम्हाल्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अस्ट्रेलियका रसलाई नियुक्त गरेको हो ।
रसले स्पेनका युयान्डे रामोस, स्पेनकै युलियन गुइएरो, फ्रान्सका रेने लोबेलो र इङ्ल्यान्डका जेमी डेलाई पछि पार्दै नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी पाएका हुन् ।
एन्फाले १६ सेप्टेम्बर, २०२४ मा १५ दिने सूचना जारी गर्दै राष्ट्रिय टिमको लागि मुख्य प्रशिक्षकको आवेदन खुला गरेको थियो । विश्वभरबाट चार सयको आवेदन परेकोमा एन्फाले सुरुमा २० जनाको छनोट गरेको थियो । त्यसपछि २० बाट ५ जना छानिएको थियो । तिनै पाँचबाट रसलाई नियुक्त गरिएको हो ।
अस्ट्रेलियन नागरिक रस ‘युइएफए प्रो लाइसेन्स’ मान्यताप्राप्त प्रशिक्षक हुन् । रस आफ्नो जीवनसाथीका साथ नेपाल आइसकेका छन् ।
पूर्व प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल जेठ अन्तिममा सकिएको थियो ।