फागुन १७ लाई कालो दिनको संज्ञा दिँदै प्रदेश १ का १४ वटै जिल्लामा विरोध सभा - Mangsebung News
  • बुधबार, असार ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फागुन १७ लाई कालो दिनको संज्ञा दिँदै प्रदेश १ का १४ वटै जिल्लामा विरोध सभा

दमक । फागुन १७ गतेलाई ‘कालो दिन’ को संज्ञा दिँदै प्रदेश नं १ पुनः नामाङकन संयुक्त सघर्ष समितिले शनिबार प्रदेश नं. १ को १४ वटै जिल्लाको विभिन्न स्थानहरूमा बिरोध प्रदर्शन र खबरदारी सभा गरेको छ ।

दुई वर्ष अघि आजकै दिन प्रदेश १ को नाम कोशी राखिएपछि निरन्तर संघर्ष गरिरहेको पहिचान पक्षधर शक्तिले फागुन १७ गतेलाई ‘कालो दिन’ को संज्ञा दिँदै आएको छ ।

आज झापाको विर्तामोड, मोरङको पथरी, सुनसरीको इटहरी, धनकुटा, तेह्रथुमको म्याङलुङ, संखुवासभा, खोटाङ, भोजपुर, सोलुखुम्बु, उदयपुर, पान्थरको फेदेन, ताप्लेजुङको फुङलिङ, इलाम लगायत विभिन्न स्थानहरूमा विरोध सभा सहित कालो दिन मनाइएको प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिका संयोजक तथा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले बताए ।

पहिचानवादी नेता येक्तेनले भन्नुभयो, ‘२०७९ साल फागुन १७ गते हाम्रो पहिचान खोसिएको दिन हो, पहिचान स्थापित नभएसम्म आन्दोलन रोकिन्न ।’ आजकै दिन अर्थात् आजकै दिन ०७९ फागुन १७ गते १ नम्बर प्रदेशसभाले कोशी प्रदेश नामकरण गरेको थियो ।

नारा जुलुससँगै हजारौंको संख्यामा भेला भएका पहिचान पक्षधरले कोशी नाम खारेज गर, पहिचान मेट्न पाइदैन, केशी नाम चाहिँदैन, संघर्ष जारी, हाम्रो माग सम्बोधन गर जस्ता नारा लगाएका थिए । प्रदेश नं १ पुनः नामांकन सघर्ष समिति र विभिन्न जातीय संगठन, पहिचान पक्षधर पार्टीहरूले झण्डा र व्यानर सहित निकालिएको विरोध ¥याली निक्कै व्यवस्थित र शान्तिपूर्ण देखिएको थियोे । सहभागीले विभिन्न जातिका मातृभाषामा पनि आफ्नो अहिकारका पक्षमा नारा लगाइएका थिए ।

यसैक्रममा प्रदेश नं १ पुनः नामांकन सघर्ष समिति झापाले विर्तामोडमा वृहत र्याली सहित कार्यक्रम गरेको छ । संयोजक पाण्डवलाल चौधरीले वाद, बिचारभन्दा पनि माथि उठेर पहिचानको संघर्ष सुरु गरेकोले पहिचानसहितको अधिकार स्थापित नभएसम्म संघर्ष नरोकिने बताउनुभयो । ‘यो हाम्रो रहर होइन, बाध्यता हो, पहिचानको लडाइँ हो’ चौधरीले भन्नुभयो, ‘पहिचानसहित अधिकार स्थापना नभएसम्म संघर्ष रोकिन्न ।’ उहाँ ०७९ फागुन १७ गते पहिचान माथि षड्यन्त्रपूर्ण ढंगले धाबा बोलिएको दाबीसमेत गर्नुभयो ।

विरोधसभामा पहिचानवादी नेता तथा संविधानसभा सदस्य राजकुमार नाल्बो, जनमुक्ति पार्टीका उपाध्यक्ष भक्त खेवाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रान्तीय उपाध्यक्ष विष्णुमाया भट्टराई , जनता समाजवादी पार्टीका झापा अध्यक्ष समर राई, राजवंशी महिला समाज विकास समिति अध्यक्ष सनम राजवंशी, मुकुम्लुङ संरक्षण तथा केवलकार संघर्ष समितिका झापा अध्यक्ष हिमालय प्रकाश कन्दङ्वा, किरात राई याक्थुङ चुम्लुङ राष्ट्रिय परिषद सदस्य तथा पहिचान संघर्षका घाइते नरेशहाङ लिम्बु, चुलाचुली गाउँपालिका १ का वडाध्यक्ष ध्रुव लावतीले प्रदेशसभाको उक्त निर्णयलाई धोखापूर्ण र पहिचान माथिको नाङ्गो हस्तक्षेप भनेका थिए।

कोशी प्रदेश नाम तत्काल खारेज गर्नु पर्ने उनीहरूले माग गरे । प्रदेश १ को पुनः नामकरणको आधार सभ्यता, पहिचान र ऐतिहासिक पृष्ठभूमि हुनु पर्नेमा उनीहरूको जोड छ । अधिकांश वक्ताले पहिचान स्थापना नभएसम्म फागुन १ कालो दिनका रूपमा इतिहासमा दर्ज हुने जिकिरसमेत गरे । स्थानीय सिटीसेन्टरबाट सुरु भएको ¥याली बिर्तामोड बजारको परिक्रमा पछि विरोधसभामा परिणत भएको थियोे ।

प्रवास इजरायल, युएइ, कतार लगायत अन्य प्रवासहरूमा समेत कालो दिन मनाइएको स्रोतले जनाएको छ ।

सम्बन्धित खवर