काठमाडौं । नेपालले चारदेशिय टी–२० सिरिजमा विजयी सुरुवात गरेको छ ।
मिसन रोड मैदानमा बुधबार सम्पन्न पहिलो खेलमा कतारलाई आठ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।
कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै १५४ रन बनायो ।
नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाउदा अर्का ओपनर आसिफ शेखले ३३ रन बनाए । त्यसपछि कप्तान रोहितकुमार पौडेलले ३७ रन र बसीर अहमदले ३० रन बनाउदै दुवै अविजित रहे ।
कतारका मुजीब–उल–रहमानले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ थालेको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रनको योगफल तयार गरेको थियो ।
कतारका कप्तान इक्रामुल्लाह खानले सर्वाधिक ५४ रन बनाउदा शाहजैब जमिलले ३१ रन, अरुमुगगणेश नागराजनले १३ रन, मुजीब–उल–रहमानले २० रन र मोहम्मद इर्शाद १८ रनमा अविजित रहे ।
नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सनकुमार झा र ललितनारयण राजवंशीले समान एक विकेट लिए ।
यो नतिजासँगै नेपालले दुई अंक बटुलेको छ । नेपालले बिहीबार दोस्रो खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्ने छ ।