पवित्रहाङमा गोल्ड कप : आज दिपेन्द्र शिखर इलाम र मिक्लाजुङ पान्थर भिड्दै - Mangsebung News
  • बिहिबार, चैत १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा गोल्ड कप : आज दिपेन्द्र शिखर इलाम र मिक्लाजुङ पान्थर भिड्दै

माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा आज दिपेन्द्र सिखर स्पोर्टस क्लब इलाम र मिक्लाजुङ फुटबल क्लब पान्थरविच प्रतिस्पर्धा हुँदैछ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज शनिबार दिपेन्द्र शिखर इलाम र मिक्लाजुङ आमुने सामुने हुने भएको हो । खेल दिउँसो २ वजे सुरु हुनेछ ।

यसअघि हिजो भएको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका, इलाममाथि ७–० को सानदार जित निकाल्दै कन्काई नगरपालिका, झापा सेमिफाइनलमा प्रवेश गरेको हो ।

कनकाई झापाको जितमा समिक्षा मगरले ह्याट्रिक गरिन् । उनी एक्लैले ५ गोल गर्दा सिम्रन राई र पुर्णिमा राईले समान एक गोल गरेका हुन् ।

खेलको प्लेयर अफ द म्याच कनकाई झापाका समिक्षा मगर घोषित भईन् । उनले नगद ५ हजार उनन्सत्तरी रुपैयाँ हात पारिन् ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा सञ्चाल भइरहेको १५औं संस्करणको पवित्रहाङमा गोल्ड कप प्रतियोगितामा नेपाल र भारतका ८ चर्चित फुटबल टिमहरु सहभागी हुने आयोजक समितिका सचिव सरिता राईले बताइन् ।

सचिव राईका अनुसार प्रतियोगितामा नेपालको माङसेबुङ गाउँपालिका इलाम, रोयल स्पोर्टिङ क्लब दमक झापा, मिक्लाजुङ फुटबल क्लब पान्थर, ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङ, पथरी शनिश्चरे खेलकुद समिति मोरङ, कन्काई नगरपालिका, झापा, दिपेन्द्र सिखर स्पोर्टस क्लब इलाम र पाहुना टोलीका रुपमा भारतको दिव्यशक्ति धोत्रे, दर्जिलिङको सहभागीता रहेको छ ।

प्रतियोगिताका विजेताले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् ।

यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ कराँते÷तेक्वान्दो म्याराथन, म्युजिकल चेयर, हाँडी फुटाउने, गाग्री दौड, फुलमाला दौड, तान बुन्ने, चम्चा दौड, सियोधागो उन्नेलगायतका लगायतका खेलहरु समेत संचालन हुनेछ ।

आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा प्रतियोगिता संचालन हुनेछ ।

प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

सम्बन्धित खवर