२२औं नेम्बाङ बार्षिक सेवा पान्थरको नाम्भुनयकमा सम्पन्न, २३औं वार्षिक सेवा घोषणा - Mangsebung News
  • सोमबार, भदौ ३०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

२२औं नेम्बाङ बार्षिक सेवा पान्थरको नाम्भुनयकमा सम्पन्न, २३औं वार्षिक सेवा घोषणा

पान्थर । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको तपोभूमि एवम् समाधिस्थ स्थल पान्थरको ऐतिहासिक देवभुमि नाम्भुनयक सिलौटीमा २२औं नेम्बाङ बार्षिक सेवा सम्पन्न भएको छ ।

किरात याक्थुङ पेभाकुम नेम्बाङ सङ्जुम्भो इलाम तथा २२औं बार्षिक सेवा समारोह २०८१ नाम्भुनयक पान्थरको आयोजनामा गत चैत १२, १३ र १४ गते तीन दिनसम्म २२औं नेम्बाङ बार्षिक सेवा हुने भएको हो ।

नेम्वाङ वंशको एकता, शान्ति, समृद्धि एवम् क्षमाप्राप्ति र मानव शान्तिका लागि सेवाको आयोजना गरिएको आयोजक किरात याक्थुङ पेभाकुम नेम्बाङ सङ्जुम्भोको अध्यक्ष नन्द कुमार नेम्बाङले बताए ।

वर्षेनी वार्षिक सेवा गर्नाले नेम्बाङ बंशमा एकताको सन्देश दिन सफल हुँदै आएको अध्यक्ष नेम्बाङले बताए । अध्यक्ष नेम्बाङका अनुसार नेम्बाङ वंशमा देखिएका विकृति विसंगति(साइनो मिच्ने/नमान्ने)को अन्त्य गर्दै नेम्बाङ एकताको सन्देश प्रवाह गर्नको लागि पनि वार्षिक सेवाको आयोजना गरिएको बताए ।

बार्षिक सेवाको पहिलो दिन चैत १२ गते फिदिम ७ स्थित ऐतिहासिक देवभुमि तिदाङवा–आप्ताङवामा साकमुरा माङहुप वदेम्मा(गालीस्राप बहन्ती) सेवा सम्पन्न भएको थियो ।

यसैगरि चैत १३ महागुरु फाल्गुनन्द तपोभुमि एवम् समाधिस्थल नाम्भुनयक शिलौटीमा सावायेत लाधुङसेमी सेवा साथै १ लाख ८ हजार १ सय आठ दीप प्रज्वलन सम्पन्न भएको थियो ।

यस्तै चैत १४ गते विहान कुयाम सेमा सेवासँगै १ लाख ८ हजार १ सय आठ दीप प्रज्वलन गरि सेवा सम्पन्न गरिएको थियो ।

सेवामा तुम्याहाङको रुपमा किरात चोत्लुङ अङसी माङगेन्ना सेवाका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङ, किरात चोत्लुङ अङसी माङगेन्ना सेवाका केन्द्रीय सदस्य धनराज सङबाङफे, किरात धर्म तथा साहित्य उत्थान संघ पान्थरका अध्यक्ष ध्रुव तुम्बापो, साङदाङगेन वरुमसावा इच्छाबहादुर चेम्जोङ र साङदाङगेन वरुमसावा कोल प्रसाद फियाक रहेका थिए ।

सङजुम्भोको बैठक सम्पन्न

किरात याक्थुङ पेभाकुम नेम्बाङ सङ्जुम्भोको बैठक गत चैत १३ गते पान्थरको नाम्भुनयक/शिलौटी स्थित गुरु निजी आश्रम कृषि समिति नाम्भुनयक/शिलौटीको विश्राम कक्षमा सम्पन्न भएको थियो ।

सङ्जुम्भोका अध्यक्ष नन्द कुमार नेम्बाङको अध्यक्षतामा सम्पन्न बैठकले महत्वपुर्ण तीन वटा निर्णयहरु पारित गरेको थियो ।

निर्णयहरुः

१, आगमी २३औं बार्षिक सेवाको २०८२ चैत १२ गते फिदिम ७ स्थित ऐतिहासिक देवभुमि तिदाङवा–आप्ताङवामा साकमुरा माङहुप वदेम्मा(गालीस्राप बहन्ती) सेवा र चैत १३ र १४ गते महागुरु फाल्गुनन्द तपोभुमि एवम् समाधिस्थल नाम्भुनयक शिलौटीमा सावायेत लाधुङसेमी सेवा साथै १ लाख ८ हजार १ सय आठ दीप प्रज्वलन गरि सम्पन्न गर्ने ।

२, सङ्जुम्भोको संगठनिक तथा आर्थिक प्रतिवेदन अनुमोदन गर्ने ।

३, २३औं बार्षिक सेवाको समिक्षा गर्ने ।

वार्षिक प्रतिवेदन अनुमोदन

किरात याक्थुङ पेभाकुम नेम्बाङ सङ्जुम्भोको २०८०/०८१ को बार्षिक प्रतिवेदन २०८१ प्रस्तुत सँगै अनुमोदन गरिएको छ ।

पान्थरको ऐतिहासिक देवभुमि नाम्भुनयक सिलौटीमा २२औं नेम्बाङ बार्षिक सेवा अवसरमा सङ्जुम्भोको संगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत सँगै अनुमोदन समेत गरिएको हो ।

सङ्जुम्भोको २०८०/०८१ को बार्षिक आर्थिक प्रतिवेदन अनुसार कुल आय ६ लाख ३३ हजार ८ सय ५९ रुपैयाँ रहेको छ भने, कुल व्यय ७ लाख ४७ हजार ६ सय ६५ रुपैयाँ रहेको छ ।

जस्मा १ लाख १३ हजार ८ सय छ रुपैयाँ कुल घाटा रहेको छ भने, उठ्नु पर्ने बाँकी रकम ४५ हाजार १ सय १५ रुपैयाँ रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

नेम्बाङ बंशको बंशबृक्ष अनुसार चुक्मिा र लतिबा नेम्बाङ बंशका सर्वस्वीकार्य पुर्खा हुन् । यसैगरि पेभाकुम नेम्बाङ हौ भनेर पुर्खा चुक्मिा र लतिबाले घोषाणा गरेका हुन् त्यसैले नेम्बाङ एकता अन्तिम बिकल्प रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार नेम्बाङ बंशको हित र कल्याणकारि काम गर्ने उदेश्यले २०६० साल बाट सामुहिक गतिबिधि सञ्चालन गर्न थालेको यस संस्थाले २०६१ साल बैशाक १२, १३ र १४ गते पहिलो पटक नेम्बाङ वार्षिक सेवा सम्पन्न गरेको थियो ।

शुरुवातमा नेम्बाङ बन्धु कार्यकारिणी समितिको नामबाट बिभिन्न गतिबिधि सञ्चालन गर्दै आएकोमा २०७९ असोज १७ गते जिल्ला प्रशासन कार्यलय इलाममा किरात याक्थुङ पेभाकुम नेम्बाङ सङ्जुम्भो संस्था दर्ता गरिएको थियो । प्रतिवेदनमा उल्लेख छ ।

यहि संस्थाले थप बृहत रुपमा गतिबिधि सञ्चालन गर्ने क्रममा २२औं नेम्बाङ वार्षिक सम्पन्न गरेको हो ।

सम्बन्धित खवर