माङसेबुङ । स्पेनिस ला लिगामा बार्सिलोनाले पुनरागमन जित निकालेको छ । यो जितसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा एट्लेटिको मड्रिडले गरेको दुई गोलको अग्रतालाई उल्टाउँदै बार्सिलोनाले ४–२ को पुनरागमन जित निकालेको हो ।
एट्लेटिकोका लागि जुलियन अल्भारेजले पहिलो हाफको अन्त्यतिर काउन्टर एट्याकमा गोल गर्दै अग्रता दिलाए । त्यसपछि खेलको ७०औं मिनेटमा एलेक्जान्डर सोरलोथले पेनाल्टी बक्स भित्रबाट गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर बनाए ।
तर, खेलको ७२औं मिनेटमा रबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पुनः खेलमा फर्काए । त्यसपछि खेलको ७८औं मिनेटमा फेरान टोरेसले हेडरमार्फत गोल गर्दै खेल बराबरी गरे ।
यसरीनै लामिन यमलले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै खेलमा ३–२ को अग्रता दिलाए । त्यसपछि टोरेसले छैटौं मिनेटमा अर्को गोल गर्दै बार्सिलोनालाई महत्त्वपूर्ण जित दिलाए ।